युद्धको चपेटामा हुर्किएको बाल्यकाल

आइसिंह रोका मगर
हिउँदको पारिलो घामसँगै मस्त निन्द्रा । खुब जमेको थियो, मेरो त्यो दिनको आराम यो शरीरलाई । ‘राजा उठौं न यार, दिउँसै क्या मज्जाले सुतियाछ त हँ ? सहिद दिवस त १६ गते रहेछ नी !’ निदाउनु भन्दा पहिले सोधेको प्रश्नको जवाफ दिएर साथीले मलाई झक्झकाउदै ब्यूँझायो । आँखा मिच्दै जुरुक्क उठें । ‘हो र ?’ जवाफ फर्काएँ । लालकृष्ण बुढामगरसँग मामा/भान्जा हामी वीरन्द्रनगरमा सँगै बस्दै आएका छौं । दुई÷तीन वर्षको दैनिकीसँगै बिताएका हामी आदरका साथ ‘राजा’ भन्छौं, एकअर्कालाई । यो हाम्रो लबज जस्तै हो । उहाँको मुखबाट पनि फ्याट्ट बाहिरियो । मलाई अचम्म लाग्ने कुरै भएन । धेरै जसो उहाँलाई बोलाउँदा मामा भन्नुपर्ने तर, त्यसको सट्टा मैले पनि ‘राजा’ भनेर बोल्ने गर्थें । हामी एकै गाउँका साथीभाइ थियौं । तथापि तत्कालीन समयमा चरम सशस्त्र युद्धले गर्दा बाबा गुमाउनु भएको उहाँ र आफ्नो परिवारको एक सदस्य गुमाएको म । स्कुलस्तरको पढाइ फरक–फरक ठाउँबाट पूरा गरेका थियांै । संयोगले उच्च शिक्षा हासिल गर्ने उद्देश्य लिएर सुर्खेत झरेपछि हामी यतै छौं । सहिद परिवारका सदस्य हौं, हामी । त्यसैले सहिद दिवसका अवसरमा आफ्नो बाल्यकालको कथा कैद गर्ने सोच धेरै दिन पहिलेदेखि मनमा थियो । आज समय जु¥यो । युद्धताकाका केही याद यहाँहरूसमक्ष पनि शेयर गर्ने प्रयत्नमा छु ।


म चार वर्षको मात्रै थिएँ । धेरै जसो बालापनका कुरा याद त रहँदैन । तर जति रहन्छन् ती सबै अविश्मणीय भैदिन्छन र पो आफ्नो बाल्यकाल सबैलाई प्यारो लाग्छ । वि.सं. २०५६ सालमा हो । भाँडाकुटी खेल्ने बेला । भगवानले पनि खेल्नकै लागी धर्तीमा पठाए झै बाह्रैमास बेकामी ती दिन । हिजोआज मन हुरुक्क हुन्छ सम्झेपछि । त्यो बेला देशमा अस्थिर राजनीतिले जताततै अशान्ति थियो । राज्य र विद्रोह पक्षबीच चर्काचर्की थियो । देशको अवस्था म बुझ्ने भइसकेको थिइनँ । दिनभरी धुलोमा ढुंगा बटुलेर घर बनाइ खेलेर बितायो । त्यसबेला के मात्र याद थियो भने पुलिस र माओबादीबीच लडाईं हुन्छ । त्यसैले खेलको नाम पनि ‘पुलिस–माओवादी’ थियो । माओवादी पक्षले सधैं जित्ने र प्रहरीले हार्नैपर्ने खेलको नियमसँगैका दौतरीहरू मिलेर रचेका थियौं । ठ्याक्कै चोर–पुलिस जस्तै । चोरले चार्नै पर्ने, प्रहरीले लखेट्नैपर्ने । बांगो दाउरा र मकैको काठहरूलाई वरपर डोरीले बाँधेर बन्दुकले चोर लखेटेको याद ताजै छ । अझै पकेटमा कोइलाको गोली हालेर हिडेको बेला छाती खुब फराकिलो हुन्थ्यो । कत्ति पटक त एकअर्कालाई माटोको डल्लाले ताकेरै हिर्काउँदा त्यसभित्रको ढुंगाले गहिरो चोट लाग्दा चिच्याउँदै रोएका हिजो जस्तै लाग्छ ।
युद्धताका माओवादी–पुलिस खेल निकै चलेको थियो । देशमा चर्किएको जनयुद्धले स्थिति भयावह थियो । त्यसैको प्रत्यक्ष प्रभावमा मेरो बाल्लयकाल पनि हुर्किदैं थियो । जसका कारण चोर–सिपाही, तिलो जस्ता खेल छोडी यो हाम्रो खेल रोजाईंमा पथ्र्यो । पुलिस पक्ष हार्नैपर्ने हुदाँ कहिले काहीं आफ्नै लागि घाँडो बन्थ्यो । जसका कारण माओवादीको बन्ने भन्ने विषयमा नै विवाद चुलिन्थ्यो । त्यतिबेला थुकी–सुकिको काम आउँथ्यो । आफू माओवादी हुन पाउँदा विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्न हिँडेको जस्तै गरी आत्म अहमता पलाउँथ्यो । त्यसैले होला बाल्यकाल अझ प्रियः लाग्ने । अनावश्यक कुरामा गौरवशाली ठान्ने त्यो उमेरको विशेषता थियो । जुन प्रभाव सबैमा पर्छ । माओवादीपछि पुलिसमा एकाएक स्थानान्तर हुँदा पो सबैभन्दा नरमाइलो लाग्थ्यो । युद्धले गर्दा गाउँ धेरै जसो सुनसान हुन्थ्यो । बाहिर निस्किनै डर । माओवादीको अड्डाजस्तै बनेको गाउँमा कतिबेला राज्यपक्षले आक्रमण गर्ने हो भन्ने निकै चिन्ता ।
गाउँमा निकै स्याल लाग्ने । कुखुरा हेर्नु भन्दै आमा गाईवस्तुलाई घाँस काट्न निस्कनुभयो । घरमा म एक्लै । हातमा गुलेली कहिले खाली भएन । कक्षा नौसम्म पढ्दा स्कुल झोलामा गुलेली बोकेर जान्थें । म मात्र थिइनँ, मेरा सबै दौंतरीका हातहातमा गुलेली हुन्थें । स्कुल छुट्टिपछि चरा चार्दै घर फर्कन्थ्यौ । त्यो दिन आँगनमा चल्ला चराउँदै गरेको माउ (आमा कुखुरा) लाई कालिज भन्दै गुलेलीले टाउकोमा ताकीताकी हानेर आफैले मारें । अब आमा रिसाउनुहुन्छ । सम्झें, चोटबाट बच्न छितोछितो प्वाँख उखेलेर वरिपरि फ्याकिदिएँ । आमा आउने बित्तीकै माऊ आफै छटपट्टिदैं उफ्रेर मरेको भनी चलाखी अपनाएँ । तर, उहाँले पत्याउने कुरै भएन । झुट पत्ता लागे पनि आमा नरिसाएपछि त्यो दिनको सजाएबाट बचियो ।
मैले घरबाट सिक्नुपर्ने सबै संस्कार आमाबाटै लिएँ । तातेताते गर्दै हिँड्न सिकाउने बेलामा बुबा खै कुन ठाउँमा पार्टीको सिद्धान्त र जिम्मेवारी वहन गर्दै हुनुहुन्थ्यो । वर्षमा मुस्किलले एक, दुई पटक घर आउनुहुन्थ्यो । नयाँ पोशाक र काँधमा हतियार बोकेर । देशमा अशान्ति थियो । सर्वहारा वर्गको अधिकारको लडाईं हो भन्दै एक दशक उहाँ भूमिगत हुनुभयो । ठूलो भएपछि माओवादी सेना बन्ने है, हामी जस्तै हतियार बोकेर हिँड्नुपर्छ भन्दै मलाई आफ्नो काखमा राखेर टाउँको सुमसुम्याउँदै अनेक अर्ती उपदेश दिन्थे, बुबाका साथीहरूले । वि.सं.२०५२ सालबाटै गाउँघरमा जनयुद्धको चहल–पहल थियो रे । मलाई याद छ, म थाहा पाउने हुँदा परिवारको तीन सदस्य नेकपा (माओवादी) पार्टीमा हुनुहुन्थ्यो । बुबालाई तत्कालीन समयमा सरकारी समर्थक भनि अपहरण गरिएछ । पछि उहाँ पार्टीको सक्रिय सदस्य हुनुभएको हो । तत्कालीन समयमा संगठनको एरीया कमिटी सदस्य (एसयम) हुनुहुन्थ्यो । गाउँमा नयाँ मान्छे प्रवेश गर्ने माओवादी की त आर्मी, प्रहरी वा कसैको सुराकी गर्न आएको सीआईडी हो भन्ने निश्चित गर्ने स्थानीयहरू । तर, मेरा लागि भने सबै पाहुना ठहरिरन्थे । यदि माओवादी भए पार्टीको नयाँ उर्दी लिएर आउँथे । गाउँमा भएका मठमन्दिरहरू भत्काउने, राज्यसत्ता सञ्चालन गरेकाविरुद्ध नारावाजी गर्ने, स्थानीय जनताहरूलाई सशक्त बनाउन पार्टीको निर्देशन अनुसार विविध भेलाको आयोजना गर्ने गरिन्थ्यो । गाउँका सबै युवा, युवतीहरू शोषक (राजतन्त्र) विरुद्ध लड्ने भन्दै अभियानमा होमिएका थिए । युवा जनशक्ति गाउँमा पाउनै मुस्किल पर्ने । माओवादीले कब्जा गरेको ठाउँ भएकाले पार्टीकै प्रत्यक्ष निगरानीमा एउटा सहकारी थियो । जहाँ बालबालिकालाई साँझ बिहान ट्युशन क्लास जसरी निःशुल्क पढाउने व्यवस्था हुन्थ्यो । कामकाज गाउँले सबैको सामूहिक रूपमा गर्नुपथ्र्यो र खाना पनि त्यही खानुपर्ने । ठूला केही भेला हुँदाबाहेक गाउँ सुनसान देखिन्थ्यो ।
वि.सं. २०५६ साल मंसिर २६ गते बिहान ईतिहासमा अविस्मरणीय दिन बन्यो । उज्यालो हुन एक घण्टा बाँकी थियो । घरमा हजुरआमा, आमा, दिदी र मावली हजुरआमा पनि हुनुहुन्थ्यो । त्यो अघिल्लो साँझ हजुरआमा र आमाले रातीसम्म सुख दुःखका कुरा गर्दै समय बिताउनुभएको थियो । नेपाली सेना आएर गाउँमा दिएको दुःख साट्नु भएको थियो । गाउँका निर्दोष महिला, वृद्धवृद्धा र अवोध बालबालिकालाई निर्घात कुटिदाको पीडा आमाको मुखबाट आउने शब्दभन्दा धेरै उहाको परेलीबाट बग्ने आसुँका ढिक्काहरूले प्रष्ट बताउँथ्यो । छोरीको पीडा सुनेर हजुरआमाले आफ्ना आँसु थाम्न सक्नुभएको थिएन । हजुरआमाले आमालाई बेला–बेलामा सम्झाउनु हुन्थ्यो । दिदी र म कुरा सुन्दै आमा र हजुरआमा तिर टुलुटुलु हेथ्र्यौं । ‘घरभित्रको छ ?’ भन्दै ठूलो स्वरमा पुरुषको आवाज सुनियो । केही दिन अघि माआवादी सेनाद्वारा अछाममा कब्जा गरेको घटनाले पनि झनै डर पैदा ग¥यो । सेनाको टीम दैलेख, जाजरकोट जुनीचाँदे हँुदै टीकाचौर प्रस्थान गर्दैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले नै त्यहाँ अक्रमण गर्ने रणनीतिका साथ गाउँमा छापा मारेको रहेछ ।
हजुरआमाले ढोका खोल्नुभयो । उनीहरू दुवै जनाको हातमा राइफल देखेपछि हामी चुपचाप भयौं । ‘नडाराउनुस् हामी केही गर्दैनौं । हामी पार्टीका (नेकपा माओवादी) कार्यकर्ता हौं । साथीहरू कता हुनुहुन्छ ? भनेर खोज्न आएको, यहाँ कोही सुत्न आउनु भएको थियो की ?’ उनीहरू यसरी नम्र व्यवहारले प्रस्तुत भएपछि हजुरआमाले कोही नभएको जानकारी गराउनुभयो । ती दुई पुरुषले गाउँका बारेमा प्रश्नमाथी प्रश्न गर्दै थिए । त्यतिबेलै बाहिरबाट गोली चलेको आवाज कानमै ठोकियो । उनीहरू आत्तिदैं भागे । गोली माओवादीहरूले चलाएका रहेछन् । गाउँमा क्याम्प गरी बसेका माओवादी र प्रहरीबीच भएको झडप रहेछ । झडपपछि माओवादी पक्ष भागे । प्रहरीले थप निगरानी बढायो । एकाएक गाउँ पसेको प्रहरीले घरभित्रै पसेर सबैलाई बाहिर निकाल्यो । कञ्चटमा हतियार ताक्दै, मार्ने धम्की दिँदै घर बाहिर लखेट्यो । जो म पनि प्रत्यक्ष भागेदार थिएँ । आमा र हजुरआमालाई निर्घात कुटपिट हुन थाल्यो । हामी रुँदै बाहिर निस्कियौं, हिमाली क्षेत्रको हिउँदको त्यो चिसोमा शरीरमा एक सरो कपडासँग ।
मिरमिरे उज्यालो भइसकेको थियो । छिमेकका सबै घरहरू प्रहरीले छापा मारिसकेको रहेछ । घरभित्र भएका गाउँभरीबाट लत्ताकपडाहरू जम्मा गरेरे प्रहरीले जलायो । हाम्रो घर पनि उचो रहेन । घरभित्रका सबै सामान निकालियो । आगो लगाइयो । माओवादीको रिसले प्रहरीले हामीलाई उठीबास पा¥यो । शरीरमा लगाएको एक सरो कपडाबाहेक अरु सबै जलाइयो । गाउँमा अवस्था भयावह थियो । त्यो समयमा सम्पत्तिभन्दा पनि ज्यान बाँच्यो । यसैमा आफूलाई भाग्यमानी ठान्छु । प्रहरीले गाउँका पाँच जनालाई अपहरण ग¥यो । गाउँभर रुवाबास चल्यो । माओवादी र प्रहरीबीच दोहोरो गोली हानाहान भयो । उज्यालो हुँदै थियो लडाईं उग्र बन्दै थियो । चौरमा लाइन लगाएर हामीलाई उभ्याइयो । उता आफन्तलाई गोली हान्दै गर्दा हामी मुखदर्शक भएर बस्नुप¥यो । तातो गोली लागेर पाँच स्थानीय, दुई प्रहरी गरी सात जना सहिद भए । घाइतेहरू पानी माग्दै थिए । आसपास जाने स्थिति थिएन ।
साँच्चिकै आभाष भयो, माओवादी र पुलिस खेलको सत्यता । खेलमा एक सेकेन्डको लागि मारिन्थ्यो । जो खेल थियो । तर, द्वन्द्वमा सधैंका लागि सहिद हुनुपर्दाे रहेछ । दुई प्रहरी, पाँच जना सर्वसाधारण जनता गाउँमै मारिए । सेनाको दुई हेलिकप्टरले पुलिसको लास लिएर गयो । एक स्वर्णीम उर्जा बोकेर आएको बिहानीसँगै गाउँ शोकमा डुब्यो । आन्दोलनमा मारिएकाहरूलाई आफन्तले नचिनुन भन्ने ध्येयले अनुहारमा आगो लगाइको थियो । आफन्त को मारियो भन्ने कपडाबाट पहिचान गरियो । त्यसबेला राइफलको गोली लागेर फुटाएका घरको कोरा ढुंगामा अझै पनि प्रष्ट देख्न सकिन्छ । त्यो घटना अहिले पनि ताजै छ । गौतम बुद्धले आफ्नो जीवन कुटीमा बिताए जस्तै मेरो पूर्ण बाल्यकाल नेपाली सेनाको डरत्रास र भोकप्यासले धेरै जसो जंगलमै लुकेर बित्यो । गाउँमा त्यो घटना भए पश्चात् कसैले पनि राती घरमा ढुक्कले सुत्न पाएनन् । दिनमा काम गर्ने रात परेपछि गाउँका सबै जम्मा भएर जंगलमा सुत्न जानुपर्ने । राती कोही सुत्ने कोही सेना आउँछ की भनी गस्ती गनुपर्ने, कहिले काहीं त अँध्यारोमा स्यालले सोत्तर चलाएको आवाज आउँदा पनि निदाउने मेस लागेकाहरू जुरुक्क उठेर ढुंगा समातेर भाग्न तम्सिनुपथ्र्यो । करिब दुई दशक भयो जाजरकोटको टीकाचौर द्वन्द्वको चपेटामा परेको । अझै पनि गाउँका घरहरू सबै भत्केका छन् । गाउँले शान्ति आएको अनुभूति गर्न पाएको छैन् । भत्केका भौतिक संरचनाले अहिले पनि द्वन्द्वकालको याद दिलाउँछ ।
देशमा शान्ति आएको करिब एक दशक पूरा भयो । तर, युद्धताका ध्वस्त भएको टीकाचौरको गाउँ अझै तंग्रिएको छैन् । नेपाली सेनाको अत्याचार र माओवादीको शासन सहन नसक्नेहरू परिवारसहित भागेका परिवार अझै गाउँ फर्केका छैनन् । आफ्नो परिवार गुमाएका द्वन्द्वपीडितले न राहत पाएका छन् न त पुनस्र्थापना नै । गाउँको अवस्थामा सुधार आएको छैन । सोही आन्दोलनको प्राप्ती देशमा राजतन्त्र ढल्यो । लोकतन्त्र र गाणस्तन्त्र स्थापना भयो तर टीकाचौर अझै पनि द्वन्द्वको चपेटामा छ । ती सहिदहरूको रगतले पोतिएको त्यो ठाउँमा विकास र समृद्धिका आभास भएको छैन् । बलिदानीको कदर हुन सकेको छैन । इतिहासको कालखण्डमा लोकतन्त्र र गणतन्त्रका लागि रगत बगाउने सहाशी योद्धाप्रति सम्मान छ । हार्दिक श्रद्धाञ्जली देश निर्माणका लागि बलिदानी दिने सहिदप्रति । हार्दिक श्रद्धाञ्जली ।