म्युजिक भिडियोदेखि चलचित्रतर्फ

छोटो समयममा नै दुई दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका नविन वलीको अभिनय यात्राले उचाइ लिदंै गएको छ ।
बराहतला गाउँपालिका वडा नम्बर ८ सुर्खेत निवासी नविन मोडलिङमा लागेको धेरै समय भएको छैन । तर एक वर्षको अवधिमै उनले आफूलाई कलाकारिता क्षेत्रमा स्थापित गराउँदै लगेका छन् । सुर्खेतकै सञ्चारकर्मी एवम् गीतकार नवराज शर्माको ‘आउनु है माया’ बोलको लोकदोहोरी गीतबाट म्युजिक भिडियोमा मोडलिङ करिअर सुरु गरेका वलीले एक वर्षको अवधिमा करिब दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।


यी सुर्खेती मोडलका एकपछि अर्को गर्दै धमाधम म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् । यसै साता मात्र उनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । खेमराज वलीको शब्द र स्वर रहेको ‘तिम्लाई सम्झी रुँदा…’ बोलको गीतमा उनले अभिनय गरेका छन् । रमेश विजीको लय तथा मानबहादुर वलीको छायांकन रहेको उक्त म्युजिक भिडियोको निर्देशन चन्द्र मन्दिरले गरेका हुन् ।
यसलगत्तै नविन पुरीको झ्याउरे गीतमा पनि मोडलिङ गर्दैछन्, वली । सुर्खेतकै चर्चित कलाकारद्वय टीका पुन र शीव संगीतको स्वर रहेको उक्त गीत पनि छायांकनको अन्तिम तयारीमा छ । यसरी लगातार एकपछि अर्को म्युजिक भिडियोमा अभिनय गरिरहेका वली मोडलिङमा जम्दै गएका छन् ।
म्युजिक भिडियोमा स्थापित हुँदै गएका उनको अभिनय यात्राले थप उचाइँ लिदैं गएको छ । अब चाँडै नै उनी चलचित्रमा समेत देखिने छन् । लालबहादुर जीएमले निर्माण गर्न लागेको चलचित्र ‘मिसन’मार्फत् उनी नेपाली चलचित्र क्षेत्रमा ‘डेब्यु’ गर्दैछन् । ‘म्युजिक भिडियोहरूमा अभिनय गरिरहेको थिएँ, लालबहादुर जिएमले फिल्म गरौं भन्नुभयो । अब चाँडै फिल्को पनि छायांकन हुँदैछ’ उनले भने ।
म्युजिकि भिडियोमा अभिनय गरेको अनुभवलाई अब चलचित्रमा पनि सदुपयोग गर्ने वलीको भनाइ छ । ‘म्युजिक भिडियोमा पनि म बढी अभिनयमा नै केन्द्रित हुँदै आएको छु’ उनले भने, ‘त्यसैले चलचित्रमा अभिनय गर्न गाह्रो हुने छैन ।’
कालकारितामार्फत् सुर्खेत र प्रदेश नं. ६ लाई देश तथा विदेशमा चिनाउने आफ्नो लक्ष्य रहेको बताउने वली नेपाल सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लमही दांगमा कार्यरत छन् । उनले विदाको समयलाई सदुपयोग गर्दै मोडलिङलाई अगाडि बढाइरहेका छन् । म्युजिक भिडियोमा अभिनयका साथसाथै उनले दुई वटा म्युजिक भिडियो निर्देशन गर्नुका साथै आफ्नै स्वरमा गीतसमेत बजारमा ल्याउँदै छन् । जागिर सँगसँगै अभिनयको क्षेत्रमा पनि अघि बढ्ने योजनामा रहेको बताउँछन् । ‘अभिनय र मोडलिङ मेरो रुचि हो’ वलीले भने, ‘यही क्षेत्रमार्फत् यो प्रदेशको पहिचानलाई थप उच्च बनाउन सधैं लागिरहने छु ।’

प्रकाशित मितिः   २० माघ २०७४, शनिबार १५:१६