के का लागि आन्दोलन ?

लक्ष्मीप्रसाद पौड्याल ‘अनुरागी’
इतिहास हाम्रो सामु जिवितै छ । ऐतिहासिक आन्दोलन र संघर्षका घटनाहरू हाम्रो सामु छर्लंगै छन् । हालको परिवेशमा नेपालको राजनीति, अर्थतन्त्र, कानुन र विकासले नयाँ मोड लिएको छ । नयाँ परिस्थितितिर जाँदैछ । धेरै परिवर्तनका सकारात्मक तथा नकारात्मक तरंगहरू दौडिरहेका छन् । नेपालको विकासले गति लिदैंछ । विभिन्न राजनीतिक दलका नेता÷कार्यकता, विद्वान तथा बुद्धिजीविहरू पनि नेपालमा विकासले गति लिनुमा आफूहरूको त्याग, तपस्या, संघर्ष र बलिदानको आन्दोलनको उपलब्धी हो भन्ने संकेत गर्दछन् । राजनीतिको मालिक सम्झनेहरू पनि आन्दोलनमा प्राण त्याग गर्ने गर्छन् । आदिर आन्दोलन के हो त ? आन्दोलन किन गरिन्छ त ? यसबारे जान्न किनै रोचक देखिन्छ र जरुरी अनि चाखलाग्दो पनि छ ।

‘आन्दोलन’ शब्द कसैसामु अपरिचित शब्द होइन । यो सबैमा र सबैको मस्तिष्कमा परिचित छ । आन्दोलनकारी जनताहरू यो सोच्दैनन् र उनीहरूलाई थाहा हुँदैन कि आफूहरूको त्याग, बलिदान र संघर्षको रगत बगाउनुको परिणाम नै अहिलेको विकास र समृद्धिको आधार हो भनेर । तर आन्दोलनमा सिधासाधा गरीब, निमुखा, बेसाहारा र बेरोजगार जनतालाई सिधैं गोली हान्ने आदेश दिनेहरू भने गिरफ्तार गर्छन्, अन्याय र अत्याचारर गर्छन् जब जताबाट कुनै स्वार्थ प्राप्त हुने संकेत पाउँछन् तब खोल्न थाल्छन् कुरा । ‘हाम्रो आन्दोलन त्याग वलिदान र संघर्षबाट रगत बगाएर हाम्रो मुलुकलाई हामिले समृद्ध बनाएका छौं’ भनेर । विचरा सोझा जनता भोट दिएर जनप्रतिनिधि छान्छन् र केन्द्रमा पठाउँछन् । नेपालमा पहिलेदेखि नै धेरै आन्दोलन र संघर्षका हुँदै आएका छन् । कयौं नेपाली दाजुभाई, नेपाल आमाका सच्चा सेवक तथा अंगरक्षक सन्तान र आफन्तलाई हामीले विना गल्ती गुमाएका छौं । यो हाम्रो आन्दोलनको केही उपलब्धी होला त ? हामी नाजवाफ हुन्छौं होला सायद । प्रायः आन्दोलनको बीचमा रगतको खोला बगाउनेलाई पनि थाहा नहोला सायद आन्दोलन किन गरिएको हो भनेर । आन्दोलन विभिन्न स्वार्थपूर्तिका लागि पनि हुनसक्छ ।
हाम्रो एउटा संस्कार छ, कुनै व्यक्तिको वाचुञ्जेलसम्म दोषहरू वयान गर्दै हिँड्ने र परलोक भएपछि गुण र अशल चरित्रको बयान गर्ने । व्यक्तिगत स्वार्थका लागि आन्दोलनको नाममा व्यक्तिगत तथा सामूहिक स्वार्थ लुट्नेहरूलाई हामी देशका सच्चा सेवी ठान्छौं । आन्दोलनको पुरस्कार ग्रहण गर्नेलाई कुशल मान्छौं हामी । सत्य आन्दोलन भनेको शान्तिपूर्ण आन्दोलन हो । सकैको जीवनलाई बर्बादी पार्ने आन्दोलन कदापी आन्दोलन हुन सक्दैन । इतिहास हामीलाई बेला–बेलामा बताइरहन्छ र झस्काइरहन्छ, आखिर आन्दोलनको गन्तव्य कहाँ हो त ? विकास र समृद्धि चाहने हो भने शान्तिपूर्ण आन्दोलनलाई पुरस्कार देऊ । खाली झडप गर्न किन आन्दोलन ? नेपालमा धेरै आन्दोलन र संघर्षहरू भए । मलाई लाग्छ जो आन्दोलन शान्तिपूर्ण र सर्वमान्य थिए ती अवस्य सफल भए जो व्यक्तिगत स्वार्थका निहीत थिए ती आन्दोलन पक्कै पनि सफल भएनन् ।
हामीलाई इतिहासले बताइरहेको नेपालको इतिहासमा एउटा महान् आन्दोलन वि.सं. २०६२÷०६३ मा भएको थियो । उक्त अशान्तिपूर्ण जनआन्दोलनले नेपाल आमाका सच्चा सन्नति र अंगरक्षक धेरै गुमाएका थियौं हामीले । मलाई लाग्छ त्यसमा गलत स्वार्थ थिएन तै पनि स्वार्थीहरूले बीचमा स्वार्थ मिसाउन सक्छन् । गरीब नेपाली जनतालाई अन्याय, अत्याचार, दमन गरिएको थियो र भएको थियो । कतिका छोरा लगियो कतिका श्रीमान् लगियो कति टुहुरा भए त कति विधुवा भए । यो सम्झिँदा उक्त आन्दोलनपछिको शान्ति सम्झौता नै अहिलेको विकास र समृद्धिको मूल आधार हो । नेपालीहरू अझै पनि धेरै मात्रामा गरीब छन् । उक्त बेला एकदमै धेरै नाजुक गरीब थिए नेपालीहरू । बिहान बेलुकाको छाक टार्न र गुजारा गर्न मुस्किल पथ्र्यो । बेलुकाको लागि जुटाएको एक छाक अन्न धम्काएर र खोसेर लगिदिनु कस्तो आन्दोलन र संघर्ष थियो ? आन्दोलन गर्नु भनेको घाउमा मल्हम लगाइमाग्न हो तर गरीब परिवारको घाउमा घोच्न र नुन छर्कन के को आन्दोलन र संघर्ष ?
त्यतिखेरको आन्दोलन गरीब नेपाली सन्ततीमाथी गरिएको अन्याय, अत्याचार, दमन, शोषण र भेदभावको घाउ पूर्णरूपमा निको अझै पनि भइसकेको छैन । वि.सं. २०६२÷०६३ को आन्दोलन पश्चात भएको बृहत शान्ति सम्झौता पछि संविधानसभा निर्वाचनको आव्हान भयो । वि.सं. २०६४ सालमा संविधानसभाको पहिलो निर्वाचन अधिकांशको सहमतिमा सम्पन्न भयो । तर यसमा पनि केही राजनीतिक दलले असहमति जनाइ विभिन्न आन्दोलन र संघर्षका कार्यक्रम गरे । वि.स. २०७० मा संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भयो । यसमा पनि कुनै राजनीतिक दलको असहमति जनाउँदै आन्दोलन गरे । त्यसपछि संविधान लेखन र निर्माण प्रक्रिया अगाडि बढेको थियो । नयाँ संविधानमा नेपाललाई विभिन्न प्रान्तमा विभाजन गरियो । कसैले नेपाल संघीयतामा जानु अन्यायपूर्ण र अव्यवहारिक छ भनेर त कसैले प्रदेश सीमांकन उचित छैन भनेर आन्दोलन र संघर्ष गरे । शान्तिपूर्ण आन्दोलनलाई भरोसा राख्ने सरकारको कर्तव्य हो भन्दाभन्दै पनि झडपसहितको आन्दोलन भयो । आन्दोलनका मालिकहरू जनतालाई आन्दोलनको नाममा संघर्ष गर्न सडकमा आउन संकेत गरेछन् कति परलोक भए, कति विधुवा त कति टुहुरा । ठाउँ–ठाउँमा आन्दोलन र झडप भयो । आन्दोलनका मालिकलाई गिरफ्तार गर्नुको साटो माथिबाट जनतालाई गोली हान्ने आदेश आउनु र सच्चा देशप्रेमी जनताले गोली खानु जनताको लागि दुखद एउटा कथा हो । यस्तै समस्या र समाधानका बीच बनेको संविधान सायद सर्वमान्य थियो । नेपालमा नयाँ संविधान निर्माण हुँदा जनताहरू सबै खुशी थिए र कार्यान्वयनको पर्खाइमा थिए । कुनै स–साना राजनीतिक दलले संविधानमा असन्तुष्टी व्यक्ति गरे र संशोधनको माग गरे । आन्दोलनको नाममा सोझा–साझा नेपाली जनतालाई सडकमा संघर्ष गर्ने संकेत दिए । जनताले गरेको आन्दोलन संघर्ष र वलिदानबाट आफूलाई मालिक बनाइ प्राप्त अधिकार, विकास अनि समृद्धिका मालिक र ठेकेदार बन्नेहरू जनतालाई किन यस्तो पीडा दिन्छन् त ? माथिबाट पनि आन्दोलनमा सहभागी जनतालाई सिधैं गोली हान्न आदेश किन आयो त ?
नेपालको राजनीतिमा वि.सं. २०७४ मा पनि आन्दोलन, संघर्षसँगै उपलब्धी भए । नेपालको संघीय संरचना अनुसारका सबै तहका प्रतिनिधि छान्नु पनि एउटा महान् उपलब्धी हो । यसैबीचमा पनि विभिन्न आन्दोलन भए । हामी सबैलाई थाहा छ र सबैले नाम चिनेका छौं शान्तिपूर्ण आन्दोलन र सफल आन्दोलनका पात्र एक जना मेडिकल कलेजका प्राध्यापक डाक्टर बने । उनले आमरण अनसन बसेर माग पूरा गरे । तर उनी व्यक्तिगत मागमा थिएनन् । उनको आन्दोलन सच्चा नेपालीको अधिकार प्राप्तीको महान् र सफल आन्दोलन थियो । हाम्रो देशमा जबसम्म आदेशको आन्दोलन बन्द हुँदैन तबसम्म विकास हुन सक्दैन । हालको परिवेशमा भर्खरै सरकारले सात वटै प्रदेशका प्रमुख र अस्थायी राजधानी ताकेको छ । यसैमा पनि आफ्नो स्वार्थका लागि आफ्नो ठाउँमा राजधानीको माग गर्दै आन्दोलन गर्दैछन् । एउटा कक्षामा सबै विद्यार्थी कहिलै प्रथम हुँदैनन् । प्रथम एउटा हुन्छ । खेलमा सबैले जादैनन् एउटाले मात्रै जित्छ । राजधानी पनि सबै जिल्लामा दिन सकिदैन एउटा ठाउँमा, उचित ठाउँमा हुनुपर्छ भन्ने सोचौं । आधुनिक नेपालका निर्माता, नेपाल एकीकरणका थालनिकर्ता महानपुरुष पृथ्वीनारायण शाहको घर गोरखा थियो तर उनले नेपालको राजधानी काठमाडौं किन राखे त ? यसबारे सोचौं र आन्दोलन रोकौं ।
(चामुण्डा विन्द्रासैनी १ दैलेख निवासी लेखक हाल वीरेन्द्रनगरमा अध्ययनरत छन् ।)

प्रकाशित मितिः   १५ माघ २०७४, सोमबार १६:०५