काठसहित तीन जना पक्राउ

सुर्खेत, १७ माघ ।
पछिल्लो समय जिल्लामा काठको तस्करी बढ्दै गएको छ । अवैध रूपमा काठ तस्करी हुन थालेपछि जिल्ला वन कार्यालय सुर्खेतले निगरानी बढाएसँगै काठ तस्करी संलग्न व्यक्तिहरू पक्राउ पर्न थालेका छन् । सोमवार वीरेन्द्रनगर–१० स्थित नौमूले फर्निचर उद्योगमा छापा मार्दा एक सय सात थान चिरान काठ नियन्त्रण लिएको जिल्ला वनले बुधवार पनि तीन जनालाई पक्राउ गरेको छ ।


चिरान काठ लोड गरेर ओसार–पसार गर्ने क्रममा जिल्ला वनको टोलीले ट्याक्टरसहित तीन जनालाई पक्राउ गरेको हो । गुर्भाकोट नगरपालिका–१२ शुभाघाटबाट भे १ त २३१७ नम्बरको ट्याक्टरमा ल्याउँदै गरेको अवैध चिरान काठसहित तीन जनालाई पक्राउ परेको कार्यालयले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा ट्याक्टर चालक भुपेन्द्र बुढा, सह–चालक सुनिलकुमार बुढा र सहयोगी मानबहादुर कठायत रहेको जिल्ला वन कार्यालयका वन अधिकृत हेमराज विष्टले बताए । उनका अनुसार एक सय सात थान अर्थात् ५६ दशमलब ४० क्यूफिट सालको चिरान काठ बरामद गरिएको छ । पक्राउ परेका तीनै जनालाई माथि थप छानविन सुरू गरिएको छ । जिल्लामा काठ तस्करीमा संलग्न व्यक्तिहरू पक्राउ परे पनि तस्करहरू भने कानुनी दायरामा आउन सकेका छैनन् । जसले गर्दा काठ तस्करी रोक्न चुनौती बनेको वन अधिकृत विष्टले बताए ।