‘स्कुलमा पनि मनिटर बनेर नेतृत्व गर्थें’

नेकपा माओवादी केन्द्रका नेता ठम्मरबहादुर विष्ट, हालै सम्पन्न प्रदेशसभाको निर्वाचनबाट प्रदेश नं. ६ को सदस्यमा निर्वाचित सांसद हुन् । उनी सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित भएका हुन । वि.सं. २०२७ चैत ५ गते बुबा वेगबहादुर विष्ट र आमा जसुदादेवी विष्टको कोखबाट गुर्भाकोट नगरपालिकाका–२ घुमखहरेमा जन्मिएका विष्ट विद्यार्थीकालदेखिनै राजनीतिमा प्रवेश गरेका थिए । माओवादीले सञ्चालन गरेको जनयुद्धमा जनसेनाको विभिन्न पदमा रहेर जिम्मेवारी सम्हालेका विष्टले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन्ः


मेरो जन्म गुर्भाकोट नगरपालिका २ घुमखहरेमा भयो । बाल्यकाल समान्य रूपमा नै बित्यो । म घरको साइलो छोरा हुँ । बुबा–आमा खेती किसानी गर्नुहुन्थ्यो । कृषककै परिवारमा जन्मेको हुँ । बाल्यकालको धेरै समय विद्यालयमा नै बित्यो । त्यस बाहेक बिदाको समयमा घरमा बुबा–आमालाई काममा सघाउने गर्थें । पाँच÷छ वर्षकै उमेरमा स्कुल पढ्न गएँ । मैले भेरी प्राथमिक विद्यालयमा पढँे । उक्त विद्यालय अहिले मावि भइसकेको छ ।
पढाइमा राम्रो विद्यार्थीको रूपमा थिएँ । सधैं प्रथम स्थान हासिल गर्थें । बाल्यकालमा पढाइप्रति नै मेरो ध्यान तल्लीन हुन्थ्यो । ध्यान दिएर पढ्थें । पढाइमा जान्ने छ भनेर सबैले माया गर्नुहुन्थ्यो । प्रायः म कक्षा मनिटर हुन्थें । कहिले काहीं शिक्षक कक्षामा नआउँदा मैले नै साथीहरूलाई पढाउने गर्थें । मलाई सबै विषय सजिलो लाग्थ्यो । विशेष गरेर गणित, विज्ञान र अंग्रेजी विषय सजिले लाग्थ्यो । साथीहरूलाई पनि सिकाउने गर्थें । हामीले पढ्ने बेलामा अहिलेको जस्तो कापी कलमहरू हुँदैनथे । पाटीमा खरीले लेख्नुपथ्र्यो । पाटी बोकेर स्कुल जान्थ्यौं । घर नजिकै स्कुल भएका कारण त्यति समस्या भने भएन । तर पाटीमा लेखेको फेरि लेख्नलाई मेट्नुपथ्र्यो ।
फुटबल खेलमा राम्रो थिएँ । फुटबलमा नै अघि बढेको भए सायद अहिले राम्रो फुटबल खेलाडी बन्थें होला भन्ने लाग्छ । तर पढेर समाजका लागि केही गर्नुपर्छ भन्ने सोच मेरो थियो । पढेर जागिर खानुपर्छ भन्ने मेरो मानसिकता कहिल्यै भएन । पढेर केही गर्नुपर्छ भन्ने भावना थियो । म अलि जिज्ञासु स्वभावको थिएँ । उमेर पढ्दै जाँदा राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने पनि लाग्थ्यो । कसरी नयाँ कामहरू गर्न सकिन्छ भन्ने सोच हुन्थ्यो मेरो । फुटबलमा मात्र नभएर अन्य खेलकुदमा पनि मेरो रुची थियो । तर बढीजसो फुटबल खेल्ने गर्थँे । त्यसबेलामा वीरेन्द्र शिल्ड लगायत जिल्लास्तरका विभिन्न खेलहरू हुन्थे । प्रायः खेलकुदका कार्यक्रममा मेरो सहभागिता हुन्थ्यो । विद्यालयमा हुने अन्य विभिन्न अतिरिक्त क्रियाकलापहरूमा पनि मेरो सहभागि भइरहन्थ्यो । विशेष गरेर हाजिरी जवाफ र वक्तृत्वककला प्रतियोगितामा भाग लिन्थें । वक्तृत्वकला प्रतियोगितामा पनि म राम्रो स्थानमा हुन्थें ।
गाउँ नजिकै भेरी नदी भएकोले नदिमा पौडी धेरै नै खेलिन्थ्यो । मलाई राम्रोसँग पौडी खेल्न आउथ्यो । नदिले बगाउछ भनेर बुबाआमाले जान दिनुहुँदैन्थ्यो । तर हामी साथीहरू भागेर भेरीमा पौडी खेल्न जान्थ्यौं । कहिले काहीं बुबा–आमाले पौडी खेल्न जान दिनुहुँदैन भनेर स्कुल बिदा हुने बित्तिकै हामी स्कुलबाट घर नगइ नै पौडी खेल्न जान्थ्यौं । सानोमा म अलि चकचके र मनोरञ्जन गर्ने स्वभावको थिएँ । साहित्यमा पनि मेरो रुचि थियो ।
सानोमा कहिले काहीं गाइगोठालो जान्थे । तीन÷चार कक्षा पढ्ने समयसम्म म गाइगोठालो जान्थें । घरनजिकैको वनमा गएर घाँस दाउरा गर्ने पनि गरिन्थ्यो । तर म धेरै जसो समय पढाइमा नै बिताउने भएको कारणले घरको काममा त्यति ध्यान जाँदैनथ्यो । बुबाआमाले खेती किसानी गर्ने भएको कारण पनि घरमा कुनै न कुनै काम त गर्नु नै पथ्र्यो । हामी सबै भाइबहिनी पढ्ने भएको कारण घरको काम पनि मिलेर गथ्यौं । म भन्दा अघि दाइदिदीहरू भएर पनि मैले घरको काममा धेरै समय दिर्नुपरेन । बाल्यकाल धेरै स्वतन्त्र थियो । साथीहरूसँग खेलेको सम्झना अझ पनि आउँछ ।
म विद्यार्थी हुँदादेखि नै राजनीति बझ्न थालेको थिएँ । कक्षा ८ मा पढ्दादेखि मैले विद्यार्थी संगठनमा रहेर काम गरेको थिएँ । त्यसबेलामा पञ्चायतको समय थियो । पञ्चायतको विरुद्धमा लागेका नेताहरूसँग भेटघाट हुन्थ्यो । उनीहरू भूमिगत भएर पञ्चायत शासनकोविरुद्धमा थिए । केही कम्युनिष्ट नेताहरूसँग पनि भेट हुन्थ्यो । त्यसबेला हामी विद्यार्थी संगठनहरूमा रहेर काम गरेका थियौं । यसरी राजनीतितर्फ मोह बढ्दै गयो । २०४६ सालपछि पार्टीमा आवद्ध भएँ । त्यसपछि मेरो राजनीतिक जीवन अझ गतिशील बन्यो ।

प्रकाशित मितिः   १५ माघ २०७४, सोमबार १६:०६