वाम एकता र समाजवाद

भुपालसिंह ठकुरी
नेपाली राजनीतिक आन्दोलनको झन्डै एक शताब्दीसम्मका ठूला–ठूला संंघर्ष,आन्दोलन र युद्ध परिणमस्वरूप बनेको संविधान २०७२, सोही संविधानको कार्यान्वनको चरणमा हाल देश गुज्रिरहेको छ । संविधान कार्यान्वयनकै शिलशिलामा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव पनि सकिएको छ । विशेषत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सँगसँगै देश तीव्र ध्रुवीकरणको दिशामा अगाडि बढिरहेको छ । निर्वाचनसँगै ध्रुवीकरणको दिशामा हिँडेका नेपालका दुई ठूला वाम पार्टी एमाले–माओवादीले जनताबाट अपेक्षाकृत जनमत प्राप्त गर्न सफल भए ।
मुख्यगरी चुनावको समयमा बृहत वाम धु्रवीकरणसहित स्थायी सरकार, दिगो विकास, समाजवाद उन्मुख जीवनशैली जस्ता महŒवाकांक्षा नारा जनतामा लिएर वामगठबन्धन चुनाव जित्न सफल भयो । निर्वाचनको बेलामा पार्टी एकता आज हुन्छ, भोली हुन्छ, सबै चिज मिलिसक्यो घोेषणा हुनमात्र बाँकी छ, विचार सिद्धान्त, नाम, पद प्रतिष्ठा सबैमा सहमति भइसक्यो अब घोषणा गर्नमात्र बाँकी छ भनेर दाहाल र वली दिनहँु कुर्लिरहेका हुन्थे । चुनाव जिते तर आजभोलिका विभिन्न बजार हल्ला, टिकाटिप्पणी, मान मर्यादा, पद प्रतिष्ठा, विचार सिद्धान्तका विषयले १०० डिग्रीको ज्वरो निकालेको छ । के साँच्चिकै वाम एकता होला ? विचार सिद्धान्तले एकतामा प्रभाव पार्ला ? के चुनावी नारा पूरा होलान् ? एकता पश्चात बन्ने पार्टी के कम्युनिष्ट चरित्रकैे होला ? यस्तै प्रश्नहरूको विश्लेषण गर्ने प्रयास यहाँ गरिएको छ ।
विशेषत निर्वाचनको समयमा चुनाव जित्नकै लागि तथानामका नारा र भाषण गर्दै हिँडेका वामपार्टी आज जनमत प्राप्त पश्चात खोलो तर्याे लौरो भुल्यो भनेझै एकताको वाचा भुल्दै गएका हुन कि भन्ने भान हुँदै गइरहेको छ । उनीहरूले हिजो भन्दै आएको स्थायी सरकार, दिगो विकास, समाजवाद उन्मुख समाज निर्माण जस्ता नाराहरू यदि पार्टी एकता भएन भने सम्भव छैन । नेपाली जनता ८÷९ महिनामा सरकार परिवर्तन गर्ने, विकास भन्दा सत्ता मोहलाई प्राथामिकता दिने कुराले आजित भएर वामपार्टीको चुनावी नारालाई साथ दिएका हुन् । यदि पार्टी एकता भएन भने पुनः विगतकै खेल दोहोरिनेछ र जनतामाथिको विश्वासघात हुनेछ ।
निर्वाचन सकिएको एक हप्ताभित्रै पार्टी एकता गर्ने सहमति गरेका वली–दाहालको सहमति कता पुग्यो ? उनीहरूले भने झै पार्टी एकता सजिलो थिएन र छैन पनि । मुख्यत विचार, सिद्धान्त, कार्यदिशा र कार्यकर्ता व्यवस्थापन एकताका मुख्य चुनौती हुन् । माओवादीले वलीलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ यसको माने प्रचण्ड अध्यक्ष बन्न चाहन्छन् तर एमाले प्रचण्डलाई अध्यक्षका रूपमा स्वीकार्न सक्ने अवस्थामा छैन । राजनीति भनेकै शक्तिको खेल हो जो पनि शक्तिको उपभोग गर्न चाहन्छन्, अतः दोस्रो तहका नेताहरू आफ्नो शक्ति एकिन नहुन्जेल पार्टी एकताको विमुखमा लाग्नेछन् । दुवै पार्टी कार्यकर्ताहरू आ–आफ्नो हैसियत खोजिरहेका छन् जुन पार्टी एकताको एक प्रमुख समस्या हो ।
पछिल्लो चरणमा यी दुई पार्टीबीच विचार र कार्यदिशालाई लिएर पेचिलो बहस सुरु भएको छ । एमालेको जवज माओवादीले स्वीकार गर्ने या नगर्ने, माओ विचारधारा, जनयुद्धलाई एमालेले कसरी बुझ्ने ? २१ औं शताब्दीको जनवादलाई कसरी लिने ? जस्ता पेचिला तर्कहरू उठ्दै आएका छन् । केही नेताहरू जवज र २१ औं शताब्दीको जनवादलाई त्यागेर नयाँ विचार र कार्यदिशाको विकास गर्नुपर्छ भन्ने बहस गरिरहेका छन् । आ–आफ्नै पार्टी पंक्तिभित्र असन्तुष्टिका चाङहरू बढ्दैछन् । एमालेसगँको पार्टी एकताको बहसले माओवादीभित्रका केही प्रभावशाली नेताहरूले धमाधम पार्टी छोड्दै गइरहेका छन् । अन्य केही नेता कार्यकर्ताहरू पनि वैचारिकरूपमा नजिक रहेका वैद्य विप्लवहरूसँग एकता गर्नुपर्नेमा खुलेरै लागेका छन् । अर्कोतिर अध्यक्षको दौडमा रहेका नेता ईश्वर पोखरेल प्रचण्डलाई अध्यक्ष मान्न तयार छैनन्, झलनाथ, माधव राष्ट्रपतिको धावनमार्गमा दौडिरहेका छन् । यसले गर्दा एमाले माओवादी एकता फलामको चिउरा चपाउनु सरह नै बनेको छ ।
यसका अलवा विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू वाम एकता नहोस् भन्नेमा नाभीसहितको जोडबल लगाइरहेका छन् । कांग्रेस–मधेशी गठबन्धनले त प्रचण्डलाई पाँच वर्षको स्थायी प्रधानमन्त्रीको अफर गरे । छिमेकी राष्ट्र भारत एवम् पश्चिमा देशहरूले विजयको शुभकामना दिँदै सहमती सहकार्यमा जोड दिए यसको भित्री आसय सहमतिय सरकार चलाउ एकतासम्म चाहीं नगरीहाल भन्ने नै होला । विभिन्न देशका राजदुतहरू पार्टीभित्रका केही नेताहरूका कान फुकिरहेका छन् जसले गर्दा वाम एकता प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभावित छ ।
वाम गठबन्धन गरेयता दुवै पार्टीको एउटै नारा बृहत कम्युनिष्ट पार्टी निर्माण गरी देशमा समाजवादको स्थापना गर्ने, तर यी दुवै पार्टीको संंरचना, कार्यशैली पूँजीवादी पार्टी भन्दा फरक छैन । यही सन्दर्भमा माओवादी पार्टीका युवा नेता लेखनाथ न्यौपाने भन्छन्, नेपालमा आधारभूत रूपमा कम्युनिष्ट पार्टी छँदै छैनन् अहीले माओवादी एमालेले वनाउन लागेको पार्टी चाहीं वाम पार्टी हो, त्यो पनि धेरै संर्घष गरेपछि मात्र सम्भव छ नत्र नामको कम्युनिष्ट कामको पूँजीवादी पार्टी हुनेछ । वास्तवमा भन्ने हो भने एमाले माओवादी पार्टी आधारभूत रूपमा कम्युनिष्ट च्यूत पार्टी नै हुन । यिनीहरूको कार्यशैली, नेता कार्यकर्ताहरूको व्यवहार, सांगठनिक पद्धति कुनै पनि कुराहरू कम्युनिष्ट कार्यकर्ताहरूले अवलम्बन गर्ने खालका देखिदैनन् । चरम व्यक्तिवाद, पूँजीवाद, नातावाद, सत्ता केन्द्रित, भ्रष्टाचार उन्मुख कार्यशैलीले पूँजीवादी पार्टी भन्दा कुनै पनि मानेमा फरक छैनन् । पार्टीभित्र केही इमान्दार चरित्र, कम्युनिष्ट व्यवहार शैली भएका कार्यकर्ताहरू त पक्कै होलान तर नीति निर्माण तहसम्म आउने त परै रहोस् हेर्नसम्म नि पाउँदैनन्, सधैं ओझेलमा पर्दा पछाडि नै रहने बाध्यता छ । दुवै पार्टी धनवाद र डनवादले कब्जा गरेको छ त्यसको ज्वलन्त उदाहरण भेला बैठक सम्मेलन एवम प्रतिनिधि छनौटसम्म आउँदा छताछुल्ल हुन्छ । अतः एमाले माओवादी दुवैपार्टी आधारभूत रूपमा कम्युनिष्ट चरित्र हुन वा होइनन् भनेर माक्र्स लेलिनका भोल्युमहरू पल्टाउनु पर्दैन । नामका कम्युनिष्ट कार्यशैली व्यवहार चरित्र पूँजीवादी झैं गर्ने पार्टीहरू हुन त्यसकारण यिनलाई कम्युनिष्ट नभनेर सामाजिक साम्राज्यवादी पार्टी भन्न सकिन्छ ।
अब रह्यो समाजवाद उन्मुख समाज निर्माण गर्ने, यो त कल्पना मात्र हुनेछ । काम गर्ने पूँजीवादको नारा लाउने समाजवादको ? यो त काल्पनिक समाजवाद हुनेछ । हाम्रो संविधानमा उल्लेख गरिएको समाजवाद कस्तो समाजवाद हो प्रष्ट छैन एनेकी पूँजीवादीहरूले यसलाई पूँजीवादी÷ उदारवादी समाजवाद भनि व्याख्या गर्दछन् भने वामपन्थीहरू यसलाई कम्ययनिष्ट समाजवादको रूपमा वर्णन गर्दछन् । अर्थात् नेपालमा जुन विचारधाराको सत्ता सञ्चालन हुन्छ त्यही प्रकारको समाजवादको अभ्यास हुनेछ, त्यो पनि जसले १०÷१५ वर्ष एकलौटी शासन सञ्चालन गर्ने अवसर प्राप्त गर्दछ । यदी नेपालका कम्युनिष्टहरू साँच्चिकै रूपान्तरित भइ व्यवहार कार्यशैलीमा सच्चा कम्युनिष्ट हुनसकेमात्र नेपाली जनताले चाहेकोे समाजवाद सम्भव छ अन्यथा भारतको जस्तो पूँजीवादी राष्ट्रले अवलम्बन गरेको समाजवाद मात्र हुनेछ । जनता चाहन्छन समानतामूलक समाजवाद निर्माण होस्, जनता चाहन्छन् राज्यले गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी राज्यले गरोस्, जनता चाहन्छन् सबैको आर्थिक उन्नति समान होस् कोही धनी कोेही गरीब नहोउन्, जनता चाहन्छन् समतामूलक विकास होस्, जनता चाहन्छन् जातीय, लैङ्गिक, क्षेत्रीयरूपमा कोही विभेदमा नपरुन् यो नै सच्चा समाजवाद हो, जनताको समाजवाद हो, कम्युनिष्ट समाजवाद हो । तर राज्यले सुरक्षामात्र गरोस, अर्थतन्त्र बजारमा खुल्ला प्रतिस्पर्धामा छोडोस् सक्ने बाँच नसक्ने मर भन्ने जुन प्रणाली हो त्यो पूँजीवादी समाजवाद हो । हालको नेपाली कम्युनिष्ट आन्दोलनको अध्ययन गर्दा पूँजीवादी समाजतर्फ अगाडि बढ्ने खतरा छ । यसले हाम्रो जस्तो गरीब मुलुकका जनताको चाहाना आवश्यकता पूरा गर्न सक्दैन जसले गर्दा राज्य द्वन्द्वमा फसिरहने, देशमा लुछाचुडी भइरहने, विकासमा सधैं असमानता हुने, राज्य भन्दा व्यक्ति मोटाउने भइरहनेछ ।
राजनीतिक खिचातानीले देश थला प¥यो, न त देशको अर्थतन्त्रको विकास भयो न त भौतिक संरचनाको विकास हुनसक्यो । विकास भयो त केवल सत्ता मोह, भ्रष्टाचार, अनियमितता, कुशासन आदि आदि । परन्तु जनता चाहन्छन् कम्तीमा पनि स्थायी सरकार बनोस्, देश विकासको आधार संरचना निर्माण होस् । जनताको पक्षमा काम गर्ने एउटा जनमुखी पार्टी बनोस् । यही कुरा महसुस गरेर जनताले वामपन्थीलाई बहुमत दिलाए । जनताले समाजवादको सपना देखेर भोट हालेनन् की कम्तीमा पनि देशमा स्थायित्व कायम होस भनेर विश्वास गरे । अतः पार्टी एकता गर, जनताले चाहेको विकास गर, आर्थिक समृद्धितर्फ देशलाई हिडाऊ, यही नै जनताको भोटको कदर हुनेछ । मुख्यत जनता जनार्दन हुन, जनताको शक्तिलाई कदर गर, जनताको भावना अनुरूप अगाडि बढ । यो निर्वाचन नै सबैथोक होइन पुन चुनाव आउँछ । गठबन्धनलाई विचार, सिद्धान्त, स्पष्ट कार्यदिशासहित एकतामा
रूपान्तर गर, वामपन्थी पार्टी निर्माण गर्ने दिशामा लामबद्ध होऊ, वामपन्थी सरकार गठन गर, वामपन्थी कार्यशैली अवलम्बन गर, वाम मोडेलको विकास गर, अनि कम्युनिष्ट पार्टी बन्नेतिर बढ, ८÷१० वर्ष पछि थोरै भए पनि जनताले चाहेको समाजवाद उन्मुख जीवनशैली, कार्यशैली, राज्य व्यवस्था संरचना खडा हुनेछ । यसैमा देश र जनताको साथै कम्युनिष्ट आन्दोलनको भलो हुनेछ ।

प्रकाशित मितिः   २२ माघ २०७४, सोमबार १३:०१