कबोल गरिएको रकम विश्वविद्यालयलाई हस्तान्तरण
साझा बिसौनी संवाददाता
सुर्खेत, ८ माघ ।
वीरेन्द्रनगर ८ का देवकुमारी पाण्डेले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई आफूले सहयोग बोलेको बाँकी रकम करिब ८ वर्षपछि हस्तान्तरण गरेकी छन् । उनले वि.सं. २०६५ फागुन २५ देखि चैत २ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा विश्वविद्यालय स्थापनाका लागि सञ्चालन गरिएको महायज्ञममा आफ्ना स्वर्गीय पति जगनारायण पाण्डेको नाममा सात लाख दान गर्ने घोषणा गरेकी थिइन् ।
त्यसबेलामा उनले दुई लाख पाँच हजार दान गरेकी थिइन् भने बाँकी चार लाख ९५ हजारको चेक सोमवार विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ललाई हस्तान्तरण गरेकी हुन् । रकम हस्तान्तरण गरेपछि पाण्डेले आफूले गरेको दान शिक्षाको क्षेत्रमा सदुपयोग हुने विश्वास व्यक्त गरिन् । पाण्डे मध्यपश्चिमाञ्चल विश्व–विद्यालयका पूर्व उपकुलपति कालिप्रसाद पाण्डे, उपप्राध्यापक बच्चु कैलाश पाण्डे र गंगाप्रसाद पाण्डेको आमा हुन् ।
विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले विश्वविद्यालय स्थापनाको अभियानमा सहयोग गरेकोमा आभार व्यक्त गर्दै विश्वविद्यालयको इन्जिनियरिङ्ग संकायको जग्गा र भवन निर्माण कार्यमा चन्दाबाट प्राप्त रकम लगानी भएको बताए । विश्वविद्यालयको स्थापनाको लागि सञ्चालन गरिएको महायज्ञममा सहयोगीहरूले बोलेको रकम अझै करिब आठ करोड उठ्न बाँकी छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयले बाँकी रकम संकलनमा तिब्रता दिने र उठेको रकम विश्वविद्यालयको भौतिक संरचना निर्माणमा लगानी गरिने जानकारी दिएको छ ।
साझा बिसौनी संवाददाता ।