चुनाव प्रचारमा व्यस्त व्यापारी

पूजा भण्डारी
दैलेख, २२ माघ ।
दैलेख उद्योग वाणिज्य संघको अधिवेशन नजिकिएसँगै व्यापारीहरूले प्रचार–प्रसार तीव्र पारेकाछन् । आगामी तीन वर्षे कार्यकालको नेतृत्व लिन दलगत रूपमा दैलेखका व्यापारीहरू प्रचार–प्रसारमा होमिएका हुन् । विगतका वर्षहरूमा सर्वसम्मत् नेतृत्व चयन हुँदै आएको दैलेख उद्योग वाणिज्य संघमा भने यसपटक विभिन्न दल निकट प्यानल खडा गरी व्यापारीहरू प्रचार–प्रसार गर्न थालेका हुन् ।
नेकपा एमाले र माओवादी केन्द्र निकटका व्यापारीहरूले प्रगतिशील उद्योगी व्यापारी प्यानल बनाएर प्रचार–प्रसार गरिरहेका छन् । यस्तै, नेपाली कांग्रेस र राप्रपा निकटका व्यापारीहरूले साझा उद्यमी व्यवसायी प्यानल बनाएर गरेरै प्रचार थालेका छन् । व्यापारीको हकअधिकार र निजी क्षेत्रको लगानीलाई सुरक्षित बनाउने उद्देश्य राखेको संघमा यतिबेला दलगत स्वार्थले व्यापारीहरू दुई धारमा उभिएका हुन् । अध्यक्ष पदका लागि प्रगतिशील प्यानलबाट हालका महासचिव नरेन्द्र थापा चुनावी मैदानमा छन् भने वाणिज्य उपाध्यक्ष कुलबहादुर विक साझा उद्यमी प्यानलबाट उम्मेदवार बनेका छन् । उद्यमी, व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धतासहित नेतृत्व आफ्नो हात पार्न उनीहरू व्यापारीको घरदैलोमा मत माग्दै हिँडेका छन् ।
अधिवेशन नजिकिदैं गर्दा भड्किलो प्रचार–प्रसारमा गर्न थालिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह र मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन जत्तिकै तामझामका साथ उनीहरू प्रचार–प्रसार गरिरहेका छन् । दैलेख सदरमुकाम लगायत जिल्लाका अन्य व्यापारिक केन्द्रसमेत व्यवसायीको हितमा काम गर्ने आश्वासनसहितका व्यानरले रंगिएका छन् । विगतमा हुने दैलेख उद्योग वाणिज्य संघको निर्वाचन भन्दा यसपटकको निर्वाचन भड्किलो भएको जनस्तरबाट गुनासो आउन थालेको छ । जिल्लाका समग्र उद्योगी, व्यापारीहरूको प्रतिनिधित्व गर्ने साझा संस्थालाई दलगत स्वार्थमा यसरी भड्किलो प्रचार गर्न उपयुक्त नभएको उपभोक्ताहरू बताउँछन् ।
प्रगतिशील उद्योगी व्यापारीको साझा प्यानलकोतर्फबाट अध्यक्ष पदका लागि मैदानमा उत्रिएका थापाले प्रतिस्पर्धीले प्रचारशैली भड्किलो बनाएको आरोप लगाए । ‘हामीले रोक्ने प्रयास गरेको छौं ।’ उनले भने, ‘चुनाव लक्षित गरी भड्किलो प्रचार गर्ने भन्दा पनि व्यवसायीहरूसँग भेटघाट तीव्र पारेका छौं ।’ साझा उद्यमी व्यवसायी प्यानलका उम्मेदवार कुलबहादुरले विगतको निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा प्रचार अलि भड्किलो भएको स्वीकार गरेका छन् । माघ २५ र २६ गते हुने ८ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । आफू निकटका व्यापारीलाई जिताउन दलका नेताहरूसमेत होमिएका छन् । आफ्नो पक्षमा मत तान्न व्यापारीहरूले सांसदलाईसमेत गुहारेका छन् ।

प्रकाशित मितिः   २३ माघ २०७४, मंगलवार १३:२१