मैकोटको घोर्डासे खेलः एक चर्चा

शेरबहादुर खत्री ‘कञ्चन’
परिचय
प्रसंग, पूर्वी रुकुमको मैकोटमा हरेक वर्ष मंसिर संक्रान्ति पर्वका अवसरमा खेलाइने घोर्डासे खेलको हो । यो एक प्रकारको कुस्ती जस्तै लाग्ने खेल हो । पछिल्लो समय यहाँका स्थानीय युवाहरू पुपाल युवा क्लवको माध्यमबाट यस खेलको संरक्षणमा जुटेका छन् । मैकोटमा घोर्डासे खेल निकै लोकप्रिय मानिन्छ । यस खेलले मैकोट गाउँको शाब्दिक अर्थलाई छर्लंग पार्दछ । मैकोट सामरिक दृष्टिले उच्च ठाउँ हो, जहाँ मईहरू तैनाथी हुन्थे । जसलाई ‘कोइ’ भनिन्थ्यो । कोइको अर्थ हातहतियारले सु–सज्जित उच्च ठाउँ भनेर बुझिन्छ । यसरी ‘मइकोइ’ बाट ‘मइकात’ हुन गइ समयको अन्तरालमा अपभं्रश हुन गइ मैकोट नाम रहन गएको स्थानीयको तर्क रहेको छ । त्यसैले मैकोट परापूर्वकालदेखि पहलमानहरूको किल्ला हो ।


मौलिक संस्कृति, परम्परा, जीवनशैली, रहनसहन, भेषभूषा, भाषा यहाँको आकर्षण हो । मगर जातिको बसोबासस्थल मैकोट पुन थर भएका मगरको उद्गम थलो मानिन्छ । मैकोट आफैमा हिमाली सौन्दर्यको खानी हो । यसै ठाउँमा मंसिरे संक्रान्तिमा खेलाइन्छ, घोर्डासे खेल । आपसमा छातीमा हात राखेर जतिसक्दो बल प्रयोग गरेर ठेलाठेल गरी यो खेल खेलिन्छ । पहिले पहिले नियममा बाँधेर खेलाइदैंनथ्यो, स्थानीय वृद्धहरूका अनुसार निश्चित मेलापर्वमा गाउँका तालुकदारले कचहरी बोलाएर घोर्डासे खेलाउने चलन थियो । विजयी जवान पहलमानको रूपमा तालुकदारको दायाँ हातका रूपमा शक्ति पुग्थ्यो । जसलाई स्थानीय भाषामा मइ भनिन्थ्यो । मइहरू बहादुर, साहसी, बलिष्ठ र निडर हुन्थे । वर्षैपिच्छे नयाँ–नयाँ मइहरू जन्माइन्थे । मइहरूलाई छिमेकीसँगको टकरावमा अगाडि सारिन्थ्यो । मइहरू बलियाबांगा हुन्थे ।
मइहरूको भरणपोषणको व्यवस्था स्थानीय गाउँलेबाट नै हुनेगथ्र्यो । उनीहरूसँग आइलाग्ने शत्रुसँग जाइलाग्न हतियार पनि हुन्थ्यो ।
मइहरूको आवश्यकता
स्थानीय वृद्धहरूको भनाइलाई आधार मान्दा उतिबेला भोटतर्फ नुन बोक्ने मौसममा बढी ‘मइ’हरू आवश्यक पर्दथे । अहिलेको डोल्पा, त्यसबेलाको भोटक्षेत्र । भोट छिर्ने पहिलोद्वारको रूपमा मैकोट नाका हुन्थ्यो । यो खासमा व्यापारिक बाटो भएको ठाउँ हो । अहिलेका बागलुङ, सल्यान, पश्चिम रुकुम, रोल्पाका ग्रामीण भेगबाट नुन बोक्न गाउँका गाउँ ढाकरेहरू लस्करै मैकोट भएर भोट छिर्नु पर्दथ्र्यो । स्थानीय कमजोर भएको खण्डमा उतिबेलाको जगाड (तिरो÷भंसार कर) नतिरेरै नुन निकासी गर्दथे । त्यति मात्र नभएर तिनको थप थिचोमिचो सहनुपथ्र्यो । यसबाट गाउँलाई हुने आम्दानी सुक्दथ्यो । यसरी मैकोटीहरू आजित भइसकेका थिए । यस्तो अवस्था महसुस गरेपछि मैकोटका तालुकदारहरूबाट ‘मइ’ उत्पादन गर्ने प्रथा बसालिएको मानिन्छ । समयान्तरमा यो परम्परागत संस्कारको रूपमा कायम भयो । ढाकरेको समूहमध्येबाट बलवान कहलिएको व्यक्ति र स्थानीय मइ कचहरीको बीचमा ज्यानको बाजी राखेर घम्साघम्सी लड्नुपथ्र्यो । अन्तमा त्यहाँका मइहरू नै विजयी हुन्थे । किनभने तिनीहरू कुस्तीकै लागि सिङ्गो गाउँबाट पालिएका थिए । लड्न लडाउनमै तिनीहरू प्रशिक्षित थिए । यसरी मैकोट गाउँ पहलमानहरूको गाउँको रूपमा चिनियो ।
नियमबद्ध प्रतिस्पर्धा
तर आजभोलि यो खेल नियमबद्ध रूपमा मंसिरे संक्रान्तिमा स्थानीय पुपाल युवा क्लबको सक्रियतामा खेलाउन थालिएको छ । यस खेलमा जवान युवाबीच नियमबद्ध भइ घम्साघम्सी लडेर कुनै एक बलवान युवालाई विजयी घोषित गरिन्छ । विजयीलाई पगरीले गुथेर विशेष सम्मानसाथ पुरस्कृत गरिन्छ । यो यहाँको मौलिक खेल हो । जसले स्थानीय सांस्कृतिक मूल्यमान्ताको उजागर गर्दछ ।
यो खेल खेलाउन आवश्यक पर्ने सामग्रीहरू
– एउटा खुला चौर, जहाँ कोर्ट बनाउनुपर्छ ।
– ६ वर्ग मिटरको दूरीले रेखांकन गरिनुपर्छ । झन्डैझन्डै मार्सल आर्टसको एरिना शैलीमा ।
– रेफ्री–१ जना, सहायक रेफ्री–२ जना र टाइमकिपर–१ गरी जम्मा ४ जना, डोरी, चुना र सिठी आवश्यक पर्छ ।
– १७ मिनेटको समययावधिलाई ३ भागमा बाँडेर दुईपटक खेलाइन्छ जसमा एक÷एक मिनेटको दरले ‘रेष्ट टाइम’ छुट्याइनुपर्छ ।
– पहिलो चरण, क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल गरी तीन चरणमा खेल खेलाइन्छ ।
– खेलको नियमभित्र रहेर जसले घम्साघम्सी लडेर आफूलाई खेलमा उत्कुष्ट सावित गर्छ त्यही एक बलवान युवालाई विजयी घोषित गरिन्छ ।
– सबैभन्दा रोचक त ‘रेष्ट टाइम’मा आ–आफ्नो पक्षको खेलाडीलाई मालिस गर्न आ–आफ्ना समर्थकहरू निकै तछाडमछाड गर्ने गर्छन् ।
हालसम्म घोषित मइहरू
– खालपुर विश्वकर्मा,
– असीम मगर
यो अनौठो शैलीको सांस्कृतिक पहिचानलाई जोगाइ राख्न स्थानीय युवाहरूले सकारात्मक पहल थालेका छन् र मैकोटमा नै घार्डासे खेल सञ्चालन गरिन्छ । यसरी यो खेलले खेल पर्यटकहरूको ध्यान सहजै तान्ने भएकाले घोर्डासे खेल पर्यटक लक्षित मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलकै रूपमा विकास गर्नु आवश्यक छ । यस खेलले आगन्तुक पाहुनालाई मनोरञ्जन दिनुका साथै घोर्डासे खेल समग्र मैकोटको जीवित इतिहास तथा संस्कृतिलाई झल्काउने राम्रो अवसर हो । यस खेलको संरक्षण र विकासले मैकोटको खेल पर्यटनलाई मात्र नभइ खेल संस्कृतिको लागि पुग्नैपर्ने गन्तव्यको रूपमा विकास गर्नु आवश्यक छ भने यस खेल संस्कृतिको उचित संरक्षण गर्न र गराउन स्थानीय मात्र होइन राज्यका निकायहरू, समाजसेवी, राजनीतिज्ञ, विद्यार्थी, शिक्षक सबैले प्रचार–प्रसार गरी व्यवसायिक रूपमा खेलाउने र खेल्ने वातावरण बनाउन सके मात्र यस खेलको समुचित विकास हुन्छ ।
घोर्डासे खेलको विकास गर्ने उपायहरू
– स्थानीय तहमा स्थानीय खेल पाठ्यक्रम तयार गरि स्थानीय विद्यालयमा खेलाइनुपर्छ ।
– यस खेललाई वैज्ञानिक र व्यवस्थित रूपमा खेलाउन शारीरिक शिक्षाका शिक्षक, विषय विज्ञ र स्थानीय तहले छलफल गरी खेलका नियमहरू तयार गर्नुपर्छ ।
– स्थानीय विद्यालयमा विद्यार्थीको उमेर, रुची, क्षमता र आवश्यकतालाई हेरि खेल समूह बनाएर प्रतिस्पर्धा गराउनुपर्छ ।
– यो खेल छात्रले मात्र होइन छात्राले समेत खेल्ने वातावरण तयार गर्नुपर्छ ।
– शारीरिक र मानसिक रूपमा अपांगता भएका बालबालिकाहरूले पनि खेल्न सक्ने गरी विकास गरिनुपर्छ ।
– यस खेललाई अन्तर सदन, अन्तर विद्यालय र अन्तर जिल्ला प्रतिस्पर्धा गराइ प्रचार–प्रसार गर्नुपर्छ ।
– प्रत्येक विद्यालयमा अतिरिक्त खेलकुद क्रियाकलाप सञ्चालन गर्न शारीरिक शिक्षा तथा खेलकुद शिक्षकको व्यवस्था गर्नुपर्छ ।
निश्कर्ष
पहलमानी जस्तै लाग्ने यो खेलसँग पहाडी तथा हिमाली जीवनको परम्परा जोडिएको छ । भौगोलिक दृष्टिले पूर्वी रुकुमको उत्तरपूर्वी दिशामा अवस्थित मैकोट विकट तर रमणिय गाउँ भएता पनि प्रकृति र संस्कृतिको अनुपम संगमले मैकोट पर्यटन मात्र नभएर खेल तथा संस्कृति लगायत पर्यटनका लागि पुग्नैपर्ने गन्तव्यस्थल हो । अन्तमा मंसिर संक्रान्तिमा घोर्डासे खेल हेर्न जाऔं है रमणीय गाउँ मैकोट, स्थानीय घोर्डासे खेलको विकास र प्रचार–प्रसार गर्न तपाईंका सहयोगी हात र मनहरूलाई स्वागत गर्न पर्खिरहेको छ घोर्डासे खेल अनि सुन्दर मैकोट ।
(शारीरिक शिक्षासँग सम्बन्धित लेखकले स्थानीय सुरविन्द्रकुमार पुनसँगको कुराकानीमा आधारित रहेर यो आलेख तयार पारेका हुन् ।)

प्रकाशित मितिः   ८ माघ २०७४, सोमबार १६:२५