छाउपडीविरुद्ध संयुक्त विद्यार्थी संगठन

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ माघ ।
छाउपडी र विभिन्न कु–प्रथाविरुद्ध तीन विद्यार्थी संगठनले अभियान थालेका छन् । सामाजिक विकासमा अवरोध र समाज रूपान्तरको बाधकका रूपमा प्रदेश ६ र ७ मा छाउपडीले जरा गाडेको भन्दै संयुक्त विद्यार्थी संगठनहरूले छाउपडी विरुद्धको अभियान थालेका हुन् ।
नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेस निकट विद्यार्थी संगठनहरूले छाउपडी प्रभावित जिल्लाहरूमा अभियान थालेका हुन् । अभियानको पहिलो चरणमा प्रदेश ६ अन्तर्गत दैलेखको राकम कर्णाली र प्रदेश ७ अन्तर्गत अछामको मंगलशैनमा स्थलगत अनुगमन गरिएको छ । छाउ प्रभावित गाउँमा पुगेको विद्यार्थी संगठनले छाउपडीको अवस्था, अन्धविश्वासका कारकतत्वहरू समावेश गरी स्थलगत प्रतिवेदन तयार पारिएको बताएको छ । उक्त प्रतिवेदन छाउपडी अन्त्यका लागि सरकारलाई दबाब दिन प्रधानमन्त्री र उक्त मातहतका मन्त्रालयमा बुझाइने संयुक्त विद्यार्थी संगठनले जानकारी दिएको छ ।
विद्यार्थी संगठनहरूले छाउपडीविरुद्ध सरकारलाई दबाब दिन विभिन्न प्रतिबद्धता गरेका छन् । दबाब अन्तर्गत शिक्षा मन्त्रालयलाई प्रभावित जिल्लाका जिल्ला शिक्षा कार्यालयमार्फत् शिक्षक कर्मचारीहरूलाई अग्रसर गराउन निर्देशन गर्न लगाउने बताइएको छ । यस्तै, पाठ्यक्रममा छाउपडी कु–प्रथाबारे ज्ञान दिने उपयुक्त विषयवस्तु समावेश गर्न लगाउने जनाइएको छ । सामाजिक कु–प्रथामार्फत् पीडित भइ जीवन गुमाउने घरका अभिभावकलाई ज्यान मार्ने उद्योगमा कारबाही गर्नसक्ने कानुन निर्माण गर्न सरकारलाई दबाब दिइने प्रतिबद्धता विद्यार्थी संगठनले जनाएको छ ।
सिंहदरबारदेखि स्थानीय तहसम्म छाउपडि प्रथाको अन्त्यका लागि दबाब दिने गरी विद्यार्थी संगठनको नेतृत्व परिचालन गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नविना लामाले बताइन् । विद्यार्थी संगठनले राष्ट्रियता, सामाजिक, शिक्षाका मुद्दाविरुद्ध सरकारलाई दबाब दिने अभियानलाई तीव्र पारिने बताइन् । ‘महिला माथि पशु सरह भएको व्यवहारका कारण समाज रूपान्तरणमा चुनौती थपिएको छ’ उनले भनिन्, ‘शिक्षित र समाजका प्रतिष्ठित परिवारबाटै छाउप्रथा कायम छ ।
जसका लागि सरकारले सशक्त रूपमा कानुन कार्यान्वयन गर्नुपर्छ ।’ अभियानमा संलग्न नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाहीले महिला पुरुष समान हुन भन्ने भावना जगाउन ग्रामीण बस्तीहरूमा पनि विद्यार्थी संगठनहरूले विभिन्न क्रियाकलाप गर्ने बताए ।

प्रकाशित मितिः   २० माघ २०७४, शनिबार १५:१८