होटल व्यवसायमा लगानी बढ्दै
साझा बिसौनी संवाददाता
सुर्खेत, ६ माघ ।
पछिल्लो समय जिल्लामा होटल व्यवसायमा लगानी बढ्दै गएको छ । प्रदेश नम्बर ६ को अस्थायी राजधानी सुर्खेत भएसँगै जिल्लामा होटल व्यवसाय गर्नेहरूको संख्या बढ्दै गएको हो । सरकारले ६ नम्बर प्रदेशको अस्थायी राजधानी तोकेसँगै वीरेन्द्रनगर उपत्यका बाहिरसमेत होटलहरू सञ्चालनमा आउन थालेका छन् ।
६ नम्बर प्रदेशको मुख्य प्रवेशद्वारका रूपमा रहेका सुर्खेतमा आन्तरिक तथा बाह्य पर्यटकहरू लक्षित गरी ठूलो लगानीमा होटेल सञ्चालन आउने क्रम बढ्दै गएको हो । मुगुको रारा ताल, मानसरोवर लगायतका पर्यटकीय क्षेत्रमा बाह्य पर्यटकहरू बढेसँगै युवा व्यवसायी होटल व्यवसायतर्फ आकर्षित भएका छन् । पछिल्लो समयमा वीरेन्द्रनगर उपत्यकामा मात्रै होइन् उपत्यका बाहिर समेत सुविधा सम्पन्न होटलहरू सञ्चालनमा आउन थालेका हुन् ।
पर्यटकहरू बढेसँगै राम्रो आम्दानी हुने भएकाले होटल व्यवसायमा लगानी बढ्दै गएको व्यवसायीहरू बताउँदै आएका छन् । ‘रारा र मानसरोबर हेर्न बाह्य पर्यटकको लर्काे लाग्ने गरेको छ ।’ क्षेत्रीय उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले भने, ‘लगानी गर्न सके होटलबाट मनग्य आन्दानी गर्न सकिन्छ ।’ उनले बाह्य पर्यटकहरूका लागि अझै पनि सुविधा सम्पन्न होटलको अभाव रहेको बताए । भौगोलिक विकटताका कारण दुर्गममा पुग्ने पर्यटकहरूले सुरक्षाका लागि बस्ने र खाने नपाउने समस्या समाधान हुन नसकेको उनले बताए । ‘रारा जाने पर्यटकले कहाँ बस्ने ?’ उनले भने, ‘पर्यटकहरूलाई लक्षित गरी सुर्खेतमा मात्रै होइन्, अब होटल व्यवसाय सम्भावना बोकेका क्षेत्रमा स्थापना हुनुपर्छ ।’
होटल व्यवसायी संघ सुर्खेतका अनुसार हाल जिल्लामा आधा दर्जन भन्दा बढी सुविधा सम्पन्न होटलहरू सञ्चालनमा छन् । यस्तै, होटेलहरू संख्या थपिदैं गएको छ । सुर्खेत उपत्यकाका रूपमा रहेको वीरेन्द्रनगरको अवलोकनका लागि उपयुक्त मानिने गोठीकाँडामा समेत होटल सञ्चालनमा आउने भएको छ । उपत्यकाको मनोरम दृष्य र अनुकूल मौसम भएकाले गोठीकाँडा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गर्न लागिएको हो । पर्यटकहरूको विशेष सम्भावना रहेको गोठीकाँडामा होटल अभावलाई मध्येनजर गरी स्टे होटल भ्याली भ्यू प्रालिले सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याउने भएको हो । समग्र ६ नम्बर प्रदेशमा पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले गोठीकाँडामा होटल सञ्चालन गर्न लागिएको प्रालिका अध्यक्ष तर्कबहादुर शाहीले बताए । ६ करोड लगानीमा निर्माण भएको उक्त होटेल केही दिनमा सञ्चालन गरिने जनाइएको छ ।
करिब आठ सय जना क्षमता भएको प्रदेशस्तरीय सभाहल, १० वटा कटेज र ५० भन्दा बढी सवारी साधन अटाउने पार्किङ्ग सुविधा रहेको उनले बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आर्गानिक खाना होटेलले खुवाउने बताइएको छ । होटल सञ्चालनमा आएसँग करिब २५ जनाले रोजगारी पाउने समेत शाहीले बताए । घुम्नका लागि डाँडामा जाने पर्यटकहरूलाई मध्यनजर गर्दै ऐनबहादुर शाही, लिलाराम उपाध्याय र तर्कबहादुर शाहीले संयुक्त लगानीमा होटेल सञ्चालनमा गरेका हुन् ।
साझा बिसौनी संवाददाता ।