‘श्रम बमोजिम पारिश्रमिक पाइएन’
साझा बिसौनी संवाददाता
सुर्खेत, १३ माघ ।
सुर्खेतका छापाखाना तथा प्रेसका मालिकहरूल त्यहाँ कार्यरत मजदुरहरूलाई ओटी (ओभर टाइम) को तलब भक्ता नदिएको मजदुरुहरूले गुनासो गरेका छन् । नेपाल स्वतन्त्र प्रेस युनियन जिल्ला समिति सुर्खेतको पाँचौं जिल्ला अधिवेशनका सहभागीहरूले यस्तो गुनासो गरेका हुन् ।
मालिकहरूले नयाँ वर्ष, दसैं तिहार र अन्य समयमा पनि बिहानदेखि बेलुकासम्म काम गर्दा पनि ओभर टाइमको तलब भक्ता नदिने गरेको भन्दै दुखेसो गरेका हुन् । उनीहरूले अब सुर्खेतका सम्पूर्ण प्रेस मजदुरहरू आफ्नो हक र अधिकारका लागि एकजुट हुनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै दिनेश कटुवालले कुनै पनि प्रेसका मालिकहरूले आफूहरूको बिरामी भक्ता, सुत्केरी बिदा, अक्षकोष, कर्मचारी विमा लगायतका सेवा सुविधाहरूबाट समेत वञ्चित गरेको दुखेसो गरे ।
कार्यक्रममा बोल्दै नेपाल स्वतन्त्र प्रेस युनियनका केन्द्रीय सदस्य तेजप्रकाश जिसीले हक र अधिकारका लागि सम्पूर्ण प्रेस मजदुरहरू एक हुनुपर्ने बताए । उनले राज्यले मजदुरहरूलाई विभिन्न सेवा सुविधाको व्यवस्था गर्ने नियम कानुन बनाए पनि मजदुरहरू एक नहुँदा मालिकले मनपरी गरेको बताए । त्यस्तै जिफन्ट सुर्खेतका अध्यक्ष श्रीपाल सारुमगरले प्रेस मजदुरहरूका अधिकारका निम्ति आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यसैबीच नेपाल स्वतन्त्र प्रेस युनियन जिल्ला समिति सुर्खेतको पाँचौं जिल्ला अधिवेशनबाट बलबहादुर सोतीमगर अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार वीरेन्द्रनगरमा भएको भेलाले उपाध्यक्षमा हिरा आचार्य, सचिवमा निमबहादु बुढा, सहसचिवमा दिनेश कटुवाल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सुनिता सुनार, भूमिसरा बाह्रघरे, लक्ष्मी विक, दलबहादुर सुनार, महेश भट्टराईलगायत रहेका छन् । भेलामा नेपाल स्वतन्त्र प्रेस युनियका केन्द्रीय सदस्य तेजबहादुर जिसी, जिफन्ट सुर्खेतका अध्यक्ष श्रीपाल सारु लगायतको उपस्थिति रहेको थियो ।
साझा बिसौनी संवाददाता ।