तस्करकै लगानीमा अफिम खेती

साझा बिसौनी संवाददाता
जाजरकोट, २ जेठ ।
जाजरकोटको खगेनकोट गाउँ विकास समिति वडा नं. ९ मंसिरीका नन्दराम सिंहले मंसिरमा घर नजिकैको बारीभरी अफिम लगाए । अफिम हलक्कै बढेपछि उनको खुशीको सीमा नै थिएन । तर अफिम निकाल्ने अवस्थामा पुगेको बेला वैशाख १० गते आँगनमा प्रहरी पुग्दा नन्दराम झस्किए । उनलाई प्रहरी किन आएको भन्ने समेत थाहा भएन । जब प्रहरीले अफिम किन लगाएको भनि सोध्न थालेपछि उनी तीन छक परे । उनले आफूलाई यो खेती गर्न पाइदैन भन्ने थाहा नै नपाएको भनेपछि प्रहरीले धमाधम अफिम नष्ट ग¥यो । सिंहको ७० हजार कमाउने सपना चकनाचुर भयो ।
आफूलाई डोल्पाको व्यापारी बताउने एक जना अपरिचित व्यक्तिले एक रोपनी बारीमा लगाएको अफिमबाट ६० देखि ७० हजार दिने प्रलोभन देखाएका कारण नन्दरामले अफिम खेती गरेका हुन् । तर प्रहरीले यो गैरकानुनी भनेपछि आफूलाई चेत खुलेको उनले बताए । सोही ठाउँका मोतीबहादुर सिंह पनि अहिले पश्चातापमा परेका छन् । अरुको भनाइमा लागेर अफिम खेती गरेका उनलाई प्रहरीले जेल हाल्ने बताएपछि सातो उडेको छ । अर्का किसान बृजबहादुर पुन ७० हजारको लोभले बर्बादीको बाटो लागेको स्वीकार गर्छन् । ‘हामीलाई यो खेती अपराध भन्ने के थाहा ? पैसा पाइन्छ धेरै भनेपछि धमाधम लगाइयो,’ पुनले भने । सिंह र पुन जस्तै दर्जनौं सोझा किसानहरूलाई तस्करले यसरी गलत काममा लगाउने गरेका छन् । किसानहरूको आर्थिक अभाव र सोझोपनको फाइदा तस्करले उठाउन खोजेको प्रहरी नायव उपरीक्षक दानबहादुर मल्ले बताए ।
जिल्लाको उत्तरपूर्वी क्षेत्रका खगेनकोट, रग्दा र भगवती गाविसमा तस्करको सल्लाहले नै अवैध रूपमा अफिम खेती गरिएको प्रनाउ मल्लको भनाइ छ । ‘विशेष सूचनाका आधारमा ती गाविसको ६० रोपनी जमिनमा गरिएको अवैध अफिम खेती प्रहरीले नष्ट गरेको छ । अरु स्थानमा पनि खेती हुनसक्छ अनुसन्धान जारी छ’ प्रनाउ मल्लले भने । गत विगतमा लुकी चोरी गरेको यस्तो खेतीबाट फाइदा भएकोले नै यसतर्फको आकर्षण बढेको हुनसक्ने प्रहरीको अनुमान छ । कतिपय स्थानमा अफिम खेती नष्ट गर्न प्रहरी पुग्दा गाउँलेहरू गाउँ छोेडेर भाग्ने गरेकाले यसको खेती पहिले गरिएको अनुमान प्रहरीले गरेको हो । किसानले १ रोपनीमा लगाएको अफिम तस्करले ७० हजारमा उठाएर १ करोड बढीमा कारोबार गर्ने गरेको प्रहरीको अनुमान छ ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७३, सोमबार ०९:५२