कांग्रेस संसदीय दलको नेतामा शाही चयन

सुर्खेत, २६ माघ ।
प्रदेश नम्बर ६ मा नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छ । कांग्रेसको प्रदेश सभा संसदीय दलले जीवनबहादुर शाहीलाई दलको नेतामा चयन गरेको हो । दलको नेताका लागि शाहीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।


प्रदेश सभामा हुम्लाबाट विजयी भएका शाही कांग्रेसका केन्द्रीय सदस्य हुन् । प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसबाट शाही मात्र निर्वाचित भएका थिए । पूर्व पर्यटन मन्त्रीसमेत रहेका शाही मुख्यमन्त्रीको आकांक्षासहित प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेका थिए । तर यो प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने भएको छ । हाल प्रदेश सभाका कांगे्रसका ६ जना मात्र सांसद छन् । बहुमत नभएका कारण आफ्नो मुख्यमन्त्री बन्ने सपना अधुरै रहेको भन्दै नेता शाहीले अब प्रतिपक्षमा बसेर भए पनि प्रदेश समृद्धिको लागि काम गर्ने बताए ।
संसदीय दलको नेताका लागि शुक्रवार वीरेन्द्रनगरमा निर्वाचन प्रक्रिया अपनाइएको थियो । तर ६ जना सांसद मध्ये शाहीले मात्र दलको नेताका लागि उम्मेदवारी दिएका थिए । एकल उम्मेदवारी मात्र परेपति उनी निर्विरोध चयन भएका हुन् । दलको नेतामा चयन भएपछि शाहीले प्रदेश सभामा सशक्त भूमिका निर्वाह गर्ने बताए । प्रदेशको समृद्धिका लागि सरकारलाई रचनात्मक सहयोग गर्ने उनको भनाइ छ । ‘मुख्यमन्त्री बन्ने सपना थियो, त्यो पूरा हुन सकेन । कांग्रेसले चुनावमा पराजय भोगेको छ, अब प्रतिपक्षमा बसेर भए पनि सशक्त भूमिका खेल्ने छु ।’
प्रदेशको विकास र समृद्धिका लागि सरकारसँग मिलेर काम गर्ने उनको भनाइ छ ।
दलको नेतामा चयन भएपछि शाहीले भने, ‘हामी प्रदेश सभामा थोरै सांसद छौं, कांग्रेसको उपस्थिति संख्यामा कमजोर छ । तर कर्णालीको मुहार फेर्न र प्रदेशको समिृद्धका लागि शसक्त बन्नेछौं ।’ उनले प्रदेश ६ को समृद्धिका लागि ६ वटा (ब) आवश्यक रहेको बताए । जसअन्तर्गत प्रदेशका सबै जिल्लामा बाटो, बिजुली, बजारिकरण, बन, बिचार र व्यवस्थापन आवश्यक पर्ने उनको भनाइ छ । यो प्रदेशको समृद्धिका लागि उत्तरी नाका खोल्नुपर्ने र पर्यटनमा लगानी गर्नुपर्नेमा समेत उनले जोड दिए । शाहीलाई दलको नेता चयन भएको प्रमाणपत्र प्रदान गर्दै कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले प्रदेशको विकासमा नेतृत्वदायी भूमिका खेल्न आफ्नो पार्टी तयार रहेको बताए । यो प्रदेशमा स्थायी सरकार आवश्यक रहेको थानीको भनाइ छ । यसका लागि आफ्नो पार्टीले पनि सहयोग गर्ने उनले बताए ।

प्रकाशित मितिः   २७ माघ २०७४, शनिबार १५:३८