खुशीयालीमा दिप प्रज्वलन
सुर्खेत, २१ माघ । आईतबार सम्पन्न भएको प्रदेशसभा बैठकले संघीयता संस्थागत सँगै आर्थिक समृद्धिको ढोका खुलेको भन्दै वीरेन्द्रनगरमा दिप प्रज्वलन गरिएको छ । सुर्खेत उद्योग बाणिज्य संघले आर्थिक समृद्धिको अपेक्षासहित एतिहासिक प्रदेशसभाको पहिलो बैठक बसेको उपलक्ष्यमा दिप प्रज्वलन गरेर खुसीयाली मनाएको हो ।
जनताको बलमा स्थापित ६ नम्बर प्रदेशमा संघीयता अनुसार प्रदेश सरकार गठन पक्रियामा रहेको भन्दै व्यवसायीहरुले स्थानीय वीरेन्द्रचौकमा दिप प्रज्वलन गरेका थिए । दिप प्रज्वलन गर्दै सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले गरिवि र अशिक्षाले पछाडी परेको प्रदेशमा थुप्रै सम्भावना रहेको बताए । उनले जलस्रोत, जडिवुटी, खानी, वन, कृषिका दृष्टिकोणले अन्य प्रदेशको तुलनामा थुप्रै सम्भावना बोकेको प्रदेश भएको उल्लेख गरे । लगानी मैत्री नीतिको अभावले कर्णाली क्षेत्र पछाडी परेको भन्दै अवको प्रदेश सरकारले लगानी मैत्री नीति निर्माण गर्नुपर्ने बताए । प्रदेश समृद्ध बनाउने आधारमा निजी क्षेत्रको प्रतिनीधित्व अनिवार्य आवश्यक पर्ने भन्दै उनले सरकारले त्यस तर्फ ध्यान दिनुपर्ने बताए ।
दिप प्रज्वलन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ६ का अध्यक्ष पदमबहादुर शाही, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उप–प्रमुख मोहनमाया ढकाललगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मितिः २१ माघ २०७४, आईतवार २०:०१
साझा बिसौनी ।