प्राविधिक शिक्षा अध्यापन गराइने

सुर्खेत, १६ माघ ।
शिव माध्यमिक विद्यालय धुलियाविटले प्राविधिक शिक्षा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेको छ । भेटनेरी जेटीए १८ महिने पशु विज्ञानतर्फ आगामी २०७५ शैक्षिक सत्रदेखि सञ्चालनको तयारीमा लागेको छ ।
प्राविधिक शिक्षा कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारीका लागि अभियान सञ्चालन गर्ने भएको छ । पढाइसँगसँगै व्यवसायीमूलक उत्पादनमा जोड दिने उद्देश्यले प्रविधिक शिक्षा सञ्चालनमा ल्याउन लागेको हो । विद्यालय व्यवस्थापनको बैठकमा आवश्यक तयारीका लागि शिक्षक अभिभावक संघका अध्यक्ष एवम् वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का वडा सदस्य कृष्णप्रसाद तिवारीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।
उपसमितिले प्राविधिक शिक्षा सञ्चालनका लागि आर्थिक रकम संकलन गर्ने र प्रचार–प्रसार गर्नेछ । त्यसका लागि विद्यालयको कार्यक्षेत्रहरू लेकवेशी नगरपालिकाको वडा न १०, वीरेन्द्रनगर–११ को टोलटोलमा अभिभावक, राजनीतिक दल, शिक्षक, व्यवसायी पेसाकर्मी, व्यवसायी र सुर्खेत जिल्ला र जिल्ला बाहिरका व्यक्तिहरू र सम्पूर्ण सरोकारवालाहरूसँग छलफल गर्नेछ ।
विद्यालयका प्राचार्य पूर्णप्रसाद पौडलले सहयोग रकम संकलनका लागि फागुन अन्तिम सातातिर समारोहको आयोजना गर्ने बताए । उनले समारोहमा चन्दा घोषणासँगै आर्थिक सहयोग गर्ने व्यक्तिहरूको शिलालेख, ताम्रपत्रमा नाम लेख्ने पनि प्रचार्य पौडेलले
जनाए । त्यस्तै बैठकले विद्यालयमा कक्षा १ मा कक्षा ६ मा अंग्रेजी माध्यमबाट पनि आगामी शैक्षिक सत्रबाट सुरु गर्ने निर्णय गरेको छ । अबको पाँच वर्षमा कक्षा १ देखि नै १० सम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गणेश परियारको अध्यक्षतामा भएको बैठकमा वीरेन्द्रनगर–११ का वडा अध्यक्ष नन्दलाल शर्मा, शिक्षक, अभिभावक लगायत अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १७ माघ २०७४, बुधबार १५:४०