विकासको ‘कर्णाली मोडेल’ लागू गर्ने अठोट

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ माघ ।
प्रदेश सभाका सांसदहरूले विकासको ‘कर्णाली मोडेल’ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश नम्बर ६ को भूगोल सुहाउँदो र गरिबी र अभावले थिचिएको कर्णालीको पहिचान बदल्ने गरी विकासको नयाँ मोडेल लागू गर्ने उनीहरूको भनाइ छ । आइतवार वीरेन्द्रनगरमा पद तथा गोपनीयताको सपथ खाएपछि यो प्रदेशका सांसदहरूले यहाँको विकास र समृद्धिका लागि मिलेर काम गर्ने बताए ।
देशको सबैभन्दा गरीब र भौतिक विकासमासमेत पछाडि रहेको यो प्रदेशको समृद्धिका लागि कुनै कसर बाँकी नराख्ने सांसदहरूको भनाइ छ । कर्णालीको भोक, अशिक्षा, गरिबी र सामाजिक विभेद अन्त्यका लागि विकासको नयाँ ‘कर्णाली मोडेल’ कार्यान्वयनमा ल्याउने अठोट प्रदेश सांसदहरूले गरेका हुन् । आइतवार सपथ ग्रहणपछि प्रदेश सांसद बिमला केसीले भनिन्, ‘कर्णाली अभाव र गरिबीले थलिएको छ, कर्णालीको विकास विना प्रदेशको समृद्धि सम्भव छैन । हामी अब कर्णालीको भौतिक विकास र सामाजिक रूपान्तरणमा जुट्नेछौं, यसका लागि विकासको नयाँ कर्णाली मोडेल लागू गर्नेछौं ।’ पाँच वर्षको अवधीमा कर्णालीको समृद्धि र विकासको मोडेल हेर्न मान्छेहरू यो प्रदेशमा आउने उनको दाबी छ ।
प्रदेश सभामा हुम्लाबाट विजयी सांसद जीवनबहादुर शाहीले कर्णालीको मुहार बदल्नेगरी प्रदेशसभाले काम गर्ने बताए । ‘मैले पद र गोपनीयताको मात्र सपथ खाएको छैन, कर्णालीको मुहार बदल्ने कसम पनि खाएको छु’ शाहीले भने, ‘तत्काल हुम्ला र डोल्पामा सडक पु¥याउन प्रदेश सभामा आवाज उठाउनेछु, रोजगारीका लागि कर्णालीका जनताले कालापहाड जानुपर्ने बाध्यताको अन्त्यका लागि आवश्यक नीति बनाउन पहल गर्नेछु । अब कर्णालीको काँचुली फेर्ने गरी प्रदेशको विकास मोडेल आवश्यक छ, यसले मात्र हाम्रो प्रदेशको समृद्धि सम्भव हुनेछ ।’ कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले प्रदेश सरकारमा आफूहरू प्रतिपक्षमा बस्नुपर्ने अवस्था रहे पनि विकासमा भने हातेमालो गर्ने बताए । भौतिक पूर्वाधारको विकासमा नै आफूहरूले प्राथमिकता दिने उनको भनाइ छ ।
‘गर्भवतीले बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता छ, सडक नहुँदा सुत्केरी गराउँन अस्पतालसम्म लैजान सक्ने अवस्था छैन’ सपथ ग्रहणपछि सांसद पद्मा खड्काले भनिन्, ‘प्रदेशका अधिकांश स्थानमा सडक पुगेको छैन, म सडक निर्माण र विस्तारको एजेण्डालाई अगाडि बढाउन संसदमा भूमिका खेल्नेछु ।’ यस्तै प्रदेश सभाका सांसद प्रकाश ज्वालाले हालसम्म पछाडि पारिएको प्रदेश ६ सम्भावनाहरूको खानी भएको बताए । पूर्वाधारमा कमजोर भए पनि स्रोतको धनी रहेको भन्दै उनले समग्र प्रदेशको समृद्धिका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘प्रदेश ६ भनेको कर्णालीको प्रतिविम्ब हो, कर्णालीको विकास नगरी प्रदेशको विकास हुन सक्दैन । हामी यसका लागि प्रतिबद्ध छौं, जलविद्युत र जडिबुटीको उत्पादन तथा प्रशोधनबाटै समृद्ध प्रदेश बनाउनेछौं ।’

प्रदेश प्रमुखले सम्हाले पदभार
प्रदेश ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको सपथ ग्रहण गरी काठमाडौंबाट सुर्खेत आइपुगेका खनालले आइतवार बिहान १० बजेदेखि आफ्नो जिम्मेवारी सम्हालेका हुन् । साविकको क्षेत्रीय वन तालिम केन्द्रमा प्रदेश प्रमुखको कार्यालय स्थापना भएसँगै खनालले आफ्नो पदभार सम्हालेका हुन् ।


पदभार ग्रहणपछि प्रदेश प्रमुख खनालले संघीयता कार्यान्वयनमा देश गएसँगै ६ नम्बर प्रदेशलाई सुनौलो र सुन्दर प्रदेशका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । गरीब र विपन्न प्रदेशका रूपमा रहेको ६ नम्बर प्रदेशलाई सबैको सहयोगमा विकसित प्रदेश बनाउन सकिने उनको भनाइ छ । ‘संघीयता गणतन्त्रपछिको नयाँ अभियान हो, अनुभव होइन्’ पदभार ग्रहणपछि उनले भने, ‘नयाँ युगको बाटो सुरु भएको छ, अब नयाँ युगसँगै यो प्रदेशलाई सुन्दर प्रदेश बनाउन मेरो पहल हुनेछ ।’ संघीयतासँगै नयाँ युगको सुरु भएको भन्दै प्रदेश प्रमुख खनालले सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

सपथ खान हेलिकोप्टर चार्टर
प्रदेश नम्बर ६ का प्रदेश सांसदहरूले हेलिकोप्टर चार्टर गरेर पद तथा गोपनीयताका सपथ खाएका छन् । आइतवार बिहान नेपाली सेनाको हेलिकोप्टर चार्टर गरेर काठमाडौंबाट सुर्खेत पुगेका सांसदहरूले दिउँसो सपथ खाएका हुन् । काठमाडौंमा रहेका २४ जना सांसद र प्रदेश प्रमुख दुर्गाकेशर खनाल समयमा नै आउन नसकेपछि सपथको कार्यक्रम पनि ढिला सुरु भएको थियो ।


हेलिकोप्टरबाट आएपछि आइतवार मात्र प्रदेश प्रमुख खनालले आफ्ना पदभार ग्रहण गरेका छन् । आफ्नो पदभार ग्रहण गरेसँगै उनले प्रदेश सभाका सांसदहरूलाई पनि पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । खनालले प्रदेश सभाका ज्येष्ठ सदस्य हिमबहादुर शाहीलाई सपथ खुवाए । जिल्ला समन्वय समितिको हलमा भएको एक समारोहमा सपथ खाएपछि ज्येष्ठ सदस्य शाहीले बाँकी सांसदहरूलाई सपथ खुवाएका छन् । दिउँसो १ बजे भएको कार्यक्रममा यो प्रदेशका प्रत्यक्षतर्फका २४ र समानुपातिक तर्फका १६ गरी ४० जना सासंदले सपथ खाएका छन् ।
बिहान ११ बजे सपथको कार्यक्रम तय भएको थियो । तर प्रदेश प्रमुख र अधिकांश सांसदहरू काठमाडौंबाट ढिला पुगेपछि सपथको कार्यक्रम दिउँसोका लागि सारिएको थियो ।
शनिवार नै प्रदेश प्रमुख र सांसदहरू वीरेन्द्रनगर आउने भनिए पनि मौसम खराबीका कारण जहाज अवतरण नभएपछि आइतवार बिहान हेलिकोप्टर चार्टर गरेर उनीहरू सुर्खेत आएका हुन् । सांसदहरूलाई सपथ खुवाउँदै प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशको समृद्धिका लागि मिलेर काम गर्नुपर्ने बेला आएको बताए ।

प्रकाशित मितिः   ८ माघ २०७४, सोमबार १६:३२