जनप्रतिनिधिका मत नै बदर

सुर्खेत, २५ माघ ।
नागरिकबाट चुनिएका जनप्रतिनिधिहरूको मत नै बदर भएको छ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनीधिले धेरै मत बदर गरेका छन् । बुधवार निर्वाचन भएको प्रदेश नम्बर ६ मा प्रदेशसभा सदस्यको भन्दा स्थानीय तहका प्रमुख÷उपप्रमुखका धेरै मत बदर भएका हुन् ।
प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फका एक सय ५८ गरी जम्मा एक सय ९८ मत खसेको थियो । जसमध्ये स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यका गरी १६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एक मत बराबर १८ मतभार भएको स्थानीय तहका प्रमुख÷उपप्रमुखका १३ मत बदर भएका छन् । बदर मत अनुसार दुई सय ३४ मतभार बदर भएको निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले बताए । यस्तै, प्रदेशसभा सदस्यहरूले तीन मत बदर भएका छन् । एक मत बराबर ४८ मतभार भएको प्रदेशसभामा एक सय ४४ मत बदर भएका हुन् । बहुमतीय मतदान प्रणालीमा धेरै जसो मत बदर भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । जसअनुसार दलित र अल्पसंख्यक कोटाका धेरै मत बदर भएका हुन् । उनका अनुसार दलित कोटामा जनप्रतिनिधिका ६ र प्रदेशसभा सदस्यको एक मत बदर भएको छ । यस्तै, अपाङ्ग सदस्यका लागि प्रदेशसभा सदस्यको एक मत बदर भएको छ ।
मुख्य निर्वाचन अधिकृत पौडेलले चिन्ह लगाउनुपर्ने मतपत्रमा अंक लेखिएकाले धेरै मत बदर भएको बताए । यस्तै, एकल संक्रमणीय मतदान प्रणाली अन्तर्गत अंक लेख्दा क्रम नमिलाएरै लेखिएको पाइएको छ । ‘एकल संक्रमणीयमा मतपत्रमा अंक लेख्दा एक नलेखी दुई÷तीन लेखिएको पाइयो’ उनले भने, ‘कतै चिन्ह पनि
लगाइएको छ । मतदाता शिक्षाको अभाव भन्दा मतपत्रको ख्याल नगर्दा मत बदर भएको हो ।’
यसैबीच, राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ६ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयले बिहीवार सार्वजनिक गरेको मतपरिणाम अनुसार आठ पदमा वाम गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । दलिततर्फ एमालेका नरपति लोहार विजयी भएका छन् । उनले तीन हजार ६ सय ६६ मत ल्याएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका मित्रलाल सार्कीले नौ सय ६० मत ल्याएर पराजित भएका छन् । यस्तै अपाङ्ग सदस्यमा पनि वाम गठबन्धनकै जीवन बुढा बिजयी भएका छन् ।
माओवादी केन्द्रबाट उम्मेदवारी दिएका उनले तीन हजार सात सय २० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोपालप्रसाद शर्माले नौं सय ७८ मत प्राप्त गरे । यस्तै एमालेबाट महिला सदस्यमा कविता बोगटी, नन्दा शर्मा, विजयी भएकी छन् । खुल्ला सदस्यमा एमालेका भैरवसुन्दर श्रेष्ठ र ठगेन्द्र प्रकाश पुरी विजयी भएका छन् । माओवादी केन्द्रबाट अल्पसंख्यकमा माओवादीका युटोल तामाङ्ग र खुल्ला सदस्यमा कालीबहादुर मल्ल विजयी भएका छन् ।

प्रकाशित मितिः   २६ माघ २०७४, शुक्रबार १५:३१