गाविस अध्यक्षदेखि सभामुखसम्म

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ माघ ।
‘धैरे ठूलो सपना त बोकेको थिइनँ, सांसदको सामान्य भूमिकामा नै काम गर्छु भन्ने सोचेको थिएँ’ सोमवार वीरेन्द्रनगरमा सम्पन्न प्रदेश सभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि उनले भने, ‘सभामुख वा मन्त्री बन्छु भनेर चुनाव लडेको पनि थिइनँ, सांसद बन्ने कल्पना मात्र गरेको थिएँ । तर प्रदेश सभाको नै नेतृत्व गर्ने ठूलो अवसर मिल्यो, अब यो जिम्मेवारी म कुशलता पूर्वक पूरा गर्नेछु ।’


प्रदेश नम्बर ६ मा प्रदेश सभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएपछि राजबहादुर शाहीले आफ्नो विगतलाई सम्झिए । आफू जन्मेको दैलेखको गाउँ सम्झे, हुर्काउने बाबुमाआलाई पनि बिर्सन सकेनन् । उनले बाल्यकालमा आफ्ना बुबाले भनेको शब्द याद गर्दै सुनाए, ‘म सानो हुँदा बुबाले सधैं गाउँको ठालु भएस् भन्नुहुन्थ्यो, गाउँलेको सेवा गर्ने अशल नेता हुनु भन्नुहुन्थ्यो । बुबाको यही शब्दले मलाई राजनीतिमा तान्यो, आज मैले कल्पना नै नगरेको सभामुखको जिम्मेवारी सम्हाल्ने सुनौलो अवसर पाएँ ।’
एमालेको तर्फबाट दैलेख क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका शाही यसअघि गाविस अध्यक्ष थिए । उनी २०५४ सालको स्थानीय निर्वाचनमा दैलेखको तोलीजैसी गाविसको अध्यक्षमा विजयी भएका थिए । त्यसयता उनले कुनै पनि लाभको पद लिने अवसर पाएका थिएनन् । उनले भने, ‘आजसम्म दुई वटा मात्र चुनाव लडेको छु, पहिला गाविस अध्यक्ष भएँ । अहिले प्रदेशको सांसद जितें, आजसम्म लाभको पद भनेको यति मात्रै हो ।’ नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका उनी २०५२ सालमा एमालेमा प्रवेश गरेका थिए । एमालेको भेरी अञ्चल सदस्यसम्मको जिम्मेवारी सम्हालेका उनले हालसम्म गाविस अध्यक्ष बाहेक लाभको पद भने सम्हालेका थिएनन् । पछिल्लो पटक प्रदेश सांसद बनेका उनी प्रदेश ६ को पहिलो सभामुख बन्न सफल भएका छन् ।
२०२६ साल मंसिरमा दैलेखको तोलीजैसीमा उनको जन्म भएको थियो । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट प्रविणता प्रमाणपत्र तहसम्म अध्यन गरेका उनी विद्यार्थीबाटै राजनीतिमा होमिएका थिए । प्रदेश सभामा आइतवार सभामुखका लागि उम्मेदवारी दर्ताको समय तोकिएको थियो । तोकिएको समयमा एकल उम्मेदवारी दर्ता भएपछि नै उनलाई शुभेच्छुकहरूले बधाई दिन सुरु गरिसकेका थिए । सोमवारको संसद बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भएपछि उनले भने, ‘जसरी म निर्विरोध निर्वाचित भएको छु, त्यसरी नै म सबैको साझा बनेर जिम्मेवारी पूरा गर्नेछु । हाम्रो प्रदेश रोग र भोकले थलिएको छ, यसको समृद्धिका लागि म प्रदेश सभालाई गतिशील र प्रभावकारी बनाउन केन्द्रित हुनेछु ।’ प्रदेशको समृद्धिका लागि सबैलाई मिलाएर लैजाने उनको भनाइ छ ।
एमाले र माओवादीको तर्फबाट उम्मेदवार बनेका शाहीलाई प्रदेश सभाको बैठकमा एमाले सांसद प्रकाश ज्वालाले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । ज्वालाको प्रस्तावलाई माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले समर्थन गरेका थिए । एउटा मात्र उम्मेदवारी परेको भन्दै बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य हिमबहादुर शाहीले एमाले सांसद शाहीलाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । नवनिर्वाचित सभामुख शाहीले सोमवार नै पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले सपथ दिलाएका हुन् । सपथ लगत्तै सभामुख शाहीले सोमवार नै आफ्नो पदभार पनि सम्हालेका छन् ।
उपसभामुख चयन ५ गते
यसैबीच प्रदेश सभामा उपसभामुखको चयन यही फागुन ५ गते हुने भएको छ । सोमवार सम्पन्न प्रदेश सभाको बैठकले उपसभामुख चयनको मिति तय गरेको हो । बैठकले ५ गते उपसभामुख चयन गर्ने मिति तोकेको हो ।
प्रदेश सभाको बैठकले मिति तोकेपछि प्रदेशसभा सचिवालयले उपसभामुख चयनका लागि कार्यतालिका सार्वजनिक गर्नेछ । यो प्रदेशमा उपसभामुख माओवादी केन्द्रका सांसदहरू मध्येबाट चयन हुनेछन् । एमालेसँगको भागवण्डामा माओवादीले उपसभामुख पाएको छ । एमालेसँग भएको भागवण्डाको सहमति अनुसार माओवादी केन्द्रले उपसभामुख पाउने छ ।
सभामुख पुरुष भएपछि माओवादी केन्द्रले महिला उपसभामुख पठाउनु पर्नेछ । माओवादी सांसदहरू बिमला केसी, कृष्णा शाह र सीता नेपाली उपसभामुखका लागि इच्छुक देखिएका छन् । संसदमा बहुमत नभएका कारण कांग्रेसबाट चयन हुने सम्भावना छैन । एमाले र नेकपा माओवादी केन्दले यो प्रदेशको मुख्यमन्त्री पद माओवादी केन्द्र, सभामुख पद एमाले र उपसभामुख पद माओवादी केन्द्रले पाउनेगरी भागवण्डा गरेका छन् । प्रदेश ६ मा संसदमा प्रतिनिधित्व गर्ने दलहरूमा एमालेका २०, माओवादीका १३, नेपाली कांग्रेसका ६ र राप्रपाका एक गरी ४० जना सांसद छन् । संसदमा आफ्नो बहुमत नभएपछि कांग्रेसले भने सभामुखमा पनि उम्मेदवारी दिएको थिएन ।

प्रकाशित मितिः   १ फाल्गुन २०७४, मंगलवार १५:५८