बेवास्तामा परेको बराहताल

सुर्खेत जिल्लाका प्रमुख पर्यटकीय स्थलहरूमध्ये एक हो, बराहताल । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ४ मा अवस्थित यो ताल आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावनाहरू छन् । स्थानीयहरूका अनुसार ताल करिब १६ विगाह क्षेत्रफलमा फैलिएको छ । भेरी नदीको करिब एक सय ५० मिटर उचाईमा अवस्थित यो तालमा विभिन्न समयमा अनौठा प्रजातीका चराहरू देख्न सकिन्छ । तालको नजिकै हरेक नयाँ वर्षको दिन मेला लाग्ने गर्दछ ।


भेरी नदीसम्म सवारी साधन जान्छ । त्यसपछि करिब आधा घण्टा पैदल हिँडेपछि बराहताल पुगिन्छ । वरिपरि अग्ला डाँडाले घेरिएको जंगलको बीचमा रहेको ताल निक्कै सुन्दर छ । तालको छेउछाउमा जलकुम्भी लगायतका झारले ताललाई केही अशोभनिए त बनाएको छ । तालको बीचमा चराहरू पौडिरहेका दृष्यले आनन्दित बनाउँछ । स्थानीयका अनुसार तालमा कुनै फोहोर भएमा, पातहरू परेमा चराहरूले नै सफा गर्दछन् ।

कसरी भयो उत्पत्ति ?


तालको उत्पतिको बारेमा भने यहाँका स्थानीयवासीहरूको फरक–फरक धारणा पाइन्छ । कतिपयका अनुसार करिब दुई सय ५० देखि दुई सय ८० वर्ष पहिले पृथ्वीनारायण शाहले २२ राज्य एकीकरण गर्दा दैलेख, जाजरकोट लगायतका राज्यका भुरे टाकुरेहरू भागेर यहाँ आएका थिए । राती सपनामा बहार देवता प्रकट भइ आफ्नो शरणमा आएकाले ‘तिमीहरूको सुरक्षा म गर्छु’ भनेपछि उनीहरूले नै पूजा गर्न थालेपछि ताल उत्पन्न भएको भनाइ एक थरीको छ । तर अर्का थरीको भनाइ अनुसार धेरै वर्ष पहिले अहिले ताल भएको ठाउँमा खुला मैदान थियो । सो मैदानमा पाँच घर राजीहरू बस्दथे । राजीहरूले उक्त ठाउँमा फोहोर गरेपछि तालको पूर्वतर्फ रहेको भीरबाट राजीहरूले उक्त ठाउँ छोडेर जाउ भन्ने एउटा वाणी सुनियो । तर राजीहरूले त्यसको प्रतिकार गर्न खोजेपछि त्यही भीरबाट पानीको भेल आयो । त्यही भेलले पुरेर अरु राजीहरूको मृत्यु भयो तर एक जना राजी भागेर बाँच्न सफल भए । त्यसपछि त्यहाँ ताल उत्पन्न भएको हो भन्नेहरू पनि भेटिन्छन् ।

संरक्षणको पर्खाइमा


तालको उत्पत्ति जे जसरी भए पनि ताल निकै आकर्षक छ । तर संरक्षण र सम्वद्र्धनको अभाव, खहरे खोलाले बगाएर ल्याउने माटोले पुरिदै जानु, किनारका रुखहरू ढलेर कुरूप बनाउनुका साथै जलकुम्भी, लेउ, पटारो जस्ता झारहरूले ताललाई कुरूप बनाएका छन् । पशुचरण र वन विनाशले तालवरीपरिको जंगल उजाड बन्दै गएको छ । राम्रो यातायातको सुविधा छैन । यावत समस्या रहेको भए पनि बराहतालको विकास र प्रचार प्रसार हुन सके यस क्षेत्रको प्रमुख पर्यटकीय केन्द्र बन्ने निश्चित छ ।
ऐतिहासिक तथा पुरातन र पर्यटकीय सम्भावना बोकेको रमणीय यस बराहतालको संरक्षण, पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार विकास गर्नसकेको खण्डमा समग्र सुर्खेत जिल्लाकै पहिचान दिन सफल हुनेछ । प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनहरू भिœयाउन सके तरंगाबासीको आर्थिक प्रगति हुने देखिन्छ । यसका लागि भौतिक पूर्वाधार निर्माणमा सरकारी निकायले ध्यान दिन जरुरी छ । तालसम्म पुग्ने सहज यातायातका लागि हुर्के–बराहताल सडकको स्तरोन्नत्ति अपरिहार्य छ ।

प्रकाशित मितिः   १८ माघ २०७४, बिहीबार १५:४७