राजबहादुर शाही बने प्रदेश ६ को सभामुख

सुर्खेत, २९ ।  प्रदेश नं. ६ को सभामुखमा राजबहादुर शाही चयन भएका छन् । आज बसेको प्रदेशसभाको वैठकले शाहीलाई सभामुखमा चयन गरेको हो ।

प्रदेशसभामा नेकपा एमालेका सांसद प्रकाश ज्वालाले शाहीलाई सभामुख चयन गरियोस् भनी प्रस्ताव गरेका थिए । त्यसपछि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले ज्वालाको प्रस्तावमाथि समर्थन जनाए ।

शाहीबाहेक अरु कसैको उम्मेदवारी नपरेकाले प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य हिमबहादुर शाहीले सभामुखका एक मात्र उम्मेदवार राजबहादुर शाहीलाई निर्विरोध सभामुख चयन भएको घोषणा गरे ।

नेकपा एमालेका नेता शाही दैलेख निर्वाचन क्षेत्र नं. २(ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उपसभामुखको चयनका लागि भने आगामी फागुन ५ गतेलाई मिति निर्धारण गरिएको छ ।