सिम्ताले बनायो ऐन
सुर्खेत, १७ माघ ।
सुर्खेतको सिम्ता गाउँपालिकाले प्रदेश नम्बर ६ मा नै पहिलो पटक विभिन्न १० वटा ऐन, कार्यविधि र निर्देशिका बनाएको छ । दुई दिनसम्म सञ्चालन भएको पहिलो हिउँदे अधिवेशनले ऐन, कार्यविधि र निर्देशिका पारित गर्दै विभीन्न समितिहरूलाई पूर्णता दिएको हो । साथै अधिवेशनले पर्यटन क्षेत्र र महŒवका सडक घोषणासमेत गरेको छ ।
अधिवेशनबाट स्थानीय स्वास्थ्य तथा सरसफाइ ऐन, पूर्वाधार विकास ऐन, सहकारी ऐन, कृषि व्यवसाय प्रबद्र्धन ऐन, शिक्षा ऐन र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन पारित गरिएको सिम्ता गाउँपालिकाले जनाएको छ । यस्तै, बजार अनुगमन निर्देशिका र पदाधिकारीको आचार संहिता निर्देशिका एवम् गाउँसभा सञ्चालन तथा व्यवस्थापन कार्यविधि र आधारभूत शिक्षा परिक्षा सञ्चालन अनुगमन तथा व्यवस्थापन कार्यविधि पारित गरिएको छ ।
गाउँपालिकामा विधिको शासन सञ्चालनका लागि ऐन, कार्यविधि र निर्देशिका कोषेढुङ्गा बन्ने गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले बताए । नेपालको संविधान २०७२ अनुसार अब पारित भएका ऐन, कार्यविधि र निर्देशिकालाई गाउँपालिकास्तरको राजपत्रमा प्रकाशित गरी कार्यन्वयन गरिनेछ । राजपत्रमा प्रकाशित भएका ऐन, कार्यविधि र निर्देशिकालाई प्रदेश सरकार र केन्द्र सरकारमासमेत उपलव्ध गराउने व्यवस्था छ ।
सिम्ताको हिउँदे अधिवेशनले विभिन्न समितिहरूलाई पूर्णतासमेत दिएको छ । जस अनुसार गाउँपालिकाका उपाध्यक्ष पूर्णकला शाही संयोजक तथा नेत्रलाल महतरा र मोहन चन्द सदस्य रहनेगरी न्याय समिति बनाइएको छ । यस्तै लोकबहादुर शाही संयोजक तथा भीमबहादुर बस्नेत र दीपा सुनार सदस्य रहने गरी लेखा समिति, कविराज योगी संयोजक तथा कालिका शाही र कले महतरा सदस्य रहने गरी सुशासन समिति बनाइएको छ । नेत्रलाल महतरा संयोजक रहेको विधायन समितिमा मोहन चन्द र रणबहादुर आरसी सदस्य रहेका छन् । अधिवेशनले राजकाँडा दरबारदेखि कोटको थुम्कोसम्म, दहदेखि तामाचुलीसम्म र राकमदेखि छेडा बजारसम्म गरी तीन वटा पर्यटन क्षेत्र घोषणा गरेको छ । तीन वटा महŒवका सडकसमेत घोषणा गरी विकास गर्ने निर्णय पनि गरिएको छ । जसअन्तर्गत बाँहखर्क–गान्द्रा, काफलकोट–देउली–दह र डाँडाखाली हुँदै जामुने बजार जोडिने सडकलाई सहिद ऋषि स्मृति चक्रपथ घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष केसीले बताए । प्रदेशको राजधानी वीरेन्द्रनगरसँग सिम्तालाई जोड्नेगरी जामुने–आली–दुनी–दह र आरनटुँडा हुँदै धुलियाविटसम्म सहिद इन्द्र बिसी द्रुत मार्ग घोषणा भएको छ । हिँउदे अधिवेशनसमेत सबैभन्दा पहिला गरेको सिम्ता गाउँपालिकाले गोजी र जुम्लेअम्रै हुँदै आली जोडिने गरी सिम्ता मिनी चक्रपथको घोषणा गरेको छ ।
साझा बिसौनी संवाददाता ।