एमालेमा कँडेल, माओवादीमा शाही

सुर्खेत, २५ माघ ।
लामो रस्साकस्सी र आन्तरिक संघर्षकाबीच नेकपा एमाले र माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेका छन् । एमालेमा यामलाल कँडेल र माओवादी संसदीय दलको नेतामा महेन्द्रबहादुर शाही चयन भएका छन् । वीरेन्द्रनगरमा बिहीवार सम्पन्न एमाले र माओवादीका संसदीय दलका बैठकले नेताको टुङ्गो लगाएका हुन् ।
लामो रस्साकस्सीपछि प्रदेश ६ मा एमालेले सर्वसम्मत् रूपमा दलको नेता चयन गरेको छ । यसअघि संसदीय दलको नेतामा दावी गर्दै आएका पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले नै कँडेललाई दलको नेतामा प्रस्ताव गरेका थिए । ज्वालाको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मत् रूपमा पारित गरेको हो । कँडेल सुर्खेत क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभामा निर्वाचित भएका थिए । तर सल्यानबाट प्रदेश सभामा विजयी भएका ज्वालाले पनि दलको नेता बन्न अन्तिमसम्म आफ्नो अडान कायमै राखेका थिए ।
अध्यक्ष केपी ओली निकट मानिने कँडेल र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने ज्वालाबीच दलको नेताका लागि रस्साकस्सी नै भएको थियो । तर अन्तिम समयमा आएर ज्वाला पछाडी हटेपछि कँडेललाई दलको नेता बन्न सहज भएको हो । पार्टी उपाध्यक्ष तथा प्रदेश ६ का संयोजक युवराज ज्ञवालीको रोहवरमा संसदीय दलले पोलिटब्यूरो सदस्य तथा प्रदेशका सहसंयोजक कँडेललाई दलको नेतामा चयन गरेको हो । संसदीय दलको नेतामा चयन भएपछि कँडेलले प्रदेश सभाभित्र र समग्र प्रदेशको समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । सबैसँग सहकार्य गरेर अगाडि बढ्ने भन्दै उनले जनताका आकांक्षा पूरा गर्न निरन्तर लाग्ने उल्लेख गरे ।
यस्तै माओवादी प्रदेशसभा संसदीय दलको नेतामा चयन भएसँगै महेन्द्रबहादुर शाहीलाई प्रदेश ६ को भावी मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । पूर्व उर्जामन्त्रीसमेत रहेका शाही मुख्यमन्त्रीको आकांक्षासहित प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । तर माओवादीकै अर्का नेता नरेश भण्डारीले पनि मुख्यमन्त्रीको आकांक्षासहित संसदीय दलको नेतामा अडान नछोडेपछि दुई नेताबीच रस्साकस्सी नै चलेको थियो । आन्तरिक संघर्षका कारण संसदीय दलको नेतामा सहमति हुन नसकेपछि पार्टीका नेताहरू शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा वीरेन्द्रनगर आएका थिए । बस्नेत र शर्माको रोहवरमा नै बिहीवार सम्पन्न संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा चयन गरेको हो ।
कालिकोटको प्रदेशसभा (ख) बाट विजयी शाही र जुम्लाको प्रदेश सभा (क) बाट विजयी भएका भण्डारीबीच दलको नेता बन्न निकै रस्साकस्सी चलेको थियो । अध्यक्ष प्रचण्ड निकट मानिने शाही र वरिष्ठ नेता रामबहादुर थापा निकट मानिने भण्डारीले मुख्यमन्त्रीका लागि बाटो खुल्ला गर्न दलको नेतामा दाबी गर्दै आएका थिए । दुवै जनाको अडानका कारण माओवादीभित्र दलको नेता चयन गर्न सकस भएको थियो । तर बिहीवार केन्द्रीय नेताहरूको पहलमा शाहीको नाममा सर्वसम्मत् निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ । तत्कालीन माओवादी सेनाको छैठौं डिभिजनका कमाण्डरसमेत रहेका शाहीलाई दलको नेता चयन भएसँगै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । एमालेसँग चुनावी गठबन्धन गरेको माओवादीले भागवण्डामा प्रदेश ६ मा मुख्यमन्त्री पाएको छ ।
एमाले र माओवादीको वाम गठबन्धनको प्रदेश सभामा दुई तिहाइ बहुमत छ । एमालेसँगको गठबन्धन कायमै रहे अब माओवादी संसदीय दलका नेता शाही नै यो प्रदेशको मुख्यमन्त्री हुने पक्का छ । दलको नेतामा चयन भएपछि शाहीले प्रदेश ६ को समृद्धिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए । साथै उनले प्रदेश सभाभित्र र यो प्रदेशको समृद्धिका लागि आफूले निरन्तर प्रयास गर्ने बताए । कालिकोटबाट निर्वाचित शाही नै यो प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएसँगै कर्णालीले पहिलो मुख्यमन्त्री पाउने देखिएको छ । सुर्खेतलाई अस्थायी राजधानी तोकिएको र अब स्थायी राजधानी पनि सुर्खेतबाहेक अन्यत्र बन्ने सम्भावना नरहेकाले पनि कर्णालीबासीले मुख्यमन्त्री पाउनुपर्ने आवाज पेचिलो बनाएका छन् ।
महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेसँगै कर्णालीले पहिलो मुख्यमन्त्री पाउने सम्भावना पनि बलियो बनेको छ । एमालेसँगको गठबन्धनमा तलमाथि नभए शाही नै यो प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।

प्रकाशित मितिः   २६ माघ २०७४, शुक्रबार १५:३२