निष्पक्ष सूचना सम्प्रेषण गर्न सुझाव

सुर्खेत, १ फागुन ।
नेकपा माओवादी केन्द्र प्रदेश नम्बर ६ संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सक्रिय राजनीतिमा लागेका व्यक्तिहरूले सञ्चालन गरेका सञ्चारमाध्यमले उनीहरूकै स्वार्थ अनुसार काम गरिरहेको आरोप लगाएका छन् । त्रिरत्ना मिडिया प्रा.लि.को प्रदेश कार्यालयको शुभारम्भ गर्दै प्रदेशसभा सदस्य तथा पूर्व ऊर्जामन्त्री समेत रहेका शाहीले सञ्चारमाध्यमले निष्पक्ष भएर सूचना सम्प्रेष्ण गर्नुपर्नेमा जोड दिए ।
सभ्य समाज विना समृद्ध मुलुक निर्माण हुन नसक्ने दाबी गर्दै सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने सामग्रीहरू प्रकाशन र प्रशारण गर्न उनले आग्रह गरे । समृद्धिको अभियान मिडियाले सञ्चालन गर्नुपर्ने भन्दै उनले सञ्चारमाध्यम आवाजविहीनहरूको आवाज बन्नुपर्नेमा जोड दिए । सञ्चारको विकास विना समृद्धिको सपना साकार नहुने उनको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथि रहेको शाहीले निष्पक्षता आजको आवश्यकता भएको औंल्याए ।

मिडिया प्रा.लि.का संरक्षक जीवनकुमार शाक्यको अध्यक्षतामा सम्पन्न भएको शुभारम्भ कार्यक्रममा प्रा.लि.का अध्यक्ष अशोककुमार सिंहले पत्रकारिता क्षेत्रको अनुभवलाई आत्मसात् गर्दै सञ्चारका विभिन्न क्षेत्रमा क्रियाशील भएर काम गर्ने योजना सार्वजनिक गरे । द् त्रिरत्न अनलाइन पत्रिकाका प्रधान सम्पादक प्रवाशकुमार शाक्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन अनलाइनका सम्पादक कृष्णराज धमालाले गरेका थिए ।

प्रकाशित मितिः   २ फाल्गुन २०७४, बुधबार १६:१६