सभामुखको उम्मेदवारी दर्ता आज

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ माघ ।
प्रदेश नम्बर ६ मा प्रदेशसभाको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । यसअघि सम्पन्न प्रदेशसभाको पहिलो बैठकले भोलि (सोमवार) सभामुखको निर्वाचन तय गरेको छ । जस अन्तर्गत आज उम्मेदवारी दर्ताका लागि समय तोकिएको हो ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार (आज) आइतवार दिउँसो एक बजे प्रदेशसभाको सभामुख पदको उम्मेदवारी दर्ता हुनेछ । सचिवालयले आजै अपरान्ह २ः३० बजे प्रदेश सभामुख पदका लागि क्रमसंख्या अनुसार दर्ता भएको प्रस्ताव बमोजिम नामावली प्रकाशन गर्ने जनाइएको छ ।
भोलि बस्ने प्रदेशसभाको दोस्रो बैठकमा सभामुखको चयन गरिनेछ । प्रदेश ६ मा नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपाबाट ४० जना प्रदेशसभा सदस्यहरू रहेका छन् । प्रदेशसभाका ज्येष्ठ सदस्य एवम् हिमबहादुर शाहीको अध्यक्षतामा बस्ने बैठकले सभामुख उम्मेदवारका प्रस्तावक सदस्यले बैठकमा प्रस्तुत गरेपछि समर्थक सदस्यले समर्थन गर्नेछन् । तर, सभामुखका लागि एउटा मात्रै प्रस्तावको सूचना सचिवालयमा प्राप्त भएमा समर्थक सदस्यले बोलेपछि बैठकका अध्यक्ष शाहीले प्रस्तावित सदस्यलाई सभामुखमा निर्विरोध निर्वाचित घोषणा गर्नेछन् ।
सभामुखका लागि एक भन्दा बढी प्रस्ताव दर्ता भएमा प्रस्तावक सदस्यले दर्ता क्रमाअनुसार प्रस्ताव प्रस्तुत गर्नेछन् । र समर्थक सदस्यले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावकहरू माथि छलफल हुनेछ । त्यसपछि अध्यक्ष शाहीले प्रस्तावहरूलाई क्रमश निर्णयार्थ प्रस्तुत गर्नेछन् । जसमा निर्णय दस्खतसहितको मत विभाजनद्वारा मतदान हुनेछ ।
मत विभाजन भएपश्चात् बहुमत प्राप्त प्रस्तावित सदस्य सभामुख पदमा निर्वाचित भएको मानिनेछ । प्रदेश नम्बर–६ को प्रदेश सरकार एमाले–माओवादीबीचको भागवण्डामा गठन हुने भएको छ । पार्टी एकीकरणको उद्देश्यले चुनावमा होमिएको वाम गठबन्धनले करिब तीन महिना बितिसक्दासमेत पार्टी एकताले पूर्णता पाउन सकेको छैन् ।
दुवै पार्टी एकता नहुँदै प्रदेश सरकार गठन गर्दा ७०÷३० को भागवण्डा मिलाएका छन् । सोही अनुसार नेकपा एमालेले यो प्रदेशमा सभामुख पाएको छ । प्रदेशमा सबैभन्दा बढी सीट जितेको एमालेले भागवण्डाका कारण सभामुखसहित पाँच मन्त्रीमा चित्त बुझाउनुपर्नेछ । माओवादी केन्द्रले भने मुख्यमन्त्रीसहित तीन मन्त्री पाउनेछ ।

प्रकाशित मितिः   २८ माघ २०७४, आईतवार १४:२९