‘विद्यार्थी नेतृत्व शैक्षिक मुद्दामा केन्द्रित होस्’

विद्यार्थी संगठनहरू शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्ने हो । तर विगतदेखि नै नेतृत्व राजनीतिक मुद्दामा बढी केन्द्रित भएको पाइएको छ । शैक्षिक मुद्दाहरूको वकालत गर्ने भन्दै स्थापना भएका संगठनहरू र तिनको नेतृत्व राजनीतिक आस्थाका आधारमा संघर्ष गर्ने गरिरहेका छन् । जसका कारण आम विद्यार्थीहरूका शैक्षिक सवालहरू ओझेलमा छन् । यही विषयमा केन्द्रित रहेर हामीले अनेरास्ववियु सुर्खेतका सम्मेलनमा भाग लिन आएका विद्यार्थीहरूलाई ‘विद्यार्थीको नेतृत्वलाई तपाईं के सुझाव दिनुहुन्छ ?’ भनेर सोधेका छौं । प्रस्तुत छ विद्यार्थीहरूको धारणा जस्ताको त्यस्तैः

कृष्णकुमारी शर्मा अधिकारी
विद्यार्थीको अधिकारका लागि आवाज उठाउने नेतृत्व हाम्रा लागि आवश्यक छ । आयस्तर कम भएका र कमजोर आर्थिक अवस्था भएका परिवारका छोराछोरी अझै पनि शिक्षाको उज्यालो भन्दा बाहिर छन् । अझै पनि शतप्रतिशत बालबालिका शिक्षाको पहुँचमा छैनन् । यसर्थ गरीब, निमुखा र न्यून आयस्तर भएका परिवारको पनि शिक्षामा पहुँच हुने गरी आवाज उठाउने र एजेण्डालाई प्रभावकारी रूपमा अगाडी सार्ने नेतृत्व आजको आवश्यकता हो । विद्यार्थी राजनीतिमा आफ्नो दुनो सोझ्याउने होइन विद्यार्थीको हितमा काम गर्ने सक्षम नेतृत्व आवश्यक छ ।

 

दिपक खड्का
पढेर केही गर्छु भन्ने ईच्छा शक्ति भएका विद्यार्थीहरू उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था हाम्रो देशमा छ । आर्थिक रूपमा होस् वा भौगोलिक विकटताका कारण सबै युवा जनशक्तिले ईच्छा र क्षमता अनुसारको उच्च शिक्षा पाउन सकेका छैनन् । यसर्थमा विभिन्न विद्यार्थी संगठनहरूको नेतृत्वले विद्यार्थीको हकहितको पक्षमा काम गर्नुपर्छ । शिक्षा पनि आजको युग सुहाउँदो शिक्षाका लागि संगठनहरूले नेतृत्व लिन सकुन् र नेतृत्व लिनसक्ने व्यक्तिको जिम्मा अनेरास्ववियू लाग्नुपर्छ । अबको नेतृत्वले कुरा होइन साँच्चिकै काम गरेर उदाहरणीय बन्नुपर्छ ।

 

आशिष आचार्य
केही गर्नसक्ने र भिजन भएको विद्यार्थी नेतृत्व आजको आवश्यकता हो । विद्यार्थीका लागि लड्ने संगठनहरूले शिक्षा क्षेत्रमा आएका विकृतिहरूका विरुद्धमा आवाज उठाउन सक्नुपर्छ । गुणस्तरीय शिक्षा आज पनि विद्यार्थीले पाएका छैनन् । इन्जिनियरिङ्ग, विज्ञान तथा प्रविधि जस्ता विषयमा पढ्नबाट वञ्चित छन् । आजको विद्यार्थी नेतृत्वले विद्यार्थीका साझा एजेण्डालाई उठाउनुपर्छ । हिजोका समस्याहरू आजसम्म पनि समाधान भएका छैनन् । ग्रामीण क्षेत्रमा स्थापना भएका विद्यालयहरूमा समयमा पाठ्यक्रम पुग्न सकेको अवस्था छैन् । यस्ता मुद्दामा विद्यार्थीको राजनीतिक नेतृत्व अग्रसर हुनुपर्छ ।

 

रेखा थापा
विद्यार्थीको हक हितका लागि नेतृत्व गर्ने जिम्मेवारी पाएका व्यक्तिहरूले विद्यार्थीका साझा समस्यामा एकजुट भएर लाग्नुपर्छ । विद्यार्थीका समस्या के छन् भन्ने तर्फ केन्द्रित हुनुपर्छ । भोलिको दक्ष जनशक्ति उत्पादन गर्ने थलोका रूपमा रहेको विद्यालय क्षेत्रमा राजनीतिक आग्रह र पूर्वाग्रह नराखी विद्यार्थीका समस्या माथि केन्द्रित हुने नेतृत्व हुनुपर्छ । शिक्षामा गुणस्तर कायम गर्न सरोकारवाला निकाय मौन बसेको अवस्थामा घचघच्याउन संगठनिक आवाज उठाउनुपर्ने हुन्छ । विगतका दिनहरूमा जस्तो शिक्षा आजको युगमा काम नगर्ने भएकाले युग सुहाउँदो शिक्षाका आवश्यकता पहिचान गर्नसक्ने नेतृत्व आवश्यक पर्छ ।

 

डम्मर गरंंजा
विद्यार्थीको अधिकारका लागि लड्ने संगठनका रूपमा विभिन्न राजनीतिक आस्था राख्ने संगठनहरू रहेका छन् । राजनीतिक आस्थालाई शिक्षा क्षेत्रमा ल्याउनु भन्दा पनि विद्यार्थीका समस्यालाई ऊजागर गर्ने विद्यार्थी नेतृत्व आजका युगमा आवश्यक छ । विद्यार्थीका समस्या समाधानतर्फ केन्द्रित हुनुपर्छ । भौतिक संरचना अभावका कारण विद्यार्थीले पढ्न पाएका छैनन् । त्यस्तो समस्या भएका ठाउँमा समन्वयकारी भूमिका निर्वाह गर्नसक्ने सक्षम, निडर व्यक्तले विद्यार्थीका पक्षमा नेतृत्व गर्नुपर्छ ।

 

 

 

विवेचना खनाल
एउटा सामान्य अवस्थाको विद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीका समस्याहरू के छन् भन्ने कुराको विचार गर्नसक्ने व्यक्ति विद्यार्थी नेतृत्वमा पाउन गाह्रो छ । विद्यार्थीका क्षेत्रमा काम गर्न सक्ने क्षमतावान व्यक्ति छैनन् । जसले गर्दा आज देशमा गुणस्तरीय शिक्षा पाउन सकिरहेका छैनन् । विद्यालयमा शिक्षक छ/छैन, पठाउँछ/पढाउँदैन जस्ता कुरामा पनि विद्यार्थी नेतृत्वले ‘वाच’ गर्नुपर्छ । सक्षम, सवल र क्षमतावान मान्छेले विद्यार्थीका साझा समस्यालाई अगाडि सार्नसक्छ । समस्याको पहिचान गरी उनीहरूको अधिकारका क्षेत्रमा अबको नेतृत्वले काम गर्नपर्छ ।

 

 

कमल कठायत
हिजोदेखि विद्यार्थीहरू आन्दोलनतर्फ मात्रै केन्द्रित भए । उनीहरू आफ्ना शैक्षिक माग भन्दा पनि राजनीतिक नेतृत्वका समस्या समाधानतर्फ केन्द्रित भए । उनीहरू आफ्ना समस्याका केन्द्रित हुन सकेनन् । विद्यार्थीका साझा एजेण्डा समाधानतर्फ कुनै पनि राजनीतिक वा स्वतन्त्र विद्यार्थी युनियन पनि लागेको देखिदैंनन् । शिक्षा क्षेत्रमा सुधार ल्याउन यी संगठनहरूको सक्रियता हिजो पनि थियो, आज पनि छ । तसर्थ, विद्यार्थीका साझा मागमा विद्यार्थी नेतृत्वले त्यति चासो नदिएको पाइन्छ । विद्यार्थीको साझा नेतृत्व सडकमा टायर बालेर अवरोध गर्न होइन, विद्यार्थीका समस्यामा केन्द्रित हुनुपर्छ ।

 

सोनु शर्मा
विगतदेखि विद्यार्थीका समस्या समाधानतर्फ कोही केन्द्रित भएका छैनन् । विद्यार्थीका हकअधिकारमा काम गर्छौं भन्ने राजनीतिक दलका भ्रातृ संगठनहरूले आज पनि राजनीतिक स्वार्थदेखि टाढा हुनसकेको अवस्था छैन । उच्च शिक्षामा सबैको पहुँच छैन् । प्राविधिक शिक्षामा कुरै नगरौं । ग्रामीण भेगमा शिक्षा उत्साहजनक हुनसकेको अवस्था छैन । विद्यार्थीको हितमा काम गर्ने नेतृत्वको नजर ग्रामीण क्षेत्रका विद्यालय र विद्यार्थीमा कहिले पर्ने ? आज पनि डेक्स–बेञ्च नभएर भुइँमा बसेर पढ्न बाध्य छन् विद्यार्थी । ओत लाग्ने विद्यालयको भवन नभएको अवस्था छ । यी यस्ता समस्या समाधानतर्फ विद्यार्थी नेतृत्व केन्द्रित हुनुपर्छ ।

 

आशिका रेग्मी
शिक्षा क्षेत्रमा सुधार आवश्यक छ । विद्यार्थीको अधिकारका लागि लड्छौं भन्ने काम नेतृत्वले स्ववियु चुनाव केन्द्रित बनाएको पाइन्छ । विद्यार्थीका साझा समस्यामा भन्दा राजनीतिक आस्थामा विभाजित हुँदा विद्यार्थीले गुणस्तरीय शिक्षाबाट पछाडि परेका छन् । नेतृत्वको जिम्मेवारी पाएका व्यक्तिले विद्यार्थी भन्दा राजनीति प्यारो मान्ने गरेका छन् । कुनै बन्द, जुलुसका आमसभामा भाषणबाजी गर्ने नेतृत्व आज पनि छ । जसले गर्दा नेतृत्वमा पुगेका मान्छेको मात्रै हालिमुहाली हुने गरेको छ । विद्यार्थीका माग जहाँ थिए त्यही छन् । शिक्षाको अवस्था जस्ताका त्यस्तै छ । तर, अबका दिनमा विद्यार्थी नेतृत्वले विद्यार्थीमा माग र समस्या केन्द्रित हुनुपर्छ ।

प्रकाशित मितिः   १४ माघ २०७४, आईतवार १५:३५