झुटको खेती गरेर राजनीति

एन योगी ‘आस्था’
१० वर्ष लामो जनयुद्ध होस् या २०६२/०६३ कै जनआन्दोलन किन नहोस् । यस बीचमा १७ हजार भन्दा बढी नागरिकले यो देशको माटो रगतले सिंचेका छन् । हजारौं व्यक्तिहरू अपांगता भएका छन् । चेतनशील प्रवुद्ध व्यक्ति हुन् या जो कोही हुन्, नेताले भाषण गरे जसरी स्वीजरल्याड र जापान यो देशलाई बनाइ हाल्छन् कि भन्ने विश्वासमा थिए जनता ।


तर ‘एकाएक, रातारात धर्म निरपेक्षतामा र संघीयतामा भने कायाप्लट गरे पनि’ अब के गर्नु र ‘न’लाउनु माया जुठेले लाइहाल्यो’ भनेजस्तै संघीयता कार्यान्वयनका चरण अन्तर्गत प्रान्तीय राज्यहरू अस्थायी रूपमा स्थापित भइसके । संघीयताले देशलाई सिध्याउँछ कि माथि उठाउँछ त्यो त गर्भमै छ । तर पूर्वपश्चिम र दक्षिणबाट भारतले कोखाइ–कोखाइ गर्दै नेपालालाई सानो–सानो गास बनाएर निल्न मुख आँ गरिसकेको त होइन ? होइन भने विभिन्न कालखण्डमा भएका सुगौली सन्धीका सीमा स्तम्भहरू रातारात गायव बनाएर किन नयाँ सीमा स्तम्भहरू यो र त्यो वहानामा पचासौं विगाहा जमिन भारतको सीमापारी बनाएर स्थापित गरिदै छ ? एउटा सामान्य देशभक्त नागरिकको मन मुटु पोल्यो र आफ्नै अस्तित्व हराउँदै गएको अनुभूत हुनु स्वभाविक हो ।
राज्यविहीन जस्ता नागरिकले हातमा जग्गाको पूर्जा लिएर नेपाली बन्ने कि भारतीय, सबै चिज भारतकै सिको गर्नेले भारतको पनि सीमा मिच्ने सिको किन नसिकेको ? भारतमा ११ र १२ कक्षा धेरै पहिलादेखि सुरु थियो । त्यही सिको केही पहिलादेखि नेपालमा पनि भित्रिहाल्यो । बोर्डिङ्ग स्कुलहरूमा एउटा तीन वर्षकै बच्चालाई स्कुल हाल्दा पनि तीन वर्षपछि कक्षा १ मा जान्छ । ११ र १२ कक्षा सम्म पुग्दा उसलाई १५ वर्ष लगाएको लगानी कुनै अभिभावकले व्यापार र व्यवसायमा लगाउने हो भने सानोतिनो अघुउद्योग नै गर्न सक्छ । पढाइ–पढाइ भन्दै व्यवहारिक शिक्षा नलिएर अघि बढेका युवाहरू बेरोजगारी भएर ३०–४० वर्षको उमेरमा खाडी मुलुकमा पुगेर रगत–पसिनाले विदेशी मुलुकमा बालुवा र मरभूमिमा सिंचिरहेका हुन्छन् र त्यहाँ सुन फलाइरहेका हुन्छन् । आफ्ना भने घर–आँगनका मलिला बारी र पाटाहरू बाँझै रहेका हुन्छन् । सरकारी तथ्यांकले नै नेपालमा ८० प्रतिशत नागरिक कृषिमा निर्भर रहेको भन्दै कृषि प्रधान देश भन्ने गरेको छ । त्यसकारण कक्षा १ देखि ८ सम्म आधारभूत शिक्षा र ९ कक्षादेखि नै सम्बन्धित व्यवसायिक व्यवहारिक शिक्षा प्रणालीको विकास गरी सम्बन्धित व्यवहारिक शिक्षाबाटै काम र अनुभवको आधारमा सीटीइभीटीबाट सम्बन्धित विषयमा पीएचडीसम्म हासिल गराउन सक्ने प्राबधान
बनाइनुपर्दछ । तब मात्र सही समयमा सही साधन, स्रोत र उचित जनशक्तिको उचित स्थानमा प्ररिचालन हुनसकेमा नै आर्थिक विकासको पदोन्नति हुनसक्ने हो ।
देश र जनताबीच स्पष्ट खाका दिन नसक्ने, लक्ष र उद्देश्य केही पनि छैन । केवल जनता माझ झुठा आस्वासन देखाएर थुतुनो चलाउने, हात र वुद्धि चलाएर रातारात नाम र दाम कसरी कमाउने, आफ्नै परिवारको जीवनस्तर माथि उठाउनमै तल्लीन नेताहरूलाई आफ्नै उद्देश्य र कर्तव्यबोध कै अनुभूत छैन, अनि त नेता माथि, देश र जनता सधैं मुनी भएको परिस्थिति छ । एउटा राजा फ्याँकेर सात वटा राजाको चंगुलमा देश फस्ने त होइन ? होइन भने पहिला लाखौं खर्चेर चुनाव जित्नकै होडबाजी, जितिसकेपछि सरकार र सत्ता चलाउन मै खिचातानी, खोलिएका उद्योगधन्दाहरू सयौं ठप्प छन् । यसतर्फ कसैको ध्यान छैन । के संघीयताले नै उद्योगधन्दा खोलि दिएर युवा रोजगारी दिलाएर देशको अरबौंको आयात–निर्यातलाई रोकावट ल्याउने हो र ?
स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको छ । संघीयतामा देशलाई लाद्नु नै थियो भने पनि संविधानमा नै उल्लेख गरी पाँच वटै विकास क्षेत्रलाई संघीय राज्य बनाइ दिएको भए सायद राज्यले अरबौं–खरबौंको आर्थिक भार खेप्नु पर्ने थिएन । ठाउँ–ठाउँमा हाम्रो जिल्लालाई पनि संघीय राज्य चाहियो भनेर जनता सडकमा उत्रिएर आन्दोलित बनेर धनजनको कैयन क्षति पुग्ने थिएन । एउटा प्रान्तीय नमुना राज्य स्थापना गरेर देखाए पनि त हुनेथियो केही वर्षको लागि । प्राचीन शासक र संरचनाहरू के सबै नराम्रै छन् र ? राम्रा नराम्रा पुरै संरचनाहरू भत्काउने नै हो भने एकाएक नाराबाजी जस्तै स्वीजरल्याण्ड, अष्ट्रेलिया र जापान बनाए भयो नि । किन राष्ट्रविहीन नागरिक जसरी सीमावर्तीका जनताहरू (चाँदनी, दोधारा, छपकैया र दशगजा) चित्कार खाएर चित्कार मै बाँच्नु परेको छ ? सीमावर्ती नेपालीले कति चुनौतीहरू भोग्नुपरेको छ । बिरामी कहिले परिन्छ भनेर बैंकक र हंकङ स्वास्थ्य परीक्षण गराउने नेताहरूलाई के थाहा ?
केन्द्रबाट जुन जिल्लामा गयो, त्यही राज्य बनाइ दिन्छौं भन्ने आस्वासन दिने सपथ खान जाँदा र भाषण ठोक्न जाँदा हेलिकप्टर चार्टर ग¥यो अन एक पटक जितेपछि निर्धा र निमुखा जनताको रगत पसिना उडुस–उपिया बनेर चुस्नेलाइै के थाहा जनताको मर्म ? जनतालाई मालिक बनाउँछौं भन्नेहरू, पहिल्यै आफू सालिक भए देशकै ढुकुटी रित्याएर, महल पनि उपहार पायौ भन्नेहरू सधैं सुख भोग गर्ने भए जनता भने असुरक्षा, अभाव र चित्कार मै बाँच्ने भए ।
आर्थिक सामाजिक रूपान्तरण गर्छौं हामीलाई भोट मात्र दिएर जिताउनुस् राष्ट्र निर्माणमा लाग्छौं भन्नेहरू आफ्नै हालमा डाडुपन्यू लिएपछि आफ्ना सुख–सुविधाका नियम–कानुन बनाएर मात्र समय खर्चने भए । जागिर मुख चलाएर कहाँ खान पाइन्छ र बुद्धि, विवेक, सीप लगाएर लोकसेवामा नाम निकाल्न सक्नुप¥यो नि, सुविधा भर्न तलब र पेन्सन चाहियो । म जाजरकोट गएको समयमा एक जना महिलालाई मैले सोधेँ, ‘उनी को हुन् आमा ?’ उनले भनिन्, ‘को हुनु नानी, नाक काँटी गादौनो हाली राणले, मुख क्यान देखाउँछे कुन्नी, बुहारी हो ।’ किन त्यसो भनिन् मैले अर्थ बुझन् सकिनँ । तर त्यही विगतको भनाइ याद आउँछ मलाई यी नेताहरूले आफ्ना सुख सुविधामा मात्र तल्लीन भएको सुन्दा र देख्दा ।

प्रकाशित मितिः   १९ माघ २०७४, शुक्रबार १६:०३