पहिलो बैठकको कार्यसूची तयार
सुर्खेत, १९ माघ ।
प्रदेश सभाको पहिलो बैठकका लागि कार्यसूची तयार भएको छ । आइतवार बस्ने प्रदेश ६ को प्रदेश सभाको पहिलो बैठकमा छलफल हुने विषयहरूको टुङ्गो लगाइएको हो । प्रदेशसभा सचिवालयले शुक्रवार सर्वदलीय बैठकमार्फत् प्रदेश सभाको पहिलो बैठकमा पेश हुने कार्यसूचीमा सहमति जुटाएको हो ।
प्रदेशसभा सचिवालयका अनुसार पहिलो बैठकका लागि तीन वटा विषयको सूची बनाइएको छ । प्रदेश सभाको पहिलो बैठकमा सभामुख चयनका लागि मिति तय हुनेछ । यस्तै बैठक सञ्चालनका लागि आवश्यक कार्यविधिबारे पनि पहिलो बैठकमा छलफल हुने सचिवालयले जानकारी दिएको छ । प्रदेश संसदको पहिलो बैठकमा चार जना सदस्यहरूले मात्र बोल्ने सर्वदलीय सहमति भएको र सोही अनुसारको सूची तयार पारिएको हो । पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गरेका चार दलका एक–एक जना सदस्यले मात्र बोल्नेछन् ।
‘आइतवार दिउँसो १ बजे पहिलो बैठक बस्दैछ, हामीले बैठकका लागि कार्यसूची तयार पारेका छौं’ प्रदेशसभा सचिवालयका सचिव हरिकृष्ण खड्काले भने, ‘पहिलो बैठकले सभा सञ्चालनको कार्यविधिमाथि छलफल गर्नेछ, सभामुख चयनका लागि पनि मिति तय गर्नेछ । हामीले सभामुख चयनको मिति पनि प्रस्ताव गरेका छौं, माघ २९ गते सभामुख चयनका लागि निर्वाचन हुनेछ ।’ पहिलो बैठकमा मुख्यगरी तीन वटा विषयमा मात्र छलफल हुने खड्काले बताए । प्रदेश सभाको पहिलो बैठकको अध्यक्षता सभाका ज्येष्ठ सदस्य हिमबहादुर शाहीले गर्नेछन् । आइतवार पहिलो बैठक बस्ने भएपछि सचिवाल व्यवस्थापन, बैठक कक्षको सजावट र सिँगारको काम अन्तिम चरणमा पुगेको छ ।
क्षेत्रीय सिँचाइ विकास डिभिजनको हलमा बैठक बस्ने भएको हो । बैठक बसाल्नका लागि आवश्यक पूर्व तयारी भइसकेको सचिवालयका सचिव खड्काले बताए । उनले भने, ‘रंगरोगन र सजावटको काम सकिएको छ, आवश्यक फर्निचर पनि व्यवस्थापन गरेका छौं । दर्शकका लागि पनि बस्ने स्थानको व्यवस्थापन भएको छ, हामी सांसदहरूलाई बैठक कक्षमा स्वागत गर्न तयारी हालतमा छौं ।’ प्रदेश सभाका लागि शैक्षिक तालिम केन्द्रको भवन प्रस्ताव गरिएको छ । तर उक्त भवनमा मर्मत तथा सजावटका लागि समय लाग्ने भएकाले तत्कालका लागि सिँचाइको हलमा बैठक बसाल्न लागिएको हो । करिब दुई महिनासम्म बैठक बसाल्नुपर्ने भएकाले सिँचाइको भवन सिँगारेर चिटिक्क पारिएको छ ।
मुख्यमन्त्रीको कार्यालय स्थापना
प्रदेश नम्बर ६ को अस्थायी राजधानी सुर्खेतमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय स्थापना भएको छ । यसअघि मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय स्थापना गरिएको हो ।
यो प्रदेशमा आउँदो फागुन २ गतेसम्म प्रदेश सभाले मुख्यमन्त्रीको टुङ्गो लगाउने सम्भावना छ । यही सम्भावनालाई आत्मसात गर्दै शुक्रवार वीरेन्द्रनगरमा मुख्यमन्त्रीको कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापना भएसँगै कर्मचारीहरूले आफूहरू अब मुख्यमन्त्रीलाई स्वागत गर्न तयारी अवस्थामा रहेको बताएका छन् । कार्यालय स्थापना भएसँगै कर्मचारीहरू पनि उत्साहित देखिएका छन् ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रमुख सचिवमा नियुक्त भएका सुरेश प्रधानले शुक्रवार आफ्नो पदभार ग्रहण गरेका छन् । ‘यहाँ धेरै सम्भावना छन्, आवश्यक नीति निर्माण गर्दै काम गर्न सके समृद्ध प्रदेश बनाउन सकिन्छ’ प्रमुख सचिव प्रधानले भने,‘मेरो कार्यकालमा यो प्रदेशको समृद्धिका लागि पहल थाल्नेछु, पर्यटन र जलस्रोतको उपयोग गरेमा अन्य प्रदेशको तुलनामा यो प्रदेश सवल हुनेछ ।’ शुक्रबार नै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दुई जना सचिवलेसमेत पदवहाली गरेका छन् । प्रशासन सचिवमा यज्ञराज बोहोरा र कानुन सचिवमा केशवराज आचार्यले कार्यभार सम्हालेका हुन् । प्रशासन सचिव बोहोराले अवको एक साताभित्रै अन्य मन्त्रालयहरूको पनि व्यवस्थापन गरिसक्ने जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।