हटियाचौकमा बहुआयामिक शौचालय

सुर्खेत, २९ माघ ।
वीरेन्द्रनगरस्थित हटियाचौकमा बहुआयामिक सार्वजनिक शौचालय प्रयोगमा आएको छ । २३ लाख २३ हजार तीन सय रूपैयाँ लागतमा निर्माण गरिएको शौचालय सोमवारदेखि प्रयोग थालिएको हो । खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको दुई वर्षपछि उक्त सार्वजनिक शौचालय प्रयोगमा आएको हो । सार्वजनिक शौचालय प्रयोगमा आएसँगै कुइनेपानी जंगल क्षेत्रमा हुने खुल्ला शौच गर्नुपर्ने बाध्यता हटेको छ । विगतमा सार्वजनिक शौचालयको अभावका कारण सार्वसाधारणहरू कुइनेपानी जंगल क्षेत्रमा खुल्ला दिसा गर्न बाध्य थिए ।
शौचालय अपाङ्ग, बालबालिका तथा महिलामैत्री रहेको द ग्रीनसीटी सेनिटेशन सेवा नेपालका सञ्चालक शशी केसीले बताए । शौचालयमा महिलाहरूका लागि प्याडसमेत राखिएको छ । उनका अनुसार महिला, बालबालिका, पुरुषका लागि अलग–अलग शौच गर्ने व्यवस्था गरिएको छ । शौचालयमा एकै पटक चार जना महिला, दुई जना बालबालिका र १० जना पुरुषले शौच गर्नसक्ने छन् । योसहित वीरेन्द्रनगर बजार क्षेत्रमा चार वटा सार्वजनिक शौचालय प्रयोगमा आएका छन् ।
शौचालय प्रयोगमा आएसँगै आम नागरिकले नगरकार्यपालिकाले तोकेको शुल्क तिरेर शौच गर्नसक्ने केसीले बताए । शौचालय प्रयोगबाट उठेको शुल्कले शौचालयमा पानी, बत्ती तथा आवश्यक व्यवस्थापनमा खर्च गरिनेछ । उनले सोमवार र मंगलवार (दुई दिन) निःशुल्क शौचालय प्रयोगको व्यवस्था गरिएको बताए ।
शौचालयको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बहुआयामिक सार्वजनिक शौचालय प्रयोगमा आउनुले नगरको सरसफाइ अभियानमासमेत सहयोग पुगेको बताए । नगरपालिकालाई सफा र स्वच्छ नगर बनाउने निर्णय अनुसार प्रयोगमा आएको शौचालय दिगो रूपमा व्यवस्था र सञ्चालन गर्नुपर्ने बताए ।
उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले सरकारी जग्गामा निर्माण हुने र्साजनिक सम्पत्तिलाई दिगो व्यवस्थापनका लागि नगरपालिकाले ध्यान दिनुपर्ने बताए ।
मध्यपश्चिम क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय, उपत्यका नगर विकास समिति, वीरेन्द्रनगर नगरपालिका, सहरी भवन तथा डिभिजन कार्यालय, नरसिंहदल गण र नेपाल दलित तथा जनजाति विकास केन्द्रको सहकार्यमा शौचालय निर्माण गरिएको हो । शौचालयको निर्माण द ग्रीनसीटी सेनिटेशन सेवा नेपालले गरेको हो ।

प्रकाशित मितिः   १ फाल्गुन २०७४, मंगलवार १५:५६