प्रदेश प्रमुखको कार्यालय स्थापना

साझा बिसौनी संवाददाता
सुर्खेत, ६ माघ ।
मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालयको भवनमा प्रदेश प्रमुखको कार्यालय स्थापना भएको छ । प्रदेश नम्बर ६ का प्रदेश प्रमुखको कार्यालय, सचिवालय, निवास, बैठक कक्ष र सुरक्षा व्यारेक रहने गरी वन निर्देशनालयको भवनका कार्यालय स्थापना गरिएको हो । सँगै रहेकाले वन तालिम केन्द्रको भवन पनि प्रदेश प्रमुखको सचिवालयले प्रयोग गर्नेछ ।


प्रदेश सरकारका लागि आवश्यक भौतिक संरचनाहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएको मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयले शनिवार प्रदेश प्रमुखको कार्यालय स्थापना गरेको हो । कार्यालयमा आवश्यक फर्निचर व्यवस्थापन, सरसफाइ र रंगरोगनको काम पनि सम्पन्न भएको छ । शनिवारबाटै प्रदेश प्रमुखको कार्यालयमा नेपाली सेनाले सुरक्षा दिन सुरु गरिसकेको छ । कार्यालयको सुरक्षार्थ सेनाले १३ जना जनशक्ति खटाएको छ । यस्तै सशस्त्र र नेपाल प्रहरीले पनि कार्यालयमा सुरक्षा दिनेछन् । प्रदेश प्रमुखको पदभार ग्रहणसँगै आवश्यक कर्मचारी पनि कार्यालयमा खट्ने बताइएको छ ।
प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतवार मात्र आफ्नो पदभार ग्रहण गर्नेछन् । बिहान १० बजे खनालको पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको क्षेत्रीय प्रशासक सुरेश प्रधानले जानकारी दिए । उनका अनुसार प्रदेश प्रमुखको कार्यालयमा आवश्यक सजावट र व्यवस्थापनको काम सकिएको छ । सुरक्षा व्यवस्था पनि मिलाइएको उनले बताए । उनका अनुसार प्रदेश प्रमुखसँग भेटघाट गर्नेहरूका लागि छुट्टै कक्षकोसमेत व्यवस्था गरिएको छ । प्रदेश प्रमुखले आफ्नो पदभार ग्रहण गरेपछि मात्र यो प्रदेशबाट निर्वाचित प्रदेशसभाका सांसदहरूलाई सपथ खुवाउने कार्यक्रम राखिएको छ ।
यस्तै प्रदेशसभाका सदस्यहरूको सपथका लागि सुर्खेतमा सबै तयारी पूरा भएको छ । प्रदेश ६ का प्रदेशसभाका सदस्यहरूको सपथ वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको हलमा हुने भएको हो । सपथका लागि जिल्ला समन्वय समितिको हलमा सिंगार तथा सजावटको काम पनि सम्पन्न भएको छ । प्रदेश प्रमुखको कार्यालयमा ठूलो हल नभएको र प्रदेशसभाका लागि प्रस्ताव गरिएको भवनमा सजावटको काम बाँकी नै रहेकाले जिल्ला समन्वय समितिको हलमा सपथ खुवाउन लागिएको हो । नवनियुक्त प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतवार बिहान ११ बजे प्रदेशसभाका सांसदहरूलाई पद तथा गोपनीयताको सपथ खुवाउने छन् । गत मंसिर १० र २१ गते गरी सम्पन्न भएको निर्वाचनबाट विजयी भएका प्रदेश सांसदहरूलाई संविधान अनुसार यो प्रदेशका प्रदेश प्रमुखले सपथ खुवाउने गरी सबै तयारी पूरा भएको क्षेत्रीय प्रशासन कार्यालयका अधिकृत केशव उपाध्यायले बताए ।
‘प्रदेश प्रमुखको कार्यालय स्थापना गरिसक्यौं, सजावटको काम पनि सम्पन्न भयो’ उपाध्यायले भने, ‘अब प्रदेश प्रमुखलाई कार्यालयमा स्वागत गर्न हामी तयारी हालतमा छौं, आइतवार नै उहाँले आफ्नो पदभार ग्रहण सम्हाल्नु हुनेछ ।’ उनका अनुसार प्रदेश प्रमुख खनाल आइतवार बिहान मात्र वीरेन्द्रनगर आउनेछन् ।
सपथका लागि काठमाडौं गएका खनाल शनिवार फिर्ता हुने कार्यक्रम थियो । तर नेपालगन्जमा बाक्लो हुस्सु लागेका कारण जहाज अवतरण हुन नसकेपछि खनाल सुर्खेत आउन नसकेका हुन् । आइतवार हेलिकोप्टरबाट भए पनि प्रदेश प्रमुख र केही प्रदेश सांसदहरू सिधै वीरेन्द्रनगर आउने उनले जानकारी दिए । तोकिएको समयमा नै सपथको काम हुने उनको भनाइ छ । सपथ ग्रहणका लागि अधिकांश प्रदेशसभाका सांसदहरू वीरेन्द्रनगर पुगिसकेका छन् । ६ नम्बर प्रदेशमा २४ जना प्रत्यक्ष र १६ जना समानुपातिकतर्फका गरी जम्मा ४० जना सांसदले सपथ खानेछन् ।

पहिलो सपथ शाहीलाई

यसैबीच प्रदेशसभका सांसद हिमबहादुर शाहीलाई प्रदेश प्रमुखले सबैभन्दा पहिला सपथ खुवाउनेछन् । प्रदेशसभाका सदस्यहरूमध्ये सबैभन्दा ज्येष्ठ सदस्य शाहीलाई प्रदेश प्रमुखले सपथ खुवाएपछि मात्र बाँकी सांसदले सपथ खानेछन् ।
बाँकी सांसदलाई भने ज्येष्ठ सांसद शाहीले सपथ खुवाउनेछन् । नेपाली कांग्रेसबाट समानुपातिकतर्फ विजयी भएका सांसद शाहीको दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका बासिन्दा हुन् । उनको जन्म वि.सं. २००६ भदौ २६ गते भएको हो ।

प्रकाशित मितिः   ७ माघ २०७४, आईतवार १६:५२