‘औद्योगिक ग्राम स्थापनाका लागि पहल थाल्नेछु’
तपाईंको चुनावी एजेण्डा के हो ?
म दैलेख उद्योग वाणिज्य संघको वर्तमान महासचिव हुँ । मैले एक कार्यकाल उद्योग वाणिज्य संघ दैलेखको महासचिवको जिम्मेवारी पूरा गरे । त्यस अवधिमा धेरै काम गरेको छु । बाँकी रहेका योजनाहरू अब अध्यक्ष भएर पूरा गर्नेछु । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सरकारसँग समवन्य गरेर व्यवसायीको हितमा काम गर्नेछु । मेरै कार्यकालमा संघको भवन बनिसकेको छ । प्रत्येक गाउँ र नगरसँग समवन्य गरेर जग्गा किनेर भवन निर्माण गर्नेछु ।

अपराधिक गतिविधि न्यूनीकरण गर्न सबै बजारमा सीसी क्यामरा जोड्न पहल गर्नेछु । जिल्लामै कृषि जडिबुटीका लागि नौमूलेमा प्रशोधन केन्द्र बनाउने मेरो प्रमुख एजेण्डा हो । औद्योगिक ग्राम बनाउन प्रयास थालिनेछ । सुन्तला तथा तरकारीका लागि चिस्यान केन्द्र गुराँसेमा बनाउने योजना छ । बाहिरबाट आउने जिल्लामा दर्ता नभएका व्यापारीहरूलाई रोक्नेछु । दैलेखमा रहेका ज्वाला क्षेत्रको ग्यास उत्खनन्को लागि हामी नेतृत्वदायी पहल थाल्नेछौं ।
तपाईं विजयी भएपछि तत्काल के–के काम गर्नुहुन्छ ?
म विजयी भएँ भने जिल्लामा दर्ता नभएर गरिने घुमन्ते व्यापारलाई रोक्नेछु । मेरोतर्फबाट मध्यपहाडी लोकमार्गलाई कालेपत्रे गर्न पहल हुनेछ । निजी क्षेत्रबाट व्यापार व्यवसाय बढाउनका लागि विभिन्न योजनाहरू बनाउनेछु । जडिबुटीको प्रशोधन केन्द्र बनाउनेछु । जिल्लाका व्यवसायीहरूको सुरक्षाका लागि आवश्यक पहल गर्नेछु । यस्तै व्यवस्थित तालिम हलको काम तत्काल थाल्नेछु ।
व्यापार प्रबद्र्धनका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारसँग कसरी समन्वय गर्नुहुन्छ ?
हाम्रो यसपालिको निर्वाचनपछि प्रत्येक गाउँ नगरमा शाखा हुन्छ । त्यो पूर्ण अधिकारसहितको हुनेछ । चुनाव सम्पन्न भएको १५ देखि ३० दिनभित्र शाखा विस्तार गरिनेछ । शाखाको अध्यक्ष जिल्लाको पदेन सदस्य हुन्छ । कर, लगायतका विषयमा हामी समन्वय गरेर अगाडि बढ्नेछौं । स्थानीय तहका कुनै पनि व्यापारीलाई परेको समस्या जिल्लाबाट शाखा हुँदै समाधान गरिनेछ । जिल्लामा उद्योग कम छन् । उद्योग बढाउन प्रोत्साहन गरिनेछ । त्यसका लागि कागज, जडिबुटी, घरेलु उद्योग लगायतका उद्योगहरू विस्तारमा सहयोगी बनेर काम गर्नेछु । सबै स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गर्नेछु ।
पर्यटकीय क्षेत्रको विकासका लागि के कस्ता योजना छन् ?
पर्यटनमा दैलेख जिल्ला ६ नम्बर प्रदेशकै धनी जिल्ला हो । पर्यटकीय केन्द्रको रूपमा विस्तार गर्नका लागि व्यवसायीहरूसँग बसेर योजनाहरू गर्नेछु । हामीसँग ज्वाला क्षेत्र, ऐतिहासिक दुल्लू दरबार लगायतका पर्यटकीय क्षेत्रहरू छन् । तिनको प्रचार–प्रसारका लागि हामी काम गर्नेछौं । पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा सबैसँग सहकार्य गरेर अघि बढ्नेछु ।
विगतभन्दा अहिले चुनावमा प्रचार भड्किलो भएको गुनासो आएको छ, यसमा के भन्नुहुन्छ ?
विगतभन्दा अहिले अलि–अलि बाहिर कुरा आए जस्तै देखिएको छ । प्रतिस्पर्धीले गरेपछि आफू पनि बाध्य भएर प्रचारमा जानु परेको हो । हामीले रोक्ने प्रयास गरेको छौं । हामी बढी खर्च गर्ने र चुनावलाई भड्किलो बनाउने पक्षमा छैनौं ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मैले २०४३ सालदेखि व्यापार गरेको हुँ । मैले झोला बोकेर व्यापार सुरु गरेको हुँ । धेरै दुःखहरू गरेर अहिले यहाँसम्म पुगेको छु । सबै उद्योगी व्यापारीलाई धन्यवाद दिन चाहन्छु । म र मेरो प्यानलले जारी गरेको १४ बुँदे प्रतिबद्धता अनुसार आगामी दिनमा काम गर्ने विश्वास दिलाउँन चाहान्छु । जिल्लाका सबै उद्योगी, व्यापारीहरूलाई म र मेरो प्यानललाई मतदान गरी काम गर्ने अवसर दिनुहुन अनुरोध गर्दछु ।
साझा बिसौनी संवाददाता ।