पूर्वाधार र मञ्च व्यवस्थापन तीव्र
साझा बिसौनी संवाददाता
सुर्खेत, १८ माघ ।
प्रदेश नम्बर ६ को आर्थिक समृद्धिका लागि सुर्खेतमा प्रदेशस्तरीय महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सव उद्घाटनको दिन नजिकिदैं गर्दा वीरेन्द्रनगरमा मञ्च व्यवस्थापन र भौतिक पूर्वाधारको तयारीको काम चलिरहेको छ । यही माघ २६ गतेबाट सुरु हुने महोत्सवका लागि वीरेन्द्रनगरमा रहेको खुला मञ्चमा स्टल निर्माण, मञ्च व्यवस्थापन र तारबारको काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।
उद्योग वाणिज्य संघ प्रदेश नम्बर ६ को आयोजनामा महोत्सव हुन लागेको हो । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब १५ करोडको आर्थिक कारोबार हुने आयोजकले दाबी गरेका छन् । प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव नाम दिइएको यो महोत्सवको तयारी तीव्र गतिमा भइरहेको बताइएको छ । महोत्सव सञ्चालन हुने खुल्ला मञ्चमा आवश्यक घेरबार, स्टल निर्माण, प्रचार–प्रसार, स्रोतको खोजी, प्रायोजकहरूको खोजी थालिएको छ ।
यो प्रदेशमा उत्पादन हुने वस्तु तथा सामग्रीको बजारीकरणका लागि आयोजना गरिएको महोत्सवमा प्रदेशका १० वटै जिल्लाको प्रतिनिधित्व हुनेछ । महोत्सवका लागि यस प्रदेशका १० वटै उद्योग वाणिज्य संघका जिल्ला शाखाहरूको सहभागिता रहनेछ । संघका जिल्ला शाखाको नेतृत्वमा १० जिल्लाबाट औद्योगिक, व्यापार, पर्यटन तथा कृषिका सामग्रीहरूको स्टलहरू निःशुल्क प्रदर्शनीमा राखिने उद्योग वाणिज्य संघ प्रदेश नम्बर ६ ले बताएको छ । ग्रामीण क्षेत्रमा उत्पादन भएका वस्तुहरूको बजारीकरण र उद्योग व्यापारमार्फत् प्रदेशको समृद्धिका लागि महोत्सव आयोजना गरिएको हो । महोत्सवमा घरेलु, लघु, कृषि उत्पादनलाई प्राथमिकताका साथ प्रदर्शनीमा राखिने उद्योग वाणिज्य संघ प्रदेश नम्बर ६ का अध्यक्ष पदमबहादुर शाहीले बताए ।
यस्तै यो प्रदेशमा लोपउन्मुख अवस्थामा रहेका कला र संस्कृतिको संरक्षणका लागि पनि स्थानीय कला सांस्कृतिलाई पनि प्रदर्शनी गरिने छ । ‘यो प्रदेश कला र संस्कृतिमा पनि धनी छ’ शाहीले भने, ‘महोत्सवमा कर्णालीको संस्कृति झल्कने कला प्रदर्शन हुनेछन्, स्थानीय उत्पादन पनि महोत्सवमा पाइनेछन् । यसले आर्थिक कारोबार चलायमान हुनेछ, प्रदेशको समग्र आर्थिक पक्षको विकास र विस्तारका लागि महोत्सव आयोजना गरिएको हो ।’ उनले यो प्रदेश समृद्धिको बलियो आधारका रूपमा जलस्रोत, उच्च मूल्य भएका कृषि उत्पादन, पर्यटन, खानी खनिज तथा जडिबुटी, स्थानीय कला संस्कृति, स्थानीय हस्तकलाका उत्पादन र व्यापार व्यवसाय प्रबद्र्धनका लागि अस्थायी राजधानीमै महोत्सव आयोजना गरिएको बताए ।
आयोजकका अनुसार महोत्सवका लागि धमाधम स्टलहरू बुकिङ्ग भइरहेका छन् । हालसम्म सबैभन्दा बढी होटेलका स्टलहरू बुकिङ्ग भएको बताइएको छ । महोत्सवमा पाँच सय स्टल राख्ने लक्ष्य भए पनि स्थानीय व्यवसायीको सहभागिता बढेका कारण स्टलको संख्या बढ्नसक्ने अध्यक्ष शाहीले बताए । ‘महोत्सवले व्यवसाय र व्यापारी बीचको समवन्ध स्थापित हुने विश्वास लिएका छौं’ शाहीले भने, ‘स्थानीय व्यापारीहरूबाट उत्साहका साथ स्टल बुकिङ्ग भइरहेको छ ।’
महोत्सवमा व्यावसायीहरूको आकर्षण बढेसँगै आम्दानीमा पनि वृद्धि हुने भएकाले स्थानीय उत्पादनको खपत बढ्ने उनको भनाइ छ । प्रदेश तहका उत्पादनलाई आम उपभोक्तासम्म पु¥याउने र बिक्रेता र क्रेताबीचको सम्वन्ध स्थापित गर्नु महोत्सवको
मुख्य ध्येय रहेको उनले बताए । स्थानीय उत्पादनबाहेक बाह्य सामग्रीको बिक्री वितरणका लागि समूहगत रूपमा शुल्क निर्धारण गरिएको छ । महोत्सवका दर्शकका लागि विगतका वर्ष झइ यसवर्ष पनि ५० रूपैयाँ प्रवेश शुल्क तोकिएको छ । महोत्सव सचिवालयका अनुसार स्टल बुकिङ्गका लागि न्यूनतम १२ हजारदेखि ३० हजारसम्म शुल्क निर्धारण गरिएको छ । अटोमोवाइल, होटल तथा रेष्टुरेन्टको स्टलका लागि ३० हजार रूपैयाँ निर्धारण गरिएको छ । दैनिक उपभोग्य खाद्यान्न, तयारी पोषाक, जुत्ता, चप्पल र कस्मेटिक सामग्रीको स्टलका लागि २० हजार शुल्क तोकिएको छ । यस्तै, आइसक्रिमको स्टलका लागि २५ हजार, आईटी, जडिबुटी र हस्तकलाको स्टलका लागि १५ हजार र कृषि तथा पशुपालन स्टलका लागि १२ हजार रूपैयाँ तोकिएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका चर्चित कलाकारहरूले आफ्नो कला प्रस्तुत गर्नेछन् । पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने दाबी आयोजकको रहेको छ । प्रदेश भित्रका उद्योगीबीच भावनात्मक सम्बन्ध बढाउन र उच्च मूल्य भएका निकासी योग्य वस्तुहरूको विक्रिवितरण हुने भएकाले पनि महोत्सव फलदायी हुने उनको भनाइ छ । विगतका महोत्सव भन्दा यो महोत्सव पृथक हुने अध्यक्ष शाहीको भनाइ छ । महोत्सवमा मुख्य आकषर्णको रूपमा उँट र अष्टिज चरा रहने बताइएको छ ।
साझा बिसौनी संवाददाता ।