एक करोडको कारोबार

सुर्खेत, १ फागुन ।
प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४ मा एक करोड बराबरको कारोबार भएको छ । ६ नम्बर प्रदेश उद्योग वाणिज्य महासंघको आयोजनामा माघ २६ गतेदेखि वीरेन्द्रनगरमा जारी महोत्सवमा मंगलवारसम्म जम्मा एक करोडको कारोबार भएको हो ।
महोत्सव आयोजक समितिका प्रचार संयोजक पूर्णदेव अधिकारीका अनुसार मंगलवार मात्रै नौं लाख ५० हजार रूपैयाँ बराबरको कारोबार भएको छ । शिवरात्रीको अवसरमा सार्वजनिक बिदा परेकोले अन्य दिनको तुलनामा मंगलवार धेरै कारोबार भएको हो । संयोजक अधिकारीले मंगरवार करिब २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको बताए ।
महोत्सवमा जानकी तारमी, नारायण राइमाझी, शिव हमाल, रश्मी तामाङ्ग लगायत स्थानीय कलाकारहरूले प्रस्तुतिमार्फत् मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवको छैठौं दिन आज (बुधवार) रेश्मा पुन, शशी रावल, रामचन्द्र, जुनु, यस कुमार लगायतका कलाकार आउनेछन् । संघीय संरचना कार्यान्वयनमा आएसँगै पहिलो पटक भएको महोत्सवमा ६ नम्बर प्रदेशमा उत्पादन हुने वस्तु तथा सामग्रीको बजारीकरणका लागि मद्दत पुग्ने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः   २ फाल्गुन २०७४, बुधबार १६:१७