सिँगार्ने काम दश दिनभित्र सकिने
सुर्खेत, २२ माघ ।
प्रदेश सभाको पहिलो बैठक सम्पन्न भएसँगै मन्त्रालय व्यवस्थापनमा भ्याइन–भ्याइ भएको छ । प्रदेश ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा प्रदेश सरकारका मन्त्रालय, मन्त्री र सचिवका लागि आवासको जोहो र सिँगारको काम गर्न कर्मचारीहरूलाई भ्याइनभ्याइ भएको हो । अबको १० दिन भित्रमा मन्त्रालय व्यवस्थापनको काम सक्नेगरी काम थालिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
यसअघि नै वीरेन्द्रनगरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्थापना भइसकेको छ । प्रदेश संसदको पहिलो बैठक सम्पन्न भइसकेको र अब सरकार गठनको प्रक्रिया अगाडि बढ्ने भएपछि मन्त्रालय व्यवस्थापनको कामलाई तीव्रता दिइएको हो । यो प्रदेशमा रहने सात वटा मन्त्रालयका लागि भवनहरूको टुङ्गो लगाइ सकिएको छ । मन्त्रालय राख्ने भवनमा अहिले क्षेत्रीयस्तरका कार्यालयहरू रहेकाले तिनलाई खाली गराउने काम चलिरहेको छ । कार्यालयहरू खाली हुन थालेको र त्यहाँ आवश्यक मर्मत तथा सजावटको कामसमेत सुरु भइसकेको मन्त्रीपरिषद् कार्यालयले जानकारी दिएको छ ।
यसअघि मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सञ्चालनमा आइसकेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले अबको १० दिनभित्रमा सबै मन्त्रालय र आवास व्यवस्थापनको काम सक्ने जानकारी दिए । उनले भने, ‘संसद चलिसेको छ, अब तत्काल सरकार पनि गठन हुन्छ । हामीले मन्त्रालय रहेन भवनमा मर्मत तथा सजावटको काममा तीव्रता दिएको छौं, मन्त्रीलाई मन्त्रालयमा स्वागत गर्नका लागि पनि हामी हतारमा छौं ।’ केन्द्र सरकारबाट ढिला मात्र परिपत्र आएकाले व्यवस्थापनको काममा पनि केही ढिलाइ भएको उनको भनाइ छ । तर सरकार गठनअघि नै मन्त्रालयमा सिँगारको काम सम्पन्न गरिसक्ने उनले दाबी गरे ।
प्रदेश वन, वातावरण तथा विज्ञान मन्त्रालयका लागि क्षेत्रीय सिँचाइ र क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयको भवन, सहकारी, पशु सेवा र भूमि व्यवस्थापन मन्त्रालयका लागि क्षेत्रीय कृषि निर्देशनालय, क्षेत्रीय पशु रोग अन्वेषण केन्द्रको भवन, अर्थ मन्त्रालयका लागि क्षेत्रीय शिक्षा निर्देशनालयको भवन, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि जिल्ला कृषि कार्यालयको भवन, भौतिक पूर्वाधार मन्त्रालयका लागि क्षेत्रीय सडक, सिँचाइ र जलउत्पन्न प्रकोप कार्यालयका भवन तथा शिक्षा, स्वास्थ्य र सामाजिक विकास मन्त्रालयका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको भवन छनौट गरिएको छ । मन्त्रालय, मन्त्री र सचिवको आवासका लागि छनौट भएका भवनहरू खाली हुनेक्रममा रहेको बताइएको छ । जिल्लामा रहेका क्षेत्रीयस्तरका कार्यालयहरू खाली भएसँगै मन्त्रालय स्थापनाको कामले पनि गति लिने प्रमुख सचिव प्रधानले जानकारी दिए ।
उनले भने, ‘अबको एक हप्ताभित्र सात वटै मन्त्रालय स्थापना हुनेछन्, हामीले त्यसका लागि धमाधम काम जारी राखेका छौं ।’ प्रदेश तहमा हुने कार्यालयमा धेरै विभागहरू रहने भएकाले दुई वटा भवनमा एउटा मन्त्रालय राख्ने व्यवस्था मिलाइएको छ । यस्तै मन्त्रालयमा मर्मत तथा रंगरोगनको जिम्मेवारी पाएको शहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतका प्रमुख थम्बराज श्रेष्ठले क्षेत्रीयस्तरका कार्यालयहरू सुर्खेतमा रहेकाले पनि प्रदेश मन्त्रालय व्यवस्थापनमा सहज भएको बताए । मन्त्रालय व्यवस्थापनको काम
तीव्र पारिएको भन्दै उनले तोकिएको अवधिमा नै भौत्तिक व्यवस्थापनको काम सक्ने बताए । ‘अहोरात्र खटेर मन्त्रालय व्यवस्थापनमा जुटेका छौं’ उनले भने, ‘अबको १० दिनभित्रमा मन्त्रालय स्थापना हुनेगरी काम भइरहेको छ ।’
संसद सिँगार्न तीन महिना लाग्ने
यसैबीच प्रदेश संसदका लागि प्रस्ताव गरिएको भवनमा मर्मत तथा सजावट गर्न तीन महिना समय लाग्ने भएको छ । शैक्षिक तालिम केन्द्रमलाई प्रदेश सभाका लागि छनौट गरिएको छ । मर्मत र सजावटका लागि समय लाग्ने भएपछि हाल क्षेत्रीय सिँचाइ विकास डिभिजनको हलमा संसद बैठक बस्दै आएको छ । तीन महिनासम्म यही हलमा संसदको बैठक बसाल्नुपर्ने भएको हो ।
प्रस्तावित संसद भवनमा मर्मत, रंगरोगन र सजावटका लागि कम्तिमा तीन महिना लाग्ने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख थम्वराज श्रेष्ठले भने, ‘संसदका लागि भवन उपयुक्त छ, यो दिगो पनि हुनेछ । तर हलमा ‘ईको’ साउन्डलाई व्यवस्थापन गर्नुपर्नेछ, यसका लागि कम्तीमा तीन महिना समय लाग्छ ।’ उनले यसका लागि बाहिरबाट प्राविधिक जनशक्ति ल्याउनुपर्ने भएकाले पनि समय धेरै लाग्ने जनाए । उनले भने, ‘प्राविधिक जटिलताले पहिलो बैठक शैक्षिक तालिम केन्द्रमा बस्न सकेन्,
हामीले काम अगाडि बढाएका छौं । तर समय लाग्छ, हामी चाँडो सक्ने प्रयासमा छौं ।’
साझा बिसौनी संवाददाता ।