‘सरकार गठनपछि मात्र पार्टी एकता’

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ माघ ।
नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताले सरकार गठनपछि मात्रै पूर्णता पाउने माओवादी नेता जनार्दन शर्माले बताएका छन् । मंगलवार वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टी एकीकरणलाई औपचारिकता दिन मात्रै बाँकी रहेको बताए ।

अनौपचारिक रूपमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनताका पार्टी एक भइसकेको भन्दै उनले औपचारिकता दिन छलफल तीव्र पारिएको बताए । ‘एउटै घोषणापत्र लिएर निर्वाचनमा होमिएपछि पार्टी एक भइसकेको हो’ पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले भने, ‘आमनागरिकले चाहेको औपचारिक रूपमा पार्टी एकता सरकार गठनपछि हुन्छ ।’ देशको समृद्धि, स्थायित्व र विकासको एउटै एजेण्डालाई जनताले स्वीकार गरेकाले पार्टी एकीकरण कसैले नरोक्ने उनले ठोकुवा गरे । पार्टी एकीकरण बारे आशंका नगर्न आग्रह गर्दै उनले केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी कमिटी व्यवस्थापन गर्न समय लाग्ने बताए । वाम पार्टीको नेतृत्व भने पुष्पकमल दाहाल प्रचण्डले गर्ने र नयाँ सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले सहमति भएको बताए । उनका अनुसार प्रदेश ६ को मुख्यमन्त्री भोलि टुङ्गो लगाउने तयारी थालिएको छ । उनले पार्टी पद्धति अनुसार मुख्यमन्त्री चयन गरिने बताए ।
उनले प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रले मुख्यमन्त्री तोक्ने बताए । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणबाट वाम एकतामा कुनै असर नपर्ने बताए ।

प्रकाशित मितिः   २४ माघ २०७४, बुधबार १३:२९