खडेरीले एक अर्बको खाद्यबाली नष्ट

साझा बिसौनी संवाददाता
जुम्ला, २ जेठ ।
लामो समयदेखिको सुख्खा खडेरीका कारण कर्णालीमा एक अर्ब ४० करोडको खाद्यबाली नष्ट भएको छ । खडेरीले सबैभन्दा ठूलो मारमा मुगु जिल्ला परेको छ । २४ गाविसको मुगु जिल्लाका १२ गाविस निकै सङ्कटग्रस्त र १२ गाविस सङ्कटोन्मुख अवस्थामा रहेको जिल्ला कृषि विकास कार्यालय, मुगुका वरिष्ठ कृषि विकास अधिकृत डा. चन्दप्रसाद रिसालले जानकारी दिए । उनले भने, ‘बर्खे बालीमा ४०–६० र हिउँदे बालीमा ७५–८० प्रतिशत खाद्यान्न बालीमा ह्रास आएको छ । उनका अनुसार अहिले पनि ११ हजार पाँच सय ७८ मेट्रिक टन खाद्यान्न आवश्यक परेको छ ।
त्यसैगरी, विगत ४० वर्षकै लामो खडेरीका कारण ३० गाविसको कालिकोट जिल्लामा ३९ करोड बराबरको खाद्यबाली उत्पादनमा ह्रास आएको वरिष्ठ कृषि विकास अधिकृत सुनिल सिंहले जनाए । वरिष्ठ अधिकृत सिंहले हिउँदे र बर्खे खाद्यान्न बाली गरेर ३४ देखि ५० प्रतिशत बाली उत्पादनमा कमी आएको बताए । राष्ट्रिय जनगणना–२०६८ अनुसार यहाँका ८४ प्रतिशत जनतालाई अहिले पनि तीन महिना खान पुग्दैन, जसले गर्दा यहाँ निकै विकराल अवस्था छ, उनले भने । अहिले कामका लागि खाद्यान्न कार्यक्रम लागू हुनुपर्ने जिल्लावासीको माग छ ।
खडेरीले २७ गाविसको हुम्लामा ११ करोड १७ लाख ७१ हजार पाँच सय ७० बराबरको खाद्य बालीमा क्षति पुगेको योजना अधिकृत केबी रोकायाले जानकारी दिए । योजना अधिकृत रोकायाका अनुसार त्यहाँको खाद्यबाली उत्पादनमा २४ देखि ८० प्रतिशत ह्रास आएको छ । खडेरीले गर्दा एक हजार चार सय ९० मेट्रिक टन खाद्य बालीमा ह्रास आएको र नौ हजार तीन सय ५३ घरधुरी त्यसबाट प्रभावित भएको
उनको भनाइ छ । यता २३ गाविसको डोल्पा जिल्ला पनि खडेरीबाट निकै प्रभावित भएको छ । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने साल्दाङ, भिजेर, धो, तिञ्ज, छार्का र मुकोटलगायतका छ गाविस उच्चतम खाद्य असुरक्षित अवस्थामा रहेको डोल्पाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत भीमबहादुर धरालाले जानकारी दिए ।
अधिकृत धरालाले १७ वटा गाविस मध्यमस्तरीय खाद्य असुरक्षित अवस्थामा रहेको बताए । योजना अधिकृत भानुभक्त भट्टराईले खाद्यबालीको हिसाब गर्दा नौ करोड १९ लाख ६० हजार बराबर उत्पादनमा ह्रास आएको छ । तथापि जनताको लगानी श्रमलाई जोड्दा झन्डै २० करोड क्षति भएको उनको भनाइ छ । खडेरीबाट जुम्ला पनि अछुतो छैन । यसवर्ष खडेरीबाट जुम्लाको खाद्यबालीमा ३०–४० प्रतिशत उत्पादनमा ह्रास आएको निमित्त वरिष्ठ कृषि विकास अधिकृत विष्णुबहादुर महतले जानकारी दिए । जसका कारण जिल्लालाई २५ करोड बराबर क्षति भएको अधिकृत महतको भनाइ छ ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७३, सोमबार ११:२४