४५ मिनेटमा सकियो पहिलो वैठक, कसले के भने ?

सुर्खेत, २१ माघ । प्रदेश नं. ६ को पहिलो प्रदेशसभा वैठक ४५ मिनेट बसेर सकिएको छ । दिउँसो ठीक एक बजेदेखि सुरु गर्ने भनिएको वैठक पाँच मिनेट ढिला गरी सुरु भएको थियो ।

१ बजेर पाँच मिनेट जाँदा सुरु भएको वैठक एक बजार ५० मिनेट जाँदा समापन गरिएको हो ।

यो ४५ मिनेटको अवधिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार जन राजनीतिक दलका सांसदले आफ्ना धारणा राख्नुका साथै प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि पारित, सभामुख चयनका लागि मिति निर्धारणसम्मका निर्णय गरिएको छ ।

हामी सबै प्रतिपक्षी : यामलाल कंडेल
सभामा बोल्दै नेकपा एमालेका सांसद यामलाल कंडेलले प्रदेश नंं ६ को समृद्धिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे । निर्धारित १० मिनेट बोलेका उनले विभिन्न समयमा सार्वजनिक हुँदै आएका तथ्यांकहरुले निराश हुने अवस्था सिर्जना भएपनि यहाँ भएको प्रचुर सम्भावनालाई सदुपयोग गर्दै समृद्ध प्रदेश बनाउन सकिने बताए ।
प्रदेशको समृद्धिका लागि प्रदेशसभामा रहेका ४० जना सांसद नै प्रतिपक्षी भएको धारणा राख्दै कंडेलले सबै मिलेर अघि नबढे समृद्ध प्रदेश बनाउन नसकिने बताए ।

हाम्रै गल्तीले पछि पर्यौं, अब सुधाछौं : महेन्द्रबहादुर शाही
नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले भाषण गरेर मात्रै प्रदेशलाई समृद्ध बनाउन नसकिने भन्दै अब सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले आफूहरुकै कारण प्रदेश नं. ६ विकासमा पछि परेको भन्दै अब सुधार गर्ने प्रतिवद्धता जनाए ।
आफूहरुको अबको दायित्व नै संविधानको कार्यान्वयन गर्दै मुलुकलाई समृद्ध बनाउनु भएकाले यो प्रदेशको विकासको जिम्मेवारी आफूहरुको काँधमा आएको बताए ।

मिलेर काम गरौं : जीवनबहादुर शाही
नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाहीले सत्तापक्ष वा प्रतिपक्ष भएर नभइ विकासका लागि सबै एकपक्ष भएर काम गर्नुपर्ने धारणा व्यक्त गरे । उनले जल, जमिन र जडिबुटीको माध्यमबाट प्रदेश नंं ६ लाई समृद्ध बनाउन सकिने बताए ।

हिन्दु राज्य र राजसंस्थाको वकालत
राष्टिय प्रजातन्त्र पार्टीकी सांसद सोशीला शाहीले भने पहिलो वैठकमा नै हिन्दु राज्य र राजसंस्था वकालत गरेकी छन् । उनले जनभावना विपरित मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरिएको भन्दै त्यसलाई सच्याउनेपर्नुे माग गरिन् । त्यसैगरी उनले पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुक अहिले विखण्डनतर्फ जान लागेको भन्दै राजसंस्था पुनस्र्थापित गर्नुे माग गरिन् । वैठकमा बोल्दै उनले भनिन्, ‘हाम्रो पार्टी अहिले पनि हिन्दु राज्य र राजसंस्थाप्रति पूर्ण प्रतिवद्ध छ ।’

प्रकाशित मितिः   २१ माघ २०७४, आईतवार १५:४६