शतप्रतिशत मत खसाल्ने कसरत

मतगणना आज नै हुने, भोलिसम्म मतपरिणाम आइसक्ने

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ माघ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ६ मा शतप्रतिशत मत खसाल्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शतप्रतिशत मत खसाल्नका लागि दलहरूसँग आवश्यक समन्वय गरिएको जनाएको छ । यस्तै मत बदर हुनबाट जोगाउन मंगलवार दिनभर वीरेन्द्रनगरमा मतदातालाई आवश्यक कक्षासमेत दिइएको छ ।


यसअघि मतदाताबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभाका सांसदहरू नै मंगलवार दिनभर मत खसाल्ने तरिका सिक्न व्यस्त भए । मत बदर हुने चिन्ताका कारण एमाले र माओवादीले आफ्ना मतदातालाई संयुक्त रूपमा मंगलवार दिनभर मत खसाल्ने तरिका सिकाएका छन् । नमुना मतदानमार्फत् दलहरूले आफ्ना मतदातालाई वीरेन्द्रनगरमा मत खासाल्ने तरिकाबारे अभ्यास गराएका हुन् । यो अभ्यासबाट मतदाता ढुक्क भएको र खसेको मत बदर नहुने दलहरूको विश्वास छ ।
मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले भने, ‘हामीले यहाँ शतप्रतिशत मत खसाल्ने कसरत गरेका छौं, हिमपातका कारण हुम्लाबाट एक जना मतदाता आउन सक्नु भएको छैन । उहाँलाई बुधवारसम्म जहाजमा भए पनि ल्याउने प्रयास हुनेछ, मत खेर नजाओस् भनेर दलहरूसँग समन्वय गरेर भोट हाल्न पनि सिकाएका छौं ।’ कांग्रेसले पनि आफ्ना जनप्रतिनिधि र सांसदलाई मत हाल्ने तरिका सिकाएको छ । नमुना मतदानका क्रममासमेत अधिकांशको मत बदर भएको छ । यसकारण पनि मत बदर हुने आशंका बढेको छ । तर आफूहरू शतप्रतिशत मत खसाल्ने तयारीमा जुटेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।
यस्तै निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदानका लागि आवश्यक भौतिक तयारी र सुरक्षाको व्यवस्थापन गरेको हो । बुधवार हुने निर्वाचनमा वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान हुनेछ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ । यो प्रदेशबाट राष्ट्रिय सभामा आठ जना निर्वाचित हुनेछन् । आठ पदका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको छ । वाम गठबन्धनबाट आठ जना र नेपाली कांग्रेसबाट चार जनाले उम्मेदवारी दर्ता गरेका छन् । यो निर्वाचनका लागि प्रदेश ६ मा एक सय ९८ जना मतदाता छन् । प्रदेश ६ का ७९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक सय ५८ र प्रदेश सभाका ४० जनासांसदले मतदान गर्नेछन् ।
बुधवार बेलुकी ५ बजेबाट नै मतगणना थालिने मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । उनका अनुसार बिहीवार बिहानसम्ममा मत परिणाम सार्वजनिक हुनेछ । मतदानको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरी परिचालन हुनेछन् । उनले भने, ‘हामी शतप्रतिसत मत खसाल्ने प्रयासमा छौं, दलहरूलाई आफ्ना सबै मतदाता उपस्थित गराउन आग्रह गरेका छौं । दलहरू उत्साहित देखिएका छन्, यो प्रदेशमा निर्वाचन शान्तिपूर्ण नै हुनेछ ।’ मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्र (क) मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई मतदान गर्ने व्यवस्था मिलाइएको छ, भने केन्द्र (ख) मा प्रदेशसभा सदस्यहरूले मतदान गर्नेछन् । निर्वाचनबाट तीन महिला, तीन जना अन्य, एक दलित र एक जना अल्पसंख्यक कोटामा निर्वाचित हुनेछन् । राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न ६ नम्बर प्रदेश अन्तर्गतका स्थानीय तहका जनप्रतिनीधि र प्रदेश सभाका सदस्यहरू वीरेन्द्रनगर पुगिसकेका छन् ।
निर्वाचनमा यो प्रदेशबाट एमालेका पाँच, माओवादी केन्द्रका तीन र कांग्रेसका चार जनाले उम्मेदवारी दिएका छन् । एमालेबाट सुर्खेतकी नन्दा चपाईं, रुकुम पश्चिमका ठगेन्द्र पुरी, जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, कालिकोटका नरपति लुहार र हुम्लाकी कविता बोगटी चुनावी मैदानमा छन् । यस्तै माओवादी केन्द्रबाट जाजरकोटका कालिबहादुर मल्ल, कालिकोटका जीवन बुढा र मुगुका यूटोन तामाङ्गले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट रुकुम पश्चिमका गोपालप्रसाद शर्मा, सल्यानका मित्रलाल सार्की, हुम्लाकी सुर्यदेवी मल्ल र कालिकोटका विष्णुबहादुर शाही चुनावी मैदानमा होमिएका छन् । यी मध्ये आठ जनाले मात्र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नेछन् । ७९ वटा स्थानीय तह रहेको यो प्रदेशमा स्थानीय तहको दुई हजार आठ सय ४४ र प्रदेश सभाको एक हजार नौ सय २० गरी जम्मा चार हजार सात सय ६४ मतभार रहेको छ ।
यस्तै प्रदेशमा पहिलो दल बनेको एमालेले प्रत्यक्षतर्फ १४ र समानुपातिकतर्फ ६ गरी २० जना प्रदेशसभा सदस्य जितेको छ । प्रदेशसभा सदस्यको जम्मा मतभार नौ सय ६० हुनेछ । स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी एमालेका ५८ जना मतदाता छन् । स्थानीय तहमा उनीहरूको मतभार एक हजार ४४ हुन आउँछ ।
यसैगरी माओवादी केन्द्रको प्रत्यक्षमा नौ र समानुपातिकमा चार गरी १३ जना प्रदेशसभा सदस्य छन् । उनीहरूको ६ सय २४ मतभार हुन आउँछ । एमाले र माओवादी गठबन्धन बनाएर निर्वाचनमा सहभागी भएकाले प्रदेश ६ मा वाम गठबन्धनको तीन हजार पाँच सय ४६ मतभार हुन आउने देखिन्छ । कांग्रेसले प्रत्यक्षमा एक र समानुपातिक ५ गरी ६ जना प्रदेश सभा सदस्य जितेको छ । जसको मतभार दुई सय ८८ छ । स्थानीय तहमा कांग्रेसका ४१ जना मतदाता छन् । स्थानीय तहको मतदातालाई १८ ले गुणा गर्दा कुल मतभार एक हजार २६ हुन आउँछ ।

प्रकाशित मितिः   २४ माघ २०७४, बुधबार १३:३३