प्रदेश संसदको पहिलो बैठक माघ २१ गते बोलाइयो

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ माघ ।
प्रदेश नम्बर ६ मा प्रदेश संसदको पहिलो बैठक माघ २१ गते बस्ने भएको छ । संसद सचिवालयका अनुभवी कर्मचारी नहुँदा अलमलमा परेको प्रदेश प्रमुखको कार्यालयले प्रदेश संसदको पहिलो बैठक बस्ने मितिको टुंगो आइतवार लगाएको हो । अब यो प्रदेशमा संसदको पहिलो बैठक यही माघ २१ गते दिउँसो १ बजे बस्नेछ ।


संसद सचिवालयका अनुभवी कर्मचारी नहुँदा प्रदेश संसदको बैठकका लागि मिति तय हुनसकेको थिएन । तर प्रदेश प्रमुखको कार्यालयले स्थानीय दल र प्रदेश सांसदहरूसँग छलफल गरेर पहिलो बैठकका लागि मिति तय गरेको हो । प्रदेश प्रमुखको कार्यालयका अनुसार अब संसद बैठक माघ २१ गते दिउँसो १ बजे बस्ने भएको हो । वीरेन्द्रनगरमा रहेको क्षेत्रीय सिँचाइ विकास डिभिजन कार्यालयको हलमा बैठक बस्नेछ । यसअघि जिल्ला समन्व्य समितिको हलमा बैठक बसाल्ने तयारी गरिएको थियो । तर पूर्व सांसदहरूको सिँचाइको हल बैठकका लागि अनुकूल हुने सुझाव दिएपछि हल परिवर्तन गरिएको हो ।
पहिलो बैठकको अध्यक्षतामा प्रदेश संसदका ज्येष्ठ सदस्य हिमबहादुर शाहीले गर्नेछन् । बैठकको मिति तय भएसँगै संसद बैठक बस्ने क्षेत्रीय सिँचाइ विकास डिभिजनको हलमा आवश्यक सजावटको काम पनि सुरु भएको हो । बैठक स्थलमा आवश्यक फर्निचरको व्यवस्थापन, रंगरोगन र अन्य सजावटका काम सुरु गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यो हलमा एकसय जनासम्म अट्ने क्षमता रहेको छ । यस्तै हलमा दुई वटा ढोका रहेकाले पनि सजिलो हुने बताइएको छ । सिँचाइको हललाई अस्थायी रूपमा प्रयोग गरिनेछ । संसद बैठक बस्ने भएपछि आवश्यक प्राविधिक व्यवस्थापनको काम पनि थालिएको प्रदेश प्रमुखको कार्यालयका सचिव भरत ढुंगानाले जानकारी दिए । उनका अनुसार हल बाहिर नै त्रिपाल टाँगेर बैठकको अवलोकनका लागि आवश्यक व्यवस्थापन गर्न लागिएको छ ।
प्रदेश संसदका लागि प्रस्ताव गरिएको शैक्षिक तालिम केन्द्रको भवनमामर्मत तथा सिँगारको काम हुन समय लाग्ने भएकाले अस्थायी रूपमा सिँचाइको हलमा संसद बैठक बस्नेछ । प्रदेश प्रमुखको कार्यालयका सचिव भरत ढुंगानाले भने, ‘सिँचाइको हललाई अस्थायी रूपमा प्रयोग गर्नेछौं, संसदका लागि प्रस्ताव गरिएको भवनमा मर्मत र सजावटको काम सुरु हुन सकेको छैन । कम्तीमा पनि दुई महिना मर्मत गर्न लाग्छ, त्यतिबेलासम्म बैठक यही हलमा बस्नेछ ।’
बजेट निकासामा भएको ढिलाइ र संसद सचिवालयको अनुभव भएका कर्मचारी नआउँदा समस्या भएको उनले जनाए । ‘संसदका अनुभवी कर्मचारी आएका छैनन्, हामीले अनुमानमा व्यवस्थापनको काम गर्न सम्भव भएन । अब कर्मचारी आएपछि मात्र संसद भवनमा व्यवस्थापनको काम सुरु हुन्छ, त्यतिबेलासम्म काम चलाउने उपाय खोज्दैछौं ।’
संसद सचिवालयका अनुभवी कर्मचारी जिल्लामा नआउँदा यसअघि नै संसदको अनुभव भएका प्रदेश सभाका सदस्यहरूले व्यवस्थापनमा सघाइरहेका छन् । प्रदेश प्रमुखको कार्यालयले बैठक कक्ष, सभामुखको आसन, विपक्षी दलको नेता, सचिवालयका कर्मचारी रहने स्थान र पत्रकारका लागि बस्ने ठाउँको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सांसदहरूसँग सहयोग मागेको छ । आइतवार संसद बैठक बस्ने स्थानमै पुगेर आवश्यक व्यवस्थापन र सजावटको बारेमा सांसदहरू यामलाल कँडेल र सीता नेपालीले सचिवालयका कर्मचारीहरूलाई सहजीकरण गरेका थिए । यसअघि संसदको अनुभव भएकाले पनि उनीहरूसँग सचिवालयका कर्मचारीहरूले सहयोग मागेका हुन् । सांसदहरूकै सुझावका आधारमा आफूहरूले व्यवस्थापनको काम अगाडि बढाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
यसैबीच प्रदेश ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले संसद बैठक बस्ने हल र स्थानको निरीक्षण गरेका छन् । आइतवार साँझ निरीक्षणमा पुगेका उनले हलको व्यवस्थापन चाँडो गर्न कर्मचारीहरूलाई निर्देशन दिए । उनले भने, ‘हल र बाहिरको आवश्यक व्यवस्थापन चाँडो होस्, रंगरोगन र सजावटको काममा कुनै कमी नहोस् । सहज रूपमा बैठक बस्नसक्ने गरी व्यवस्थापन गरौं, आवश्यक सहयोग गर्न हामी तयार छौं ।’ संविधानले तोकेको समय सीमाभित्र संसदको पहिलो
बैठक डाकिएकोसमेत उनले जानकारी दिए ।

प्रदेश ६ मा माओवादी मुख्यमन्त्री

यसैबीच वाम गठबन्धनको कार्यदल बैठकले प्रादेशिक सरकारको विषयमा सहमति गरेको छ । आइतवार बसेको कार्यदल बैठकको सहमति अनुसार प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेकातर्फबाट हुनेछन् । माओवादीले भने प्रदेश ६ र ७ को मुख्यमन्त्री सम्हाल्नेछ ।
त्यस्तै, प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाउनेछ भने माओवादीले प्रदेश ४ र ५ को सभामुख पाउने सहमति भएको एमालेबाट कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिए । उपसभामुख भने एमालेले ४ र ५ गरी दुई प्रदेशमा मात्र पाउने भएको छ । माओवादीले भने चार वटा प्रदेश १, ३, ६ र ७ मा उपसभामुख पाउनेछ । प्रदेश सरकारमा मन्त्रीहरूको भागबन्डा एमाले र माओवादीले क्रमशस् ७० र ३० प्रतिशत बाँड्ने सहमति पनि बैठकमा भएको छ ।

प्रकाशित मितिः   १५ माघ २०७४, सोमबार १६:०९