‘घरबाट चोरेर अरुलाई सहयोग गर्थें’
प्रदेश नं. ६ कि सांसद पद्मा खड्का वि.सं. २०३८ साल पुस २२ गते वीरेन्द्रनगरको लाटीकोइलीमा जन्मिइन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी उनी नेकपा एमाले जिल्ला कमिटी सुर्खेतकी सदस्य हुन् । हालैमात्र उनी समानुपातिकबाट प्रदेश नं. ६ को प्रदेशसभाको सांसदमा निर्वाचित भएकी छन् । अखिल नेपाल अखिल महिला संघको कोषाध्यक्षसमेत रहेकी खड्काले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेकी छन्ः
विद्यालय बिदा भएको दिन हामी भेरी नदीमा जान्थ्यौं । घाँस–दाउँरा गर्ने बहानामा भेरीमा गएर पौडी खेल्थ्यौं । एक दिन पौडी खेल्दा–खेल्दै म त नदीसँगै बगेछु । एक जना माझी अंकलले बचाउनुभयो । त्यस दिनबाट अहिलेसम्म पौडी खेलेको छैन । अझै पनि त्यो दिन सम्झदा डर लागेर आउँछ ।
म सबैभन्दा जेठी छोरी । हाम्रो परिवार कृषि पेसा गथ्र्यो । बुबाले कृषि सँगसँगै राजनीति पनि गर्नुहुन्थ्यो । हाम्रो गाउँमा कम्युनिष्ट राजनीति गर्ने परिवार भनेर छिमेकीले पराइको जस्तो व्यवहार गर्थे । तर पनि बुबाले त्यो ठाउँ छोड्नु भएन । हामी त्यही ठाउँमा हुर्कियौं । त्यही ठाउँमा पढ्यौं ।
मैले कक्षा १ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बामेखोलामा पढें । कक्षा १ देखि नै पढाइमा राम्रो थिएँ । पहिलो र दोस्रो हुन्थें । बिहान घरको काम गर्ने, बहिनीहरूको सरसफाइ गरिदिने, खाना खाएर विद्यालय जाने मेरो दैनिकी जस्तै हुन्थ्यो । धेरै भाईबहिनी भएकोले पनि दुःख भोग्नुप¥यो । तर त्यो दुःखले संघर्ष गर्न सिकायो ।
त्यसबेलामा अहिले जस्तो प्रत्येक घर–घरमा बिजुली बत्ती थिएन । रातीमा दियालो बालेर पढ्नुपथ्र्यो । घरको काम धेरै हुने भएकोले पढ्ने समय भनेको साँझको समयमा हुन्थ्यो । त्यसकारण रातीमा दियालो बालेर पढ्थ्यौं । बुबाआमाले जंगलबाट दियालो खोजेर ल्याइदिनुहुन्थ्यो । किताबका पाठहरू प्रायः सबै कण्ठ गर्थें । सबैले हामीलाई छोरीछोरी छन् भनेर एक्लो बनाएका थिए । उनीहरूको अगाडि धेरै पढ्नुपर्छ भन्ने पनि लाग्थ्यो ।
कक्षा ६ देखि जनसेवा मावि घुस्रामा पढ्न जानुपर्ने हुन्थ्यो । घरबाट करिब एक घण्टा समय लाग्थ्यो । घरको सबै काम सकेर बिहान ९ बजे स्कुल हिँडिहाल्नुपथ्र्यो । साना बहिनीहरूलाई खाना खुवाएर, पोशाक लगाइदिएर म विद्यालय जान्थें । विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापहरूमा सहभागी हुन अघि सरिहाल्थें । मलाई जान्ने छ भनेर पनि साथीहरूले भाग लिन प्रोत्साहित पनि गर्थे । धेरै जसो वक्तृत्वकला प्रतियोगितामा भाग लिन्थें । प्रायः प्रथम नै हुन्थें । विद्यालमा कक्षा मनिटर पनि हुन्थें । प्रायः सबैले मलाई यो पढाइमा राम्रो छ यही नै कक्षा मनिटर हुनुपर्छ भनेर भन्नुहुन्थ्यो । मलाई तिमी भविष्यमा नेता नै बन्छौं भनेर भन्थे ।
कक्षा ८ मा पढ्दै गर्दा विद्यालयमा क्याम्पसबाट अखिल क्रान्ति पाँचौं गठन गर्न विद्यार्थी नेताहरू जानुभएको थियो । म त्यस बेलामा विद्यालयमा सचिव भएँ । त्यसपछि विद्यार्थीहरूको भेलामा जाने, विद्यालयमा केही भयो भने सामूहिक रूपमा आवाज उठाउने गथ्र्यौ । २०५४ सालको स्थानीय तहको चुनावमा पार्टीलाई जिताउनको लागि सक्रिय भएर काम गर्ने पनि अवसर पनि पाएँ ।
म सानैदेखि सहयोगी भावनाको थिएँ । घरबाट चोरेर पनि अरुलाई सहयोग गथें । एक पटक विद्यालयको कार्यक्रम थियो । मेरो साथीसँग पैसा थिएन । पैसा नभएर कार्यक्रममा नजाने भएपछि मैले घरको कुखुरा चोरेर तीन सयमा बेचें र साथीलाई दिएँ । पछि घरमा आमाबुबाले थाहा पाएर गाली गर्नुभएको थियो । मैले कुखुरा बेचेको पैसा साथीलाई कार्यक्रममा जानको लागि दिएँ भने ।
एक पटक साथीहरूबीचमा कसले कति अमिलो खान सक्ने भनेर प्रतिष्पर्धा गर्ने सहमति भयो । घरमा धेरै अमिलो खान पाइदैन भनेर छिमेकीको अमिलो चोरेर खाने भनेर अमिलो चो¥यौं । मैले त त्यस्तै दुई र आधा जति खान सकें । साथीहरूले त तीन चारवटासम्म पनि खाए । पछि अमिलो खाँदाखाँदै मालिकले थाहा पाइहाले । नराम्रो सँग गाली गरे । पछि अमिलो चोरेर खाएको गाली लाग्दैन भनेर फकाएर घर गयौं ।
कक्षा ८ मा पढ्दा हो । शिवरात्रीको दिन थियो । भाङ नखाए पनि अरु प्रसाद भए पनि खानुपर्छ भनेर धेरै भाङ मिसाएर खान दिएछन् । त्यो भाङ खाएको दिनदेखि तीन दिनसम्म केही थाहा पाइएन । साथीहरूलाई बुबाआमाले गाली गर्नुभएछ ।
वि.सं. २०५५ सालमा विवाह भयो । त्यसबेलामा मैले कक्षा ९ को भर्खरै परीक्षा दिएकी थिएँ । घरपरिवार र दुवैको सहमतिमा विवाह गरें । मैले विवाह गरे पनि पढाइलाई रोकिनँ । सँगै विद्यार्थी राजनीतिलाई पनि अघि बढाएँ । घरपरिवारको सहयोगले राम्रोसँग एसएलसी पनि उत्तीर्ण गरें ।
मेरो बुबाले मैले एक जना छोरीलाई जसरी पनि राजनीतिक क्षेत्रमा ल्याउँछु भनेर भन्नुहुन्थ्यो । म सानैनैदेखि विद्यार्थी संगठनमा लागेको भएको कारण पनि मलाई बुबाले अघि पढ्न प्रेरणा दिनुहुन्थ्यो । साविकको लाटीकोइली गाविसको पार्टीको सचिव हुँदै क्षेत्रीय कमिटीको सदस्य, अहिले अखिल नेपाल महिला संघको कोषाध्यक्ष र पार्टीको जिल्ला सदस्यमा छु । बाल्यकालमा गरेको दुःख संघर्षले आज यो स्थानसम्म ल्याएको छ । सायद संघर्ष नगरेको भए समाजमा यसरी काम गर्ने अवसर पाउने थिइनँ होला । सांसद भएपछि धेरै जिम्मेवारी थपिएको महसुस भएको छ । मेरो कार्यकालमा सुर्खेतमा मात्र नभएर योे ६ नम्बर प्रदेशभरीका महिलाहरूको सशक्तीकरणको लागि काम गर्नेछु ।
साझा बिसौनी संवाददाता ।