‘बाहिर सर्प, भित्र देउताको डर’

तीर्थ भण्डारी/भीम सिंजापति
दैलेख, २७ माघ ।
हिँउदको कठ्यांग्रिदो चिसो । त्यसमा पनि खुला आकाशमुनी सत्नुपर्ने बाध्यता । दैलेखको आठवीस नगरपालिका वडा नं. ४ राकम बजारको सडक छेउमै एक युवती यही बाध्यतासँग जुधिरहेको अवस्थामा भेटिइन । एकसरो पछ्यौराको भर र परालका त्यान्द्रालाई ओच्छ्यान बनाएकी ती युवती बिहान पाँच बजे नै उठ्ने तरखरमा थिइन् । सडकमा बटुवाले देखिहाल्छन् की भन्ने डरले उनी लुक्ने प्रयास पनि गरिरहेकी थिइन्, तर यात्रुहरूले भने उक्त दृष्य देखिसकेका थिए ।


बरु उनीहरूले सहजै अनुमान लगाए, ‘पक्कै महिनावारी भएकी युवती यसरी खुल्ला आकाशमुनी रात काटिरहेकी छिन् ।’ यस्तै आठबीस नगरपालिका वडा नं. ४ की मीना बोहोरा पनि हरेकपटक महिनावारी हुँदा घरभन्दा टाढा बनाइएको गोठमा बस्छिन् । गोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्नेगर्छ । तर त्यो भन्दा बढी डर उनलाई देउताको लाग्छ । देउताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा रहेको छाउगोठमा बस्ने गरेकी हुन् । उनी भन्छिन्, ‘हामी महिलाहरू जहाँ बसे पनि डरकै भागेदार बनेका छौं ।’
राकम बजार छेउमा यात्रुबाट लुक्ने प्रयास गरिरहेकी युवती र सोही ठाउँका अर्की महिला मीना बोहोराले जस्तै यहाँका सबै महिलाले महिनावारी हुँदा यसैगरी छाउगोठ वा सडक किनारमा एक्लै रात बिताउनुपर्ने बाध्यतामा छन् । यहाँका महिलाहरू महिनावारी भएका बेला घरभित्र पस्न पाउँदैनन् । उनीहरूका लागि छाउगोठ जानु सामान्यजस्तै भइसकेको छ । ‘म मात्रै जानु परेको भए अप्ठ्यारो हुन्थ्यो’ मिनाले भनिन्, ‘महिनावारी हुँदा यहाँका सबै महिलाहरू छाउगोठमै बस्छन ।’ दैलेख जिल्लाका हरेक गाउँपालिका र नगरपालिकामा महिला र युवतीहरूले छाउपडी प्रथालाई संस्कारकै रूपमा स्वीकार्दै आएका छन् ।
‘छुई हुँदा घरभित्रै बस्यो भने त देउता रिसाउँछन्, अनेक समस्या आइलाग्छन्’ छाउगोठ जानुको कारण बारे मिनाले भनिन्, ‘देउता लागे भने जिन्दगीभर दुःख पाइन्छ, त्योभन्दा बरु छाउगोठमा गएर बस्यो, एक हप्ता त हो ।’ ‘देउता लाग्ने’ डरकै कारण यहाँका महिलाहरू छाउपडी बार्न बाध्य छन् । संस्कारको रूपमा स्थापित भएको कु–संस्कार छाउपडी प्रथालाई त्याग्न नसक्दा यहाँका महिलाहरूको ज्यान नै जोखिममा परेको छ । मिना भन्छिन् ‘बाहिर बस्दा सर्पको डर हुन्छ, घर भित्र बस्दा देउताको डर ।’ दैलेख जिल्लाका विभिन्न भू–भागका महिलाहरूमा अहिले पनि महिनावारीको समयमा र सुत्केरी हुँदा घरमा बसे देवता रिसाउछन् भन्ने डर यथावत नै छ ।
जोखिममा ज्यान
गत जेठ ८ गते चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ८ की २४ वर्षीया लालसरा विकको छाउगोठ बसेकै बेला ज्यान गयो । त्यसको दुई महिना नबित्दै सोही नगरपालिकाकी तुल्सी शाहीको पनि छाउगोठमै ज्यान गयो । चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ४ लैनचौरकी तुल्सी शाहीको छाउगोठमा
बस्दा सर्पले डसेर ज्यान गएको थियो ।
यी त केही उदाहरण मात्रै हुन् । हरेक वर्ष छाउगोठमा कुनै न कुनै महिलाले ज्यान गुमाइरहेका छन् । तर कतिपय घटना सार्वजनिक हुन्छन् भने कतिपय घटना बाहिर नै आउँदैनन् । चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ३ कि रमिता विक भन्छिन्, ‘जस्तोसुकै अवस्था आए पनि महिनावारी हुँदा छाउगोठमा नबसी सुख छैन ।’ महिनावारी हुँदा छाउगोठको बसाइँमा सर्पले डस्ने डर त छदैछ, त्यसमाथी शारीरिक अवस्था पनि कमजोर बन्दै जान्छ । छाउपडी र बालविवाहको विषयमा स्थानीय समुदायलाई जागरुक बनाउँदै हिँडेकी रमिता भन्छिन्, ‘यहाँका किशोरी र महिला कु–संस्कारको सिकार बन्दै आएका छन्, ज्यान जोखिममै राखेर महिलाहरू छाउगोठमा बस्ने गरेका छन् ।’
बदल्न नसकिएको सोच
गाउँका सबै महिला र युवतीहरू महिनावारी हुँदा छाउगोठमै बस्ने गरेको ठाँटीकाँध गाउँपालिका वडा नं. ५ की अस्मिता शाहीले बताइन् । जिल्लाका दुर्गम गाउँपालिकाका वडाहरूमा बसोबास गर्दै आएका सबैजसो महिलाहरूको बाध्यता बनेको छ, छाउगोठ । महिनावारी हुँदा सात दिन र सुत्केरी हुँदा १० दिन गोठमा बस्नुपर्ने बाध्यताका कारण उक्त गाउँका महिलाहरूले विभिन्न किसिमका समस्याहरू झेल्नुपरेको चामुण्डाका सुरेन्द्र देवकोेटाले बताए । तर यहाँका नागरिकले यसलाई संस्कारकै रूपमा स्वीकार गरेको उनी बताउँछन् ।
पुरानो पुस्ताका बुढापाकाहरूको जिद्धि र नयाँ पुस्ताले पनि त्यसैलाई स्वीकार गरेका कारण गाउँबाट छाउपडी प्रथा हटाउन नसकिएको देवकोटाको भनाइ छ । गाउँमा बालक्लब र विभिन्न सामाजिक संघ संस्थाहरूले छाउपडी प्रथाले निम्त्याउने समस्या र यो अन्धविश्वास हो भनेर जतिपटक जानकारी गराएको भए पनि यो भ्रमबाट मुक्त हुन नसकेको जिल्ला बाल सञ्जाल दैलेखका सचिवसमेत रहेका सुरेन्द्र देवकोटाले बताए । पुर्खादेखि नै चल्दै आएको चलन भएकाले छाउपडी प्रथाको छाप मेटाउन नसकिएको गुराँस गाउँपालिकाका यामलाल विक बताउँछन् ।
किशोरीको पढाइमा बाधा
महावु गाउँपालिकामा रहेको मालिका माध्यामिक विद्यालयमा अध्ययनरत मनिषा विष्ट विद्यालयमा महिनावारी हुने बित्तिकै घर फर्किन्छिन् । उनी मात्र होइन विद्यालयका अन्य किशोरीहरू पनि विद्यालयको समयमा महिनावारी हुँदा भर फर्किने गरेका छन् । महिनावारी भएको पाँच दिनपछि मात्रै विद्यालय जाने गरेको मनिषाले बताइन् ।
छाउपडी प्रथाकै कारण विद्यालयमा अध्यनरत किशोरीहरू महिनावारी हुँदा विद्यालय आउन लजाउने गरेको र कतिपयले विद्यालय नै छोड्ने गरेको उनले बताइन् । महिनावारीबारे जनचेतना जगाउन नसक्दा र छाउपडी प्रथाकै कारण यस्तो समस्या देखिएको उनको भनाइ छ । यस्तो अवस्थामा घर बाहिर बस्नुपर्दा कलिला बालिकाहरूमा मानसिक समस्या पनि निम्तिएको मनिषाको भनाइ छ ।
छाउगोठमै फर्किए महिला
पाँच वर्षअघि दैलेख जिल्लाका साविकका गाउँविकास समितिलाई छाउपडी मुक्तगाउँ घोषणा गरिएको थियो । २०६९ साल असार यता दैलेख जिल्लाका राकमकर्णाली, तिलेपाटा, पिपलकोट लगाएतका गाउँलाई छाउगोठ मुक्त घोषणा गरियो । त्यतिबेला छोउगोठ मुक्त घोषणा गरिएका साविकका गाउँविकास समितिहरूमा अहिले छाउगोठ बनिसकेका छन् ।
छाउगोठमुक्त घोषणाा गरिएका स्थानमा नै महिलाहरू पुनः छाउगोठमै फर्किएका छन् । सरकारले छाउपडी प्रथा अन्त्य गर्न कानुन बनाएको छ भन्नेबारे सबैलाई थाहा नभएको पनि होइन । तर परम्परागत संस्कारलाई उनीहरूले त्याग्न भने सकेका छैनन् । भैरवी गाउँपालिकावडा नं. १ रावतकोटकी कुस्मा विष्ट भन्छिन्, ‘छाउपडी प्रथा गलत हो भन्ने पनि सबैलाई थाहा छ, तर देउताको डरबाट भने यहाँका महिलाहरू उम्किन सकेका छैनन् ।’ पहिलेदेखि चलि आएको चलनलाई नकार्न निकै गाह्रो भएको स्थानीय महिलाहरू बताउँछन् । ‘महिनावारी हुँदा गोठमा घरभित्र बसे आगलागी हुन्छ’ आठवीस नगरपालिकाकी मीना बोहोराले भनिन् ‘देउता रिसाए भने हामीलाई अनर्थ हुन्छ, अनि जानुपरेन त गोठमा ?’
कानुनी अज्ञानता
नेपाल सरकारले नै छाउपडी प्रथाविरुद्धको ऐन बनाएर लागू गरेको छ । यसको कार्यान्वयन गराउने जिम्मेवारी राज्यका निकायहरूको हो । तर सरकारी निकायसँग नै छाउपडी प्रथा अन्त्य गर्ने कुनै योजना र कार्यक्रम भने छैनन् । यतिमात्रै होइन सरकारले जारी गरेको ऐनको बारेमा स्थानीयनागरिकहरू अनविज्ञ छन् । उनीहरूलाई सरकारले जारी गरेको ऐनलाई समुदायस्तरमा जानकारी दिनका लागि राज्यका निकायहरूले खासै ध्यान नदिँदा कानुनी कुराहरू जानकारी नभएको चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी बालअधिकारको क्षेत्रमा काम गर्दै आएकी रमिता विकले बताइन् । ‘हामी बालक्लबका सदस्यहरू यो अभियानमा लागेका छौं । तर स्थानीय सरकार र स्थानीय अगुवाहरूले हामीलाई सहयोग गर्नुभएको छैन’ उनले भनिन् ।
स्थानीय सरकार मौन
अन्धविश्वासका कारण छाउपडीप्रथाले विकराल रूप लिए पनि यसलाई हटाउनका लागि भने कुनै ठोस पहल गरिएको छैन । छाउपडी प्रथा हटाउन केही सामाजिक संघ–संस्था र नागरिक अगुवाहरूले पहल गरे पनि सरकारी निकाय मौन हुँदा बीचमै रोकिएको छ । यसको अन्त्यका लागि कुनै सरकारी निकायहरूले ध्यान नदिँदा छाउपडी प्रथा जटिल बन्दै गएको जिल्ला बाल संजाल दैलेखकी सदस्य पवित्रा थापाले बताइन् । सरकारी निकायले कुनै चासो नदेखाएपछि आफूहरूबाट यो प्रथाको अन्त्य हुन नसकेको थापाको भनाइ छ । स्थानीय सरकार गठन भएको लामो समय बितिसके पनि छाउपडी हटाउन अहिलेसम्म कुनै पहल नभएको उनको भनाइ छ । ‘उल्टै स्थानीय सरकारले हामी बालक्लबलाई सहयोग गर्नमा कन्जुस्यार्इं गरेका छन्’ उनले भनिन् ।
आठबीस नगरपालिका नगर प्रमुख खड्गराज उपाध्यायले भने छाउपडी प्रथाविरुद्धको अभियान थाल्ने बताए । एक वर्षमा दुई महिलाको ज्यान गएपछि चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले छाउपडीविरुद्धको अभियानको थालनी गर्नका लागि पहल थालेका छन् । आफ्नो एक्लो प्रयासबाट छाउपडी प्रथा अन्त्य गर्न नसकिने भन्दै उनले सबैले साथ दिनुपर्ने बताए । युवापुस्ताले छाउ हटाउन खोजे पनि बृद्धबृद्धालाई बुझाउन नसकिएको शाहीको भनाइ छ ।
(क्रियाशील पत्रकार मञ्चका लागि )

प्रकाशित मितिः   २८ माघ २०७४, आईतवार १४:३३