‘एक दशकभित्र आत्मनिर्भर प्रदेश’

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ माघ ।
प्रदेश नम्बर ६ को आर्थिक समृद्धिका लागि सुर्खेतमा प्रदेशस्तरीय महोत्सव सुरु भएको छ । प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सवको शुक्रवार वीरेन्द्रनगरमा उद्घाटन गरिएको हो । आउँदो फागुन ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा १५ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।


उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ६ को आयोजनामा सुरु भएको महोत्सवको प्रदेश नम्बर ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले उद्घाटन गरे । यो प्रदेशमा उत्पादन हुने वस्तु तथा सामग्रीको बजारीकरणका लागि आयोजना गरिएको महोत्सवमा प्रदेशका १० वटै जिल्लाको प्रतिनिधित्व रहेको छ । यो महोत्सवमा यो प्रदेशका १० वटै जिल्ला उद्योग वाणिज्य संघहरूको पनि सहभागिता रहेको छ । महोत्सवको उद्घाटन गर्दै सरोकारवालाहरूले अबको एक दशकभित्र यो प्रदेश आत्मनिर्भर हुने बताए ।
महोत्सव आयोजक उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ६ का अध्यक्ष पदमबहादुर शाहीले स्थानीय उत्पादनको बजारीकरण गर्न र पर्यटन प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताए । महोत्सवले यहाँको अर्थतन्त्र चलायमान हुने र आर्थिक कारोबार बढ्ने उनको विश्वास थियो । उनले भने, ‘कहिलेसम्म हामी अभावमा बाँच्ने ? गरीब प्रदेश भनेर कहिलेसम्म निराश बन्ने ? अब समृद्धिको सपना देखौं, यहाँको आर्थिक समृद्धि र विकास लागि प्रयास थालौं ।’ अब गठन हुने प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा यो प्रदेशमा ठूला जहाज अवतरण गर्नसक्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । यस्तै दक्षिणसँग प्रदेशमा नाका नभएकाले तत्काल उतरमा नाका खोल्नुपर्ने, हुम्ला र डोल्पामा तत्काल सडक पु¥याउनुपर्ने, जलस्रोत र जडिबुटीको सदुपयोगमा लाग्नुपर्ने र पर्यटनमा लगानी गर्नुपर्नेमा उनले राजनीतिक नेतृत्वसँग आग्रह गरे ।
प्रदेश संसद, सरकार, सथानीय तह र निजी क्षेत्रले सहकार्य गरेमा प्रदेश ६ लाई अबको एक दशकभित्र आर्थिक रूपमा आत्मनिर्भर प्रदेश बनाउन सकिने शाहीले बताए । यसका लागि निजी क्षेत्र सधैं तयार रहेको उनको भनाइ छ । सो अवसरमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले साझा प्रयासबाट समृद्ध प्रदेश बनाउन सकिने बताए । उनले भने, ‘इतिहासले हामीलाई जिम्मेवारी दिएको छ, यो जिम्मेवारीलाई अवसरको रूपमा प्रयोग गरौं । यहाँको अभाव र गरिबी अन्त्यका लागि सामूहिक प्रयास गरौं, हाम्रो प्रदेशलाई देशकै नमुना र समृद्ध बनाउन सफल हुनेछौं ।’ आर्थिक विकासका लागि नीजि क्षेत्रको महŒवपूर्ण भूमिका रहने भन्दै उनले राज्यले पूर्वाधारमा लगानी गर्नुपर्ने बताए । सो अवसरमा यस क्षेत्रका सांसदहरूले पनि हालसम्म पछाडि पारिएको प्रदेश ६ को समृद्धिका लागि आफूहरूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । प्रदेशमा रहेको प्राकृतिक स्रोतको सही सदुपयोग गर्न सके समृद्धिको यात्रा सफल हुने उनीहरूको भनाइ छ ।
महोत्सवमा यो प्रदेशका १० वटै जिल्लाबाट औद्योगिक, व्यापार, पर्यटन तथा कृषिका सामग्रीहरूको स्टलहरू प्रदर्शनीमा राखिएका छन् । ग्रामिण क्षेत्रमा उत्पादन भएका वस्तुहरूको बजारीकरण र उद्योग व्यापारमार्फत् प्रदेशको समृद्धिका लागि महोत्सव आयोजना गरिएको हो । यस्तै यो प्रदेशमा लोपउन्मुख अवस्थामा रहेका कला र संस्कृतिको संरक्षणका लागि पनि स्थानीय कला सांस्कृतिलाई पनि प्रदर्शनी गरिनेछ ।
स्थानीय उत्पादनबाहेक बाह्य सामग्रीको बिक्री वितरणका लागि समूहगत रूपमा शुल्क निर्धारण गरिएको छ । महोत्सवका दर्शकका लागि विगतका वर्ष झै यस वर्ष पनि ५० रूपैयाँ प्रवेश शुल्क तोकिएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिययस्तरका चर्चित कलाकारहरूले आफ्नो कला प्रस्तुत गर्नेछन् । पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने दाबी आयोजकको रहेको छ । प्रदेशभित्रका उद्योगीबीच भावनात्मक सम्बन्ध बढाउन र उच्च मूल्य भएका निकासी योग्य बस्तुहरूको बिक्री वितरण हुने भएकाले पनि महोत्सव फलदायी हुने बताइएको छ । महोत्सवमा मुख्य आकषर्णको रुमा उँट र अष्टिज चरा रहने बताइएको छ ।

प्रकाशित मितिः   २७ माघ २०७४, शनिबार १५:४०