‘दैलेखलाई हाइड्रो हव बनाउँछौं’
पूजा भण्डारी
दैलेख, २५ माघ ।
दैलेख जिल्लालाई ‘हाइड्रो हव’को रूपमा विकास गर्ने घोषणा गरिएको छ । ‘उद्यम, कृषि, पर्यटन र व्यापार, समृद्ध दैलेखको मूलआधार’ भन्ने मूल नारा सहित उद्योग वाणिज्य संघ दैलेखको नवौं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी व्यवसायीहरूले यस्तो घोषणा गरेका हुन् ।
दैलेखसँगै छिमेकी जिल्ला सुर्खेतका उद्योगी व्यापारिहरूले राष्ट्रकै महŒव बोकेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाका साथै, नौमुले र डुङ्गेश्वर गाउँपालिकामा रहेका लघु जलविद्युत आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेकोले यसबाहेकका पनि विभिन्न खोलाहरूमा लघु जलविद्युत जलविद्युत आयोजनाहरू सञ्चालन गरी जिल्लालाई हाइड्रो हवको रूपमा विकास गर्ने बताएका हुन् ।
जलविद्युतबाहेक पेट्रोलियम, तामा, काइनेटिक जस्ता खनिज पदार्थहरू पाइने सम्भावनाहरूलाई खोजी गरी अनुसन्धान र उत्खनन्तर्फ अघि बढ्ने उद्योगी, व्यापारीहरूले घोषणा गरे । उद्घाटन कार्यक्रममा दैलेख आएका नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य एवम् घरेलु तथा साना उद्योग विकास समिति नेपालका सभापति निरक केसीले दैलेख जिल्ला धार्मिक, सांस्कृति र जलस्रोतले धनी भएको बताउँदै त्यसको विकासका लागि निजी क्षेत्रको महŒवपूर्ण भूमिका रहेको बताए । विकास निर्माणलाई थाँती राखेर राजनीतिलाई मात्रै जोड दिए मुलुकको विकास सम्भव नभएको बताउँदै केसीले निजी क्षेत्र, स्थानीय, प्रदेश र केन्द्र सरकारको सहकार्य आवश्यक रहेको बताए । मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको महŒवपूर्ण भूमिका रहेका बताउँदै केसीले भने ‘दैलेख जिल्लामा भएको सम्भावनाहरूलाई पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट लगानीको वातावरण सिर्जना गर्न सक्नुपर्छ ।’
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले निजी क्षेत्र र निर्वाचित जनप्रतिनिधिहरूले हातेमालो गर्नसके मात्र जिल्लासँगै मुलुकको विकास सम्भव रहेको बताए । उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारीले दैलेख जिल्लामात्रै नभइ समग्र प्रदेश नं. ६ भित्र रहेका सम्भावनाहरूको खोजी गर्नका लागि निजी क्षेत्र लाग्नपर्ने बताए । उनले निजी क्षेत्रले तिरेको करबाट राज्यले विकासको अनुभूति हुने गरी काम गरेको खण्डमा मुलुक समृद्धिको दिशामा अगाडि बढ्ने बताए ।
यस्तै नेपाली कांग्रेस दैलेखका सभापति कृष्णकुमार बिसीले समृद्ध दैलेख बनाउने महाअभियानमा सबैको सहयोग आवश्यक रहेको औंल्याउँदै थुप्रै सम्भावनाहरू भएको जिल्लामा बसेका निजी क्षेत्रले ती सम्भावनाहरूलाई सदुपयोग गर्नुपर्ने बताए ।
उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष शान्तिप्रसाद शर्माले दैलेख विभिन्न जातजातिको उद्गम स्थल तथा पञ्चकोशी लगायत धार्मिक स्थल भएकाले यसलाई पर्यटकीय रूपमा विकास गर्दा राष्ट्रकै अर्थतन्त्रमा योगदान पुग्ने बताए । व्यवसायीहरूको क्षमता विकास गरी समस्याको पहिचान गर्नुका साथै व्यवसायको प्रबद्र्धन गरी जिल्लालाई प्रदेश नं ६ को व्यापारिक नाकाको रूपमा विस्तार गर्न संघले निरन्तर प्रयास गरिरहेको उनले बताए । संघको नवौं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
साझा बिसौनी संवाददाता ।