जुम्लामा सुविधायुक्त अस्पताल

जुम्ला, २८ माघ ।
पश्चिम नेपालकै सुविधा सम्पन्न र ठूलो अस्पताल सञ्चालनमा आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तीन सय शैयाको अस्पताल आइतवारदेखि सञ्चालनमा आएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार औपचारिक रूपमा उद्घाटन गरेसँगै अस्पतालको विशेषज्ञ सेवा सबै नागरिकको पहुँचमा पुग्ने विश्वास गरिएको छ ।
विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि उपचार नपाएर मृत्युवरण गर्नुपर्ने बाध्यताबाट कर्णालीबासीले मुक्ती पाउने अपेक्षा गरिएको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुन नपाउदाँ बाटोमै मर्नुपर्ने अवस्थाबाट छुट्कारा पाइने कर्णालीबासीको आशा छ । सिटामोल र एक पुरिया जीवनजल नपाएर ज्यान गुमाउनुपर्ने विगतको स्थितिबाट मुक्त हुने नागरिकले विश्वास लिएका छन् ।
‘मेरी पत्नी सुत्केरी हुँदा उपचार नपाएर मर्नुप¥यो,’ तातोपानी गाउँपालिका–२ का निलो कामीले भने, ‘अब ठूलो अस्पताल बनेको छ, हामीले सिटामोल भनेकै समयमा पाउँछौं भन्ने आशा छ । कोहीलाई जहाज कुरेरै फर्काउनुपर्ने अवस्था नआओस् ।’ कर्णालीमा स्वास्थ्य उपचारको केन्द्र विन्दुको रूपमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तीन सय शैयाको गुणस्तरीय भवन निर्माणमा ७६ करोड लागत लागेको छ । कर्णालीमा निर्माणाधिन करोडौंका आयोजनाहरूलाई चुनौती दिँदै रसुवा कन्स्ट्रक्सन कम्पनीले तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न गरी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भवन हस्तान्तरण गरेको रजिष्टार विश्वराज काफ्लेले बताए ।
यसैबीच तीन वर्ष समायावधि लगाएर निर्माण सम्पन्न भएको अस्पताल आइतवार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् । उद्घाटनसँगै
प्रधानमन्त्रीले हाल सञ्चालनमा रहेका एक सय शैयाको अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण पनि
गरे । निर्माण सम्झौता भएको तीन महिना अगावै सकिएपछि फागुन १५ मा गर्ने भनिएको उद्घाटन अघि सरेको हो । अस्पताल उद्घाटनका लागि जुम्ला पुगेका प्रधानमन्त्रीले देउवाले कर्णालीमा तीन सय शैयाको अस्पताल बन्नु पश्चिम नेपालका जनतामा स्तरीय स्वास्थ्य सेवामा पहुँचमा पुग्ने विश्वास व्यक्त गरे ।
‘कर्णालीमा मात्रै होइन, राष्ट्रिय स्तरकै एकमात्र संस्था भएको छ,’ उनले भने, ‘अब उपचार नपाएर कर्णालीका कोहीले पनि मृत्युवरण गर्नुपर्ने छैन, सबैले आँगनमै चाहे अनुसारको स्वास्थ्य सेवा पाउनेछन् ।’ प्रतिष्ठानमा आवश्यक सहयोगका लागि जुनसुकै सरकार आएपनि तयार हुनुपर्नेमा जोड दिए । साथै उनले प्रतिष्ठान स्थापना र विशेषज्ञसहितको गुणस्तरिय सेवाले कर्णालीको दुर्गमतालाई दुर गर्ने विश्वास व्यक्त गरे ।
उनले विगतको जस्तै कर्णालीबासीले दुर्गमको भएको महसुस नगर्न आग्रह गर्दै भएका स्रोत साधनलाई समुचित रूपमा प्रयोग गर्दै आर्थिक केन्द्र समेत बनाउन अनुरोध गरे । उनले कर्णालीमा समस्या मात्रै नभई राज्यलाई पाल्नसक्ने सम्भावनाको क्षेत्र भएकाले सम्भावनालाई सफलतामा बदल्न राज्यको विशेष लगानी आवश्यक रहेको जोड दिए ।

प्रकाशित मितिः   २९ माघ २०७४, सोमबार १५:१५