प्रदेश सरकारको नेतृत्व नछोड्ने एमाले संसदीय दलको निर्णय

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ माघ ।
प्रदेश नम्बर ६ मा नेकपा एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको कसरत थालेको छ । चुनावी गठबन्धन भएको माओवादी केन्द्रसँग भागवण्डा हुँदा यो प्रदेशको नेतृत्व माओवादीले पाउने चर्चा चरिरहेको छ । तर एमालेको प्रदेश संसदीय दलको बैठकले कुनै पनि हालतमा प्रदेश सरकारको नेतृत्व नछोड्ने निर्णय गरेको हो ।


प्रदेशसभामा एमालेको एक्लै ५० प्रतिशत अर्थात् २० जना सांसद रहेको र एकल सरकार गठन गर्नसक्ने अवस्था रहेको निश्कर्ष संसदीय दलले निकालेको छ । सोमवार वीरेन्द्रनगरमा सम्पन्न प्रदेशसभा संसदीय दलको पहिलो बैठकले पार्टीकै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने निर्णय गरेको हो । प्रदेशसभाका सांसद यामलाल कँडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पार्टी केन्द्रको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रदेशमा आफ्नो सहभागिता विना सरकार नै गठन हुन नसक्ने अवस्था देखेपछि एमाले संसदीय दलले एकल सरकार गठन र सञ्चालन गर्नसक्ने दाबी पार्टी केन्द्रमा पेश गरेको हो ।
एमालेको प्रदेश नम्बर ६ संगठन कमिटीले यसअघि नै प्रदेश सरकारको नेतृत्वमा औपचारिक दाबी गरिसकेको छ । तर माओवादीसँग पार्टी एकता र भागवण्डाको बहस जारी रहँदा यो प्रदेशमा सरकारको नेतृत्व माओवादीको भागमा पर्ने चर्चा चलिरहेको छ । यही चर्चाकाबीच एमालेको प्रदेश संसदीय दलले पनि सरकारको नेतृत्व अरुलाई सुम्पन्न नसकिने औपचारिक निर्णय गरेको हो । यो निर्णयसँगै यो प्रदेशमा एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत सुरु गरेको छ । संसदीय दलको बैठकले गरेको निर्णयबारे जानकारी दिदैं एमाले नेता यामलाल कँडेलले भने, ‘हामीले एक्लै सरकार बनाउने अवस्था छ, हाम्रो सहभागिता विना सरकार नै गठन हुन सक्दैन । हामीले आफ्नै नेतृत्वमा सरकार बनाउने हो, यसका लागि पार्टीको केन्द्रमा पनि गम्भीर ध्यानाकर्षण गराएका छौं ।’
यो प्रदेशसभामा जम्मा ४० जना सांसद रहेका छन् । जसमध्ये एमालेसँग आधा अर्थात् २० जना सांसद छन् । यस्तै माओवादीसँग १३, कांग्रेससँग ६ र राप्रपाका एक जना सांसद छन् । सरकार गठनका लागि बहुमत संख्या २१ हो । एमाले बाहेक अरु सबै मिल्दा पनि सरकार गठनका लागि आवश्यक बहुमत पुग्दैन । तर बहुमतका लागि एमालेलाई एक जना मात्र सांसद अपुग छ । यस्तो अवस्थामा एमालेले राप्रपा एकजना मात्र सांसदलाई रिझाएर बहुमतको वा अल्पमतको भए पनि एकल सरकार बनाउने सम्भावना रहेको एमालेकै नेताहरू बताउँछन् । यही अवस्था आंकलन गर्र्दै एमाले संसदीय दलले सरकारको नेतृत्व नछोड्ने अडान लिएको हो । ‘पार्टी एकताको शर्त भागवण्डा हुन सक्दैन, अझ एउटै पार्टी भएको खण्डमा भागवण्डा के का लागि गर्ने ?’ एमाले प्रदेश नम्बर ६ का सहसंयोजकसमेत रहेका नेता कँडेलले भने, ‘प्रदेशमा पार्टीका सबै उम्मेदवारलाई जिताएका छौं, एक्लै सरकार बनाउने हैसियत बनेको छ । नेतृत्व अरुलाई सुम्पन्ने विषय मान्य हुुँदैन, आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गर्नेछौं ।’
सरकारको नेतृत्व नछोड्ने निर्णय गरे पनि बैठकले संसदीय दलको नेता भने छनौट गर्न सकेन । संसदीय दलको नेतामा नेता कँडेल र प्रकाश ज्वालाले रुची देखाएका छन् । संसदीय दलको नेता बन्दा मुख्यमन्त्रीको लागि बाटो खुला हुने भएकाले पनि यी दुई नेताले दलको नेतामा रुची देखाएका हुन् । पार्टीका प्रदेश संयोजकसमेत रहेका उपाध्यक्ष युवराज ज्ञवाली बैठकमा उपस्थित हुन नसकेपछि दलको नेता छनौट गर्ने काम हुन नसकेको बताइएको छ । यद्यपि नेता कँडेलले पहिलो बैठक आफ्नो अध्यक्षतामा बसिसकेकाले संसदीय दलको नेताका लागि अब कुनै समस्या नरहेको दाबी गरे । केही दिनभित्रमा नै औपचारिक रूपमा दलको नेता चयन हुने कँडेलको भनाइ छ । यस्तै बैठकले प्रदेशका कुनै पनि जिल्लाहरू हालसम्म काठमाडौंसँग सिधा हवाइ सेवामा नजोडिएकाले तत्काल नेपाल वायु सेवा निगम र निजी हवाइ कम्पनीहरूलाई काठमाडौंदेखि सुर्खेतसम्म सिधा हवाइ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । यस्तै प्रदेशको राजधानी सुर्खेतबाट प्रदेशका अन्य जिल्लामा तत्काल हवाइ उडानका लागि पहल गर्ने निर्णय दलको बैठकले गरेको छ ।

प्रकाशित मितिः   ९ माघ २०७४, मंगलवार १५:४०