‘पूर्वाधारको अभाव नै खेलकुदको प्रमुख समस्या हो’

सुर्खेत जिल्ला फुटबल संघको पाँचौं जिल्ला अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व चयन भएसँगै संघले फुटबल गतिविधि बढाउने गरी काम सुरु गरेको छ । संघले विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्नेदेखि मेयर कप आयोजना गर्ने लगायतका योजना समेत अघि सारिसकेको छ । यही सेरोफेरोमा रहेर जिल्लामा फुटबल खेलको अवस्था, समस्या, चुनौती, संघको आगामी योजना लगायतका विषयमा हाम्रा सहकर्मी डिलप्रसाद शर्माले संघका महासचिव गणेशकुमार कार्कीसँग गरेको कुराकानीः

सुर्खेतमा फुटबल खेलको अवस्था कस्तो छ, बताइदिनुहोस् न ?
अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने एकदमै उत्साहजनक छ । किनकि पछिल्लो समयमा हामीले आयोजना गर्ने विभिन्न प्रतियोगिताहरूमा दर्शकहरूको उपस्थिति, उहाँहरूले देखाउने उत्साह र समर्थन हेर्दा सुर्खेतमा अन्य खेलको दाँजोमा फुटबल नै अगाडि रहेको देखिन्छ । यहाँका खेलाडीहरूको मेहेनत र उनीहरूले देखाएको उत्साहले पनि यसलाई सकारात्मक र प्रेरणादायी बनाएको छ ।
बाहिरबाट झट्ट हेर्दा विगतमा जस्तो अवस्था थियो अहिले पनि त्यस्तै नै देखिन्छ । सुधार भएको केही देखिदैंन नि ?
कुन कुरालाई सुधार मान्ने ? अपेक्षाकृत रूपमा भौतिक संरचनाको विकास भएको छैन, त्यसमा म सहमत छु । किनभने फुटबलका लागि आवश्यक पर्ने महŒवपूर्ण पूर्वाधार नै भौतिक संरचना हो । निश्चय पनि सुर्खेतमा त्यो तयार भएको छैन । यद्यपि हामी आशावादी के छौं भने हाम्रो स्थानीय सरकार छ । प्रान्तीय सरकार बन्दैछ । हामी प्रदेश राजधानीका रूपमा विकसित हुँदैछौं । र, राजधानीका रूपमा विकसित हुनका लागि एक महŒवपूर्ण पूर्वाधार भनेको अन्तर्राष्ट्रियस्तरको रंगशाला हो । कम्तीमा पनि ८० हजारदेखि एक लाखसम्म दर्शक अट्ने रंगशाला सुर्खेतमा आवश्यक छ । जहाँ फुटबल, एथ्लेटिक्स लगायतका विभिन्न खेलहरू सञ्चालन गर्न सकियोस् । यो अहिलेको माग हो ।
तर खेल क्षेत्रमा सुधार नै भएन वा कुनै परिवर्तन देखिएन भन्नुहुन्छ भने त्यसमा थोरै असहमति पनि जनाउँछु । रोहित चन्द जस्ता सफल, प्रभावशाली र प्रेरणादायी खेलाडीहरू हामीले यो माटोबाटै उत्पादन गरेका छौं । पछिल्लो समयमा २÷३ जनालाई अरु उमेर समूहमा एन्फा एकेडेमीमा पु¥याउन सफल भएका छौं । यो सुर्खेतको खेल क्षेत्रको ठूलो उपलब्धी मान्नुपर्छ । अर्काे कुरा उल्लेख गराँै, विगतमा फुटबल प्रतियोगिता हँुदा दर्शकहरूको सहभागिता उल्लेख्य हुन्थ्यो तर, खेलहरू निःशुल्क रूपमा खेलाइन्थ्यो । तर हामीले यहाँका दर्शकलाई शुल्क तिरेरै भए पनि फुटबल हेर्ने बनाएका छौं । जिल्लास्तरकै भए पनि कुनै खेलाडी डेढ घण्टासम्म खेल्छ, मैदानमा पसिना बगाउँछ, स्वस्थ मनोरञ्जन दिन्छ भने उ पनि एक किसिमले ‘स्टार’ हो । ऊसँग पनि कला छ । उसको कला हेर्न दर्शकले केही निश्चित रकम तिर्नुपर्छ भन्ने बानी बसालेका छौं । फलस्वरूपः अहिले दर्शकहरू १०÷२० रूपैयाँ प्रवेश शुल्क तिरेर फुटबल हेर्नुहुन्छ भनेपछि त्यो फुटबल खेलाडीका लागि हौसला पनि हो र खेल व्यवसायिक पनि बन्दैछ भन्ने प्रमाण पनि हो । यी तथ्यहरूले पनि यहाँको फुटबल खेलमा सुधार हुँदै गएको प्रष्ट पार्दछन् ।
जिल्लामा फुटबल खेलको अपेक्षाकृत रूपमा विकास हुन नसक्नुको कारण के हो ?
फुटबलको विकास हुन नसक्नुमा दुई वटा कारण मैले देखेको छु । एउटा, समाजमा किन खेल्ने, कसका लागि खेल्ने ? भविष्य सुरक्षित हुन्छ कि हुन्न ? जिन्दगीभरको ग्यारेण्टी कसले लिन्छ ? भन्ने सोचाई अभिभावकमा छ । खेल खेल्दैमा सन्तान बिग्रियो भन्ने सोचाइ अझै कायम छ । खेलकुदमा लागेमा खराब भइन्छ भन्ने मनस्थिति हाम्रा अभिभावकमा छ । त्यो हटाउनु पर्छ । खेलकुदमा आकर्षण गर्ने पूर्वाधार र वातावरण हामीसँगै छैन । हामी मध्यस्थकर्ताको भूमिका निर्वाह गर्छाैं । खेल क्षेत्रमा भएका अभाव पूर्ति गर्न सरकारसँग माग्ने हाम्रो काम हुन्छ । अब स्थानीय सरकार र प्रान्तीय सरकार हामीले आफ्नै ठाउँमा पाएका छौं । गतिलो र देखाउन लायक रंगशाला सरकारले निर्माण गरोस् । त्यसपछि हेरौँ, सुर्खेतमा फुटबल मात्रै होइन अन्य खेलले समेत कत्तिको फड्को मार्छन् ।
जिल्ला फुटबल संघले यहाँको फुटबल खेल र खेलाडीको विकासमा अहिलेसम्म गरेका उल्लेखनीय कार्य के हुन् ?
फुटबलको विकासका लागि नियमित प्रशिक्षण र प्रतियोगिता हुनुपर्छ । फुटबलमा मात्रै होइन, हरेक खेलहरूमा यी कार्य अनिवार्य छन् । नियमित प्रशिक्षणको व्यवस्था हामीसँग छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक जना कर्मचारी राखेरै प्रशिक्षक हामीलाई दिएको छ । तर, यहाँ हामीसँग प्रतियोगिताको अभाव भएको हो कि भन्ने महसुस भएको छ । यद्यपि, एन्फाले वार्षिक रूपमा दिने कार्यक्रम र एन्फाको कार्यतालिका अनुसार नियमित प्रतियोगिता भने भइरहेका छन् । विगतमा हामीले केन्द्रीय कार्यक्रम र बजेटको मात्रै मुख ताकेर नबसौं, हामीले स्थानीय स्तरमा स्रोत जुटाएर कम्तीमा एउटा प्रतियोगिता भए पनि गरौं भन्ने उद्देश्यले नगरपालिकासँग समन्वय गरेर वडास्तरीय कप आयोजना गरेका थियौं, जहाँ वीरेन्द्रनगरका तत्कालीन १२ वटा वडाको सहभागितामा प्रतियोगिता भएको थियो । यसरी हेर्ने हो भने नियमित प्रतियोगिताका बारेमा हामी योजना बनाउँदैछौं ।
फुटबल संघको आगामी योजना के छन् ?
आउँदो कार्यकालमा वर्तमान कार्यसमितिले नयाँ अवधारणा अघि सारेको छ । विद्यालयस्तरको फुटबललाई विकास नगरे फुटबलको स्तर माथि उठाउन सक्दैनौं । जसका लागि नियमित प्रशिक्षण र प्रतियोगिता हाम्रो प्राथमिकतामा छ । नियमित प्रशिक्षणका लागि हामीले कुनै पनि विद्यालयमा अध्ययनरत १४ वर्षमुनीका विद्यार्थीलाई सार्वजनिक सूचना निकालेरै बोलाउँछौं र हामी हाम्रा प्रशिक्षकहरूमार्फत् प्रशिक्षणको व्यवस्था मिलाउँछौं । उहाँहरूले प्रशिक्षणमा राम्रो गर्न सकेको खण्डमा विद्यालय, विव्यस, एन–प्याब्सन, प्याब्सनसँग बसेर कम्तीमा मासिक शुल्क मिनाह गर्नका लागि आग्रह गर्ने योजनामा छौं, ताकि उसको बुबाआमाले फुटबल खेलेर मासिक कमाई गरेको छ भन्ने अनुभूति होस् । एउटा बच्चाले खेल खेलेवापत मासिक शुल्क मिनाह हुन्छ भने आफ्नो विद्यार्थीमा गर्व गर्ने ठाउँ हुन्छ । नत्र कसैले पनि आफ्नो छोरा–छोरीलाई फुटबल खेल्न नपठाउने अवस्था आउन सक्छ । आफ्नो छोराछोरीले थोरै कमाए पनि गर्व गर्ने ठाउँ अभिभावकसँग मात्रै होइन विद्यालयसँग पनि हुन्छ । जिल्लाको टीम, क्षेत्र र प्रदेश तथा राष्ट्रिय स्तरमा खेल्ने खेलाडी बन्यो भने त्यो विद्यालय, अभिभावक र जिल्लाका प्रतिष्ठाको विषय हो । विद्यालय तहमा फुटबलको विकास गर्ने हाम्रो योजना छ ।
हामीले केही दिनमा सुर्खेतका पाँचवटा नगरपालिकाबीच मेयर कप प्रतियोगिता सञ्चालन गर्ने अवधारणा अघि सारेका छौं । प्रत्येक नगरबाट प्रतियोगितामा सहभागी हुन्छन् र खेल जितेर मेयर कप लिएर जानेछन् । यो स्थानीय तह रहेसम्म निरन्तर हुन्छ । हामी सम्झौता गरेर नै प्रत्येक वर्ष आयोजना गर्छौं । यदि अन्य नगरपालिकाले नमानेको खण्डमा वीरेन्द्रनगर नगरपालिकासँग वडास्तरीय प्रतियोगिता गर्ने र मेयर कप नाम दिने योजना हामीले बनाएका छौं । फुटबलका लागि जिल्ला समन्वय समितिको अवधारणामा त्यो प्रतियोगिता हुन्छ । अन्य प्रायोजकहरू खोजेर महिला र छात्र प्रतियोगिता गर्ने सोचाईमा छौं ।
स्थानीयस्तरमा निजी स्रोतबाट लगानी जुटाएर प्रतियोगिता सञ्चालन गर्न सकिने सम्भावना कत्तिको छ ?
अन्य जिल्लाहरूमा पनि स्थानीय सरकारको सहयोगमा विभिन्न ठाउँमा गोल्डकपहरू भइरहेका छन् । यस अवस्थामा हामीले सुर्खेतको खेलकुदको विकास गर्न र सुर्खेत पनि खेलकुदमा कम छैन भन्ने बनाउन सबै खेलप्रेमीहरू लाग्नुपर्छ । त्यसका लागि सुर्खेतका व्यवसायी, खेलप्रेमी, दर्शक, समर्थकका लागि हामीले एउटा प्रतिष्ठित आयोजना गर्नुपर्ने आवश्यकता छ । हाम्रामाझ के समस्या खड्किएको छ भने खेलकुदका लागि उपयुक्त रंगशाला र खेल मैदान नहुनु नै हो । मैदान आज पनि सुधार गर्न सकिएको छैन । त्यसकारणले ठूला योजना साकार बनाउने पूर्वाधार तयार हुनुप¥यो । हामी योजना बनाउन तयार छौं ।
यहाँको स्थानीय तहले के गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ, जसले गर्दा फुटबल विकासमा सहयोग पुगोस् ?
हाम्रा दुई माग छन्, जो स्थानीय सरकारले पूरा गर्नुपर्छ । आज पनि देखाउन लायक रंगशाला प्रदेशभरी छैन त्यसको सबैभन्दा ठूलो सम्भावना सुर्खेत हो । सुर्खेतको सन्दर्भमा भएको रंगशालाको अवस्था सबैले देखेका छन् । जिल्ला खेलकुद विकास समितिले पछिल्लो समयमा केही लगानी गरेर पुनर्निर्माण थालेको छ । त्यो अपर्याप्त छ । राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गर्न सक्ने अवस्था छैन । त्यो मैदानको स्तरोन्नति गर्नुपर्छ । रंगशालालाई जिल्लास्तरको भए पनि बनाउनुपर्छ । पहिले दश हजार अट्ने बनाए पनि कालान्तरमा बढाउनु पर्छ । हामीले अबका दिनमा स्थानीय सरकारलाई आग्रह गर्छौं र हामीलाई सहयोग गर्नुपर्छ । हामीले योजना अगाडि बढाएका छौं । फुटबलका लागि आवश्यक भौतिक संरचना निर्माण गरीदिने जिम्मेवारी स्थानीय सरकारको हो । हामीले पनि यहाँका स्थानीय सरकारसँग त्यही अपेक्षा गरेका छौं ।
तपार्इंहरूको नेतृत्व विगतको निरन्तरता मात्रै होइन कि विगतका भन्दा बढी काम हुन्छ भनेर आम खेलप्रेमीलाई कसरी विश्वास दिलाउनुहुन्छ ?
विगतको कार्यसमितिले पनि खेलको विकासका लागि पहल गरको हो । विगतको कार्यसमितिकै प्रयासले विभिन्न प्रतियोगिता सञ्चालन भए । त्यसैले विगतको नेतृत्वले सुरु गरेका कामहरूलाई निरन्तरता दिदैं सबैले महसुस गर्नेगरी नयाँ कामहरू पनि अबको कार्यसमितिले गर्नेछ । म सबै खेलप्रेमीहरूलाई यसमा विश्वस्त पार्न चाहन्छु ।
यहाँको मुख्य समस्या के हुन् र त्यसको समाधानका लागि यहाँहरूको योजना के छन् ?
सुर्खेत विगतको संरचना अनुसार क्षेत्रीय सदरमुकाम भएर पनि भौतिक पूर्वाधार विकासमा पछाडि पारिएको जिल्ला हो । जहाँ एउटा खेल खेल्नका लागि गतिलो मैदान र रंगशाला छैन । हामीले विभिन्न निकायसँगको समन्वयमा खेलकुदका गतिविधि गरेका कारण यो अवस्थाको रंगशाला बनेको हो । नत्र यही रंगशाला पनि पाउन मुस्किल थियो । अब हामी सबैभन्दा पहिला स्थानीय र प्रान्तीय सरकारसँगको समन्वयमा खेलकुदका लागि आवश्यक पूर्वाधार निर्र्माणमा जोड दिन्छौं । त्यसका साथसाथै खेलाडी उत्पादन, प्रशिक्षण र प्रतियोगिताहरू सञ्चालन गर्नु नै हाम्रो अबको योजना हो ।
अन्त्यमा केही भन्नु छ ?
सरकारले खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणमा पर्याप्त बजेट दिनुपर्दछ । खेलकुदबाट पैसो, इज्जत र प्रतिष्ठा कमाउन सकिन्छ भन्ने मानसिकताको विकास अभिभावकमा गराउनु जरुरी छ । यसको नेतृत्व स्थानीय सरकारले गरोस् । अभिभावकहरूले पनि खेलकुदले स्वस्थ राख्न सक्छ भन्ने बुझेर प्रतिभालाई प्रस्फूटन गर्ने अवसर दिनुहोला भन्न चाहन्छु । र, संघीय संरचनाअनुसार हुन लागेको प्रान्तीय सरकारले पनि खेल क्षेत्रलाई प्राथमिकतामा राखेर विकास गरोस् भन्ने शुभकामना दिन्छु ।

प्रकाशित मितिः   ११ माघ २०७४, बिहीबार १६:०९