आधार भोट–हुम्ला व्यापार सम्बन्ध

आधुनिक मानव सभ्यताको विकास कि नदी किनारबाट भएको छ, कि त हिमालको काखबाट । अझ विश्व व्यापारको लिखित इतिहास हेर्ने हो भने पनि सामुद्रिक व्यापार र हिमाली व्यापार आजको अन्तर्देशीय पारवहनका प्रारम्भिक उन्नत रूप हुन । भोट बर्मेली भाषा, बुद्ध धर्म, दुरुस्त भौगोलिक अवस्थिति तथा वस्तुस्थिति, समान संस्कृति, रहनसहन र लवाइखवाइले प्रदेश ६ को हुम्ला र तिब्बतलाई टप्पक्क एकै ठाउँमा राखेको थियो । हाम्रो इतिहास हेर्ने हो भने सयौं वर्ष पहिलेदेखि माथिल्लो धिंगामा व्यापारिक मेला तथा प्रदर्शनी हुने गर्थे । र सो मेलाहरूमा तिब्बतीहरूले अनाज तथा अन्य कलाकौशलका वस्तुहरू लिने गर्थे । भोटको इतिहास साक्षी छ, हाम्रा बराजुहरूले कृषिजन्य अधिकांश पेसाको विकास गरिसक्दा पनि भोटसँग सुन र नुनबाहेक अरू केही थिएन ।
तर, समय बदलियो र माथिल्लो धिंगामा हुने व्यापारिक मेलाहरू उँभो सर्दै छोंछ, टाक्चे, च्याक्पालुङ, घेउखोला हुँदै अहिले तिब्बतको पुराङमा हुने गरेका छन् । र आज तिब्बतमा पैसा, उत्पादन र बजार जे छ, त्यसकै प्राप्तिका लागि नेपालले ठूलो कसरत गर्नुु परेको छ । भोटबाट धेरै पहिलेदेखि नुन हुम्ला हुँदै हालको प्रदेश ६ र ७ का जिल्लाहरूमा कारोबार हुने गरेको भए पनि यो ठाउँमा अरू चिनिया उत्पादन विश्व जनरल स्टोरको नाममा मैले भित्र्याएको थिएँ । र अझै पनि यो पसल हुम्ला भरिमा चाइनिज पसलको नामले चर्चित छ । आज कर्णाली करिडोर अन्तर्गत हिल्सालाई सेतुले जोड्ने कुरा छ भने ठाउँ–ठाउँमा सडक निर्माणका कार्यहरू धमाधम हुँदै भएका छन् ।
म ५० साल तिरका ती दिनहरू सम्झन्छु । जुन दिनहरूमा मैले सिमकोट–मानसरोवरको बाटोमा इतिहासमै पहिलोपटक खच्चडको सवारीबाट विदेशी पर्यटकहरूलाई मानसरोवर घुमाएको थिएँ । घुमाएका पर्यटकहरूलाई आ–आफ्ना आफन्तहरूलाई पनि मानसरोवर जान स्थानीय सवारी पाइन्छ भन्नु है भन्ने सन्देश दिएको थिएँ मैले । अचेल मानसरोवर पुग्न हेलिकोप्टरमा जम्मा २५ सय रूपैयाँ तिरे पुग्छ । पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढेका भारतीय तीर्थयात्रीहरू हेलिकोप्टर नै रोज्छन् पनि । तथापि हिजो खच्चडबाट जाने गोरा वर्ण र अग्ला कद भएका डलरधारी पर्यटकको संख्यामा भने उल्लेख्य गिरावट आएको छ । चीनले तिब्बतलाई स्वशासित क्षेत्र बनाइसके पश्चात भने भोटमा भौतिक विकास बहार बनेर आयो । साँझ खाना खाईवरी नेपाली भूमिमा सुतेकाहरू बिहान उठ्दा तिब्बतको पाखामा इन्जिन चलेको देख्थे । तर विडम्बना नेपालका पाखाहरूमा इन्जिन त के भेडाबाख्रासमेत चल्न सकेनन् ।
फलतः तिब्बतीयनहरूको हुम्लालाई हेर्ने दृष्टिकोण पृथक बन्दै गयो । लिमीहरूमा मेरा बचपनका दिनहरू बितेका भएर पनि मलाई लिमी भनेको गरिबी र पछौटेपनको पर्याय होइन, यो त त्रिदेशीय व्यपारको हेडक्वार्टर हो भन्नेमा विश्वस्त थिएँ । तिब्बतीयनहरूसँग सम्बन्ध विस्तार गरेमा उनीहरूको दृष्टिकोण अवश्य बदलिनेछ भन्ने त्योभन्दा ठूलो विश्वास मसँग थियो । र यसका लागि मैले निरन्तर प्रयास गरिरहें । हुम्ला उद्योग–वाणिज्य संघको प्रथम उपाध्यक्ष रहँदा मेरो अगुवाइमा २०६५ सालमा हुम्लाका तत्कालीन सभासद् र तिब्बतका अधिकारीहरूबीच लिमीमा एउटा व्यापारिक बैठक सम्पन्न गर्न सफल भएँ । हो यदी आज कुनै तिब्बतीयन व्यापारी र अधिकारीहरूले हुम्लाको समृद्धिको पक्षमा बोल्छ भने त्यो त्यही सम्मेलनको उपज हो भनेर म भन्न सक्छु । नेपाली अधिकारीहरू तिब्बत गएर व्यापारिक भेटवार्ताहरू हुने र मानसरोवर घुमेर आउने चलन चलिआएको भए पनि तिब्बतीयन अधिकारीहरू नेपाल आएर दुई देशीय व्यापार सम्बन्धका बारेमा छलफल गर्ने चलन पटक्कै थिएन ।
जबसम्म उनीहरूका आँखाले नेपालको भूगोल नियाल्दैनन, तबसम्म उनीहरूले यहाँ लगानी गर्ने कल्पनासम्म पनि गर्न सक्दैनन । यही तथ्य मनन गरेर हुम्लामा पहिलोपटक दुई देशीय भेटवार्ताको आयोजना गरेर तिब्बतीयनहरूलाई रारासहितका ठाउँहरूको अवलोकन गराएका थियौं । हाम्रा यी प्रयासले हुम्ला र तिब्बतबीच अन्तरव्यापारका धेरै ढोकामा स्वस्तिक चिन्ह कुदेका छन् । नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज हुम्ला एकाइको संस्थापक हुदै गर्दा चीनका विभिन्न वाणिज्य संघहरूसँग भए गरेका विभिन्न सम्झौता तथा भेटवार्ताहरूले दुईदेशीय व्यापारलाई सहज बनाउँदै लगेका छन् । चाइनिजहरू लोभी, नमिल्ने असहज हुन्छन् भन्ने उपमाहरूमा कुनै सत्यता देखिँदैन । एउटा टेलिफोन वार्ताका भरमा करोडौं रूपैयाँ लगानी गर्ने विश्वासिला चिनियाँहरू पनि भेटेको छु । कुनै नेपालीले सञ्चालन गर्न नसकेका रेस्टुराँहरू ठमेलमा चिनियाँहरूले सञ्चालन गरेका छन् । खासमा एक चीन नीतिको प्रभावकारी कार्यान्वयनमा बाहेक अन्य कुनै पनि कुरामा चीनको नेपालमाथि निहित स्वार्थ छैन । तातोपानी नाका खोल्नमा जागरूकता नदेखाउनु पनि यसैको उदाहरण हो ।
चिनिया आंकलन अनुसार हुम्लाको हिल्सा नाका सबैभन्दा सुरक्षित नाका हो । किनभने हिल्ला नाकाको प्रयोगबाट चीनविरोधी गतिविधि बन्द गर्नलाई भूगोलमा लगाइएको सुरक्षा प्रतिबन्ध नै काफी छ । अन्तर्देशीय व्यापारमा चिनिया पक्षमा दुई वटा समस्या रहेका छन् । चीनको भौगोलिक विकटताले सामानको मूल्य बढाउनु पहिलो समस्या हो भने दोस्रो समस्या हरेक कारोबारमा चिनिया व्यापारीहरूले बिल उपलब्ध गराउन नसक्नु हो । तर, व्यापार प्रवद्र्धनका लागि भने नेपालले धेरै काम गर्न बाँकी छ । सीमामा भन्सार कार्यालय स्थापना नगर्नु, क्वारेन्टाइनको व्यवस्था नहुनु, चेकपोस्ट नहुनु र ब्यूरोक्र्याटिक रेडटेप व्याप्त हुनु हाम्रा समस्या हुन् । अधिकांश चिनियाले मासु विनाको भोजन नै गर्दैनन । त्यहाँ चौंरीको प्रतिकिलो मासुको मूल्य एक हजार दुई सय रूपैयाँ पर्छ । यदि क्वारेन्टाइनको व्यवस्था गरेर हुम्लाको मासु पठाउन सके त्यसको फाइदा हामीलाई नै हुने होइन र ? प्रतिकिलो आलुको मूल्य १० युआन छ भने स्थानीय बजारमा आलु कुहाउनुभन्दा सडक जोडेर एक सय ७० रूपैयाँमा तिब्बत ओसार्न सके नेपालीहरू नै त समृद्ध बन्ने हुन । तिब्बतमा जति पनि फलफूल र तरकारी भित्रिन्छ, त्यो सबै चार दिनको सडकयात्राबाट भेटिने पाकिस्तान नजिकको सिन्जुयान प्रान्तबाट महँगो मूल्यमा भित्रिने विषादीसहितको उत्पादन हो । तर हामीले आधा दिनको बाटोबाट सस्तोमा अग्र्यानिक उत्पादनहरू दिन सक्यौं भने त्यसको कम्प्याराटिभ एड्भान्टेज हाम्रै पोल्टामा पर्छ ।
अरू त परै जाओस्, तिब्बतमा ढुंगासमेत गतिलो पाइदैंन । यदि हामीले बाटो बनाएर भीरबाट ढुङ्गा झिकेर मात्रै पनि निर्यात गर्ने हो भने त्यहाँको रकम नेपालमा भित्रिन्छ । नेपाल–चीनका नाकाहरूमध्ये हिल्सा भौगोलिक हिसाबले पनि वरदान प्राप्त नाका हो । पुराङलाई एउटा केन्द्र मान्ने हो भने लिपुलेकबाट भारत भेटिन्छ ।
सोही चोकको दोस्रो बाटोबाट बझाङ, तेस्रोबाट हुम्ला, चौथो बाटोबाट चीनको सिन्जाङ प्रान्त र पाँचौं बाटोबाट ल्हासा पुगिन्छ । यति मात्रै होइन, यो नाका प्रदेश नं ६ मा आयात न्यूनीकरण तथा निर्यात प्रबद्र्धनका लागि पनि उत्कृष्ट नाका हो । परिवर्तित सन्दर्भमा हामी दुई ठूला औद्योगिक देशको बीचमा छौं । अब उनीहरूलाई उवाँ, फापर मात्र नभइ युनिक उत्पादन उपलब्ध गराउन सक्नुपर्छ । अन्य वस्तु बिकाउने किफायती बाटो भनेको लाखौं पर्यटक भित्राउनु नैै हो । नेपाल घुम्न आउने हरेक पर्यटकलाई एउटा मायाको चिनो मात्रै बिकाउन सक्ने हो भने पनि हुम्ला मात्र होइन, पुरै नेपाल नै समृद्ध पार्न सकिन्छ । यसकारण पनि अब बन्ने प्रदेश सरकार, यहाँको संसद, स्थानीय सरकार, निजी क्षेत्र र राजनीतिक नेतृत्वले यसमा गम्भीर हुन जरुरी छ । यसो भएको खण्डमा प्रदेश ६ लाई आर्थिक रूपमा समृद्ध र आत्ननिर्भर बनाउन सम्भव छ ।
(लेखक हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष हुन् ।)

प्रकाशित मितिः   २९ माघ २०७४, सोमबार १५:१२