भाषा र संस्कृति हस्तान्तरणमा जोड
साझा बिसौनी संवाददाता
सुर्खेत, २ जेठ ।
भाषा तथा संस्कृति अन्तरपुस्तामा हस्तान्तरण अनिवार्य भएको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । नेपाल मगर महिला संघले आयोजना गरेको समावेशीकरण, सामाजिक न्याय, लैंगिक मूल प्रभाहीकरण दिगो शान्ति र मगरात राज्य प्राप्तीका लागि मगर महिलाहरूको भूमिका विषयक २ दिने प्रशिक्षण उद्घाटनका सहभागीहरूले जोड दिएका हुन् ।
कार्यक्रममा नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर वंशीले भाषा संस्कृतिलाई अनिवार्य अन्तरपुस्ताहरूमा हस्तान्तरण हुनु आवश्यक भएको बताए । उनले रितीरिवाज तथा संस्कृतिले नै मगरहरूको पहिचान भएकोले पहिचान बचाउनका लागि भए पनि महिला तथा युवाहरूमा जनचेतना आवश्यक भएको बताए । नेपाल मगर संघ सुर्खेतका सल्लाहकार टोपबहादुर दर्लामीले सङ्घीय संरचनामा देश गए पनि पूर्ण समानुपातिक सहभागीता नभएसम्म सङ्घीयताको कुनै अर्थ नहुने बताए । यसैगरी नेपाल मगर विद्यार्र्थी संघ सुर्खेतका संस्थापक अध्यक्ष हरिबहादुर थापाले सरकारको एकलवादी सोच भएका कारण सम्पूर्ण जनजातिहरूलाई राज्यले विभेद गरेको बताए ।
राज्यको विभेदकारी नीतिका कारण जातीय सङ्गठनहरूको स्थापना भएको भन्दै थापाले समानुपातिक सहभागिता नगराएसम्म जनजातिहरूको आन्दोलन नरोकिने जिकिर गरे । कार्यक्रममा नेपाल मगर महिला संघका केन्द्रीय अध्यक्ष गंगा खासुमगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष आशुराम सोमै, सिद्धार्थ सञ्चार सहकारीका अध्यक्ष दीपबहादुर राना, मगर महिला संघ सुर्खेतका अध्यक्ष नन्दकला थापा, लिसार सांस्कृतिक समूहका अध्यक्ष मधुसुदन थापा, विद्यार्थी रमेश रोका लगायतले मन्तव्य राखेका थिए ।
साझा बिसौनी संवाददाता ।