बालविवाह गर्नेलाई सुविधाबाट वञ्चित

सुर्खेत, १६ माघ ।
जनज्ञान भण्डार माध्यमिक विद्यालय मालारानीमा अध्ययनरत विद्यार्थीहरूमा बढदो बालविवाह हुने गरेको पाइएपछि विद्यालयले बालविवाह गर्ने बालबालिकाहरूलाई विद्यालयबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गर्ने भएको छ ।
एलपी कार्यक्रम अन्तर्गत इन्सेक सुर्खेतद्वारा जनज्ञान भण्डार माविमा आयोजित विद्यार्थी र विद्यालयको सवाल विषयक बैठकमा सहभागी जनप्रतिनिधि, अभिभावक र विद्यालय व्यवस्थापन समितिले बालविवाह गर्ने विद्यार्थीहरूलाई छात्रावृत्ति र पाठयपुस्तक उपलब्ध गराउने लगायतका सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको हो ।
बैठकले इन्सेकद्वारा गठित मानवअधिकार निगरानी समूहकोसँग समन्वयमा सो माविले आगामी फागुन महिनामा बालविवाह गर्ने बालबालिका, उनीहरूका अभिभावक, बालअधिकार चेतना समूहका पदाधिकारी र अन्य विद्यार्थीहरूको सहभागितामा बालविवाहविरुद्ध एकदिने अभिमुखीकरण गर्ने निर्णय समेत गरेको छ । समयमा विद्यालय नआउने, पूरा समय अध्यापन नगराउने शिक्षक–शिक्षिकाहरूलाई विव्यसले कारबाहीको दायरामा ल्याउन सिफारिस गर्ने र विद्यार्थीहरूले कक्षा छोडने प्रवृत्तिलाई न्यूनीकरण गर्न दिनमा दुईपटक हाजिरी लगाउने बैठकले निर्णय पनि गरेको छ ।
बढ्दो बालविवाहसँगै सो माविको शिक्षाको गुणस्तर खस्कदै गएको र विद्यालयको शैक्षिक वातावरण धुमलिदैं गएकोले यस्तो निर्णय गरिएको सो माविका प्राधानाध्यापक चन्द्रनारायण चौधरीले बताए । सो माविमा यस वर्ष मात्रै बालविवाह गरेका कक्षा १० मा १०, नौ मा ४, आठमा १०, सातमा २ र ६ मा ५ जना गरी २७ जना अध्ययनरत छन् । बैठकमा गुर्भाकोट नगरपालिका–२ का वडाध्यक्ष नोखबहादुर वली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण केसीले बढ्दो बालविवाह, शिक्षकहरूको लापरबाही, अभिभावकहरूको बेवास्ता तथा विद्यार्थीहरूले कक्षा छोड्ने प्रवृतिका कारण सो माविको शिक्षाको गुणस्तर वर्षेनी खस्कदै गएको औंल्याएका थिए ।
स्थानीय निकायका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, विव्यसका पदाधिकारी, अभिभावक, मानवअधिकार निगरानी समूह मालारानीका पदाधिकारी, शिक्षक–शिक्षिका, बालअधिकार चेतना समूहको पदाधिकारी र अन्य विद्यार्थीहरूको सहभागिता रहेको बैठकको सहजीकरण इन्सेक जिल्ला कार्यक्रम सहजकर्ता दुर्गा थापाले गरेका थिए ।

प्रकाशित मितिः   १७ माघ २०७४, बुधबार १५:४१