सर्वदलीय बैठक बस्दै

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ माघ ।
प्रदेश नं. ६ को पहिलो प्रदेशसभा वैठकको तयारीका लागि सर्वदलीय छलफल गरिने भएको छ । प्रदेश संसद सचिवालयले आज (शुक्रवार) बिहान ११ बजे अस्थायी प्रदेश संसद् भवन सिँचाइ विकास डिभिजनको कार्यालयमा बैठक आव्हान गरेको हो ।
प्रदेश सभामा प्रतिनिधित्व गरेका दलहरूबीच हुने बैठकमा २१ गते बस्ने पहिलो प्रदेश सभाको तयारीका बारेमा छलफल हुने प्रदेश संसद् सचिव हरीकृष्ण खड्काले बताए । उनले संघीय संरचना अनुसार बस्न लागेको पहिलो प्रदेश सभाको तयारी बारे छलफल गरिने बताए । हाल संसद बैठक बस्नका लागि आवश्यक संरचना निर्माणको काम तीव्र पारिएको उनले जानकारी दिए । ‘रातदिन नभनी काम गरिरहेका छौं’ उनले भने, ‘सर्वदलीय वैठक कक्ष निर्माण गरियो । भोलिसम्म संसद बैठक कक्षसमेत निर्माण हुन्छ ।’
हाल उनले कर्मचारी प्रयाप्त नभएकाले संसद सञ्चालनका लागि चुनौतीपूर्ण बन्दै गएको बताए । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरूका प्रतिनिधिहरूको सहभागिता हुनेछ । यस प्रदेशमा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपा नेपालको प्रतिनिधित्व छ ।

प्रकाशित मितिः   १९ माघ २०७४, शुक्रबार १६:०४